काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेसन फाउन्डेसन लिमिटेड (फ्रन्टलाइन अस्पताल) ले संस्थागत रूपमा सहयोग गरेको छ।
फ्रन्टलाइन अस्पतालले आज अर्थ मन्त्रालयमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि सहयोग रकमको चेक हस्तान्तरण गरेको हो। नेपाल सरकार, अर्थ मन्त्रालयका अर्थ सचिव डा. घनश्याम उपाध्यायको उपस्थितिमा नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेसन फाउन्डेसन लिमिटेडका अध्यक्ष नवराज पाण्डे तथा फ्रन्टलाइन अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. अशोकवर्धनले उक्त सहयोग रकमको चेक अर्थ सचिव डा.घनश्याम उपाध्यायलाई हस्तान्तरण गरेका हुन् ।
भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवासहित आसपासका क्षेत्रमा जनधन तथा भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेको छ। बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत वितरण तथा पुनःस्थापनाका लागि नेपाल सरकार, विभिन्न संघसंस्था तथा सरोकारवाला निकायबाट सहयोग जुटाउने कार्य जारी रहेको अवस्थामा फ्रन्टलाइन अस्पतालले पनि विपद् व्यवस्थापनमा संस्थागत योगदान गर्ने निर्णय गरेको हो।
अस्पतालका अनुसार विपद्को यस कठिन परिस्थितिमा प्रभावित नागरिकलाई राहत उपलब्ध गराउनुका साथै प्रभावित क्षेत्रको पुनःस्थापना तथा विपद् व्यवस्थापनका प्रयासमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जम्मा गर्ने निर्णय गरिएको हो।
फ्रन्टलाइन अस्पतालले सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य सेवासँगै विपद् तथा आपत्कालीन परिस्थितिमा प्रभावित समुदायलाई आवश्यक सहयोग र सहकार्य प्रदान गर्दै आएको जनाएको छ। आगामी दिनमा पनि मानवीय सेवा तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने अस्पतालले प्रतिबद्धता व्यक्त गरेको छ।




Comments are closed.