काठमाडौं । जिल्ला होटल व्यवसायी संघ काठमाडौंले भोटेकोशी बाढीबाट प्रभावित होटल, रेस्टुरेन्ट, पर्यटन व्यवसायी तथा पीडित परिवारलाई राहत वितरण गरेको छ ।
नुवाकोट होटल तथा रेस्टुरेन्ट व्यवसायी संघसँग आबद्ध बाढीपीडित व्यवसायी, रसुवाको टिमुरे र मैलुङ क्षेत्रका होटल व्यवसायी तथा बाढीमा ज्यान गुमाएका जिल्ला होटल व्यवसायी संघ काठमाडौंका सचिव कप्तान अधिकारीका भाइ ठाकुर अधिकारीको परिवारलाई संघको तर्फबाट राहत वितरण गरिएको हो ।
संघका सल्लाहकार रबिन कुमार नाल्बोको पहलमा हङकङमा संकलित राहत तथा जिल्ला होटल व्यवसायी संघ काठमाडौं परिवारले संकलन गरेको सहयोग रकमबाट नुवाकोटको होटल स्क्वायर र धादिङको गल्छीमा राहत वितरण गरिएको संघले जनाएको छ ।
राहत वितरणसँगै संघले बाढीका कारण घरपरिवार तथा व्यवसाय गुमाएका प्रभावित परिवारलाई दीर्घकालीन आयआर्जनमा सहयोग पुर्याउने उद्देश्यले शिप तथा क्षमताका आधारमा तत्काल १०० जनालाई रोजगारी उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।




Comments are closed.