काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आयोजनामा झापाको बिर्तामोडमा असोज २ गतेदेखि ४ गतेसम्म ‘इक्यान लिडर्स मिट ३.०’ हुने भएको छ । अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा कार्यरत संस्थाहरूको नेतृत्व क्षमता, संस्थागत सुदृढीकरण र राष्ट्रिय भूमिकालाई थप प्रभावकारी बनाउने उद्देश्यले ‘इक्यान लिडर्स मिट ३.०’ आयोजना गरिएको इक्यानले जनाएको छ ।
इक्यान झापा शाखाले पत्रकार सम्मेलन गरी सो कार्यक्रमबारे जानकारी दिएको हो । बिर्तामोडमा हुने कार्यक्रमको आतिथ्य इक्यान झापा शाखाले गर्ने इक्यान झापाका अध्यक्ष राजकुमार कार्कीले जानकारी दिए ।
इक्यानको देशव्यापी नेतृत्वलाई एउटै राष्ट्रिय मञ्चमा ल्याउने उद्देश्यले आयोजना हुँदै आएको लिडर्स मिटको यो तेस्रो संस्करण हो। यसअघि पहिलो इक्यान लिडर्स मिट इक्यान चितवन शाखाको आतिथ्यमा तथा दोस्रो संस्करण इक्यान मकवानपुर शाखाको आतिथ्यमा सम्पन्न भएको थियो।
कार्यक्रममा इक्यान केन्द्र, विभिन्न शाखा तथा समन्वय संरचनाका नेतृत्वसहित देशभरबाट करिब १ सय ५० जना नेतृत्व तहका प्रतिनिधिको सहभागिता रहने इक्यान केन्द्रीय द्वितीय सचिव आशिक कार्कीले जानकारी दिए । कार्यक्रममा नेतृत्व विकास, संस्थागत सुशासन, सञ्चार सीप, वित्तीय व्यवस्थापन, रणनीतिक सोच तथा अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रका समसामयिक विषयमा प्रशिक्षण र गहन अन्तरक्रिया हुने आयोजकले जनाएको छ।
लिडर्स मिट ३.० मा ‘ग्लोबल एजुकेशन मोबिलिटी’ मा नेपालको भूमिका र स्थानबारे समेत व्यापक बहस हुने भएको छ। कार्यक्रममा छलफल तथा अन्तरक्रियाबाट प्राप्त निष्कर्षलाई समेटेर ‘झापा घोषणापत्र’ जारी गरिने आयोजकले इक्यान झापाका निर्वतमान अध्यक्ष रोशन सुवेदीले जानकारी दिए ।
घोषणापत्रमार्फत ग्लोबल एजुकेसन मोबिलिटीमा नेपालको वर्तमान अवस्था, सम्भावना, चुनौती, राष्ट्रिय हित तथा आगामी दिशाबारे इक्यानको संस्थागत दृष्टिकोण प्रस्तुत गरिनेछ। विद्यार्थी हित, ईथिकल प्र्याक्टिस, इन्स्टिचुसनल एकाउन्टबिलिटी, इन्टरनेसनल पार्टनरसिप तथा पोलिसी इन्गेजमेन्ट लगायतका विषयलाई घोषणापत्रमा प्राथमिकता दिइने बताइएको छ।




Comments are closed.