खल्ती र इन ड्राइभबीच सहकार्य, चालक र यात्रु दुवैलाई दैनिक पुरस्कार जित्ने अवसर

काठमाडौं । डिजिटल वालेट खल्ती बाइ आइएमई र राइड–हेलिङ प्लेटफर्म इन ड्राइभले राइडको भाडा डिजिटल रूपमै लिने र तिर्ने व्यवस्थाका लागि सहकार्य गरेका छन् । यो सहकार्यअन्तर्गत इन ड्राइभका चालक र यात्रु दुवैलाई लक्षित गरी तीन महिनाको अभियान सुरु भएको छ ।

यो अभियानमार्फत इन ड्राइभ राइडको भाडा खल्तीबाट तिर्न र चालकले पनि राइडको भाडा खल्तीमै लिन सक्नेछन् । यससँगै चालक र यात्रु दुवैले दैनिक पुरस्कार जित्ने अवसर पनि प्राप्त गर्न सक्नेछन् ।

यो अभियानअन्तर्गत इन ड्राइभका चालकले एक दिनमा कम्तीमा पाँचवटा राइडको भाडा खल्तीमार्फत लिएमा मात्रै सो दिनको लक्की ड्रमा सहभागी हुन सक्नेछन् । दैनिक १० जना चालकले पाँच लिटर पेट्रोल बराबरको रकम पुरस्कारका रूपमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

त्यस्तै, इन ड्राइभका यात्रुले राइडको भाडा खल्तीमार्फत तिरेमा सो दिनको लक्की ड्रमा स्वतः सहभागी हुन सक्नेछन् । यसका लागि छुट्टै दर्ता आवश्यक पर्ने छैन । यो योजनाअन्तर्गत हरेक दिन १० जना यात्रुले रु। २०० बराबरको खल्ती ब्यालेन्ससमेत प्राप्त गर्न सक्नेछन् ।

खल्ती र इन ड्राइभबीचको यो सहकार्यले दैनिक आवतजावतमा प्रयोग हुने राइडको भाडा तिर्ने र लिने प्रक्रियालाई थप सहज बनाउने अपेक्षासँगै चालक र यात्रु दुवैलाई डिजिटल माध्यमको प्रयोगतर्फ उन्मुख हुन प्रेरित गर्नेछ ।

दैनिक आवतजावतसँग जोडिएको राइड भुक्तानीलाई डिजिटल माध्यमतर्फ थप विस्तार गर्ने उद्देश्यले इन ड्राइभसँग सहकार्य गरिएको आईएमई खल्ती लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले जानकारी दिए । चालक र यात्रु दुवैलाई सहज डिजिटल भुक्तानीको वातावरण बनाउने र डिजिटल भुक्तानीको प्रयोगलाई दैनिक व्यवहारको हिस्सा बनाउन यो सहकार्य कोशेढुङ्गा साबित हुने रेग्मीको भनाइ छ । यो अभियानले यात्रु र चालक दुवैमा सहजताको वातावरण सिर्जना गर्ने समेत कम्पनीले उल्लेख गरेको छ ।

यो अभियान २०८३ भाद्र २५ देखि मंसिर २५ सम्म सञ्चालनमा रहने पनि कम्पनीले जनाएको छ ।

You might also like

Comments are closed.