पोखरा महानगरको व्यवसाय प्रवर्द्धन केन्द्र चार वर्ष पूरा, विभिन्न व्यक्ति तथा संस्था सम्मानित

पोखरा । पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा अन्तर्गत सञ्चालित व्यवसाय प्रवर्द्धन केन्द्र (बीपीसी) ले आफ्ना स्थापनाका चार वर्ष सफलतापूर्वक पूरा गरी पाँचौं वर्षमा प्रवेश गरेको छ । सोही अवसरमा एक विशेष कार्यक्रमको आयोजना गरी केन्द्रको स्थापना दिवस मनाइएको छ भने केन्द्रको स्थापना, संस्थागत विकास तथा सञ्चालनमा महत्वपूर्ण योगदान पुर्याउने विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरिएको छ ।

सम्मानित व्यक्तित्व तथा संस्थाहरू

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले संयुक्त रूपमा सम्मानित व्यक्ति तथा संस्थाका प्रतिनिधिहरूलाई सम्मान प्रदान गरे । सो अवसरमा नेपाल सहरी उत्थानशीलता कार्यक्रमका आयोजना प्रमुख डा. होमनाथ गैरेलाई बीपीसीको अवधारणा विकास तथा संस्थागत विकासमा महत्वपूर्ण योगदान पुर्याएबापत सम्मान गरिएको थियो ।

त्यसैगरी, उद्यमशीलता, व्यवसाय इन्क्युबेसन तथा नवप्रवर्तन केन्द्रको अवधारणा परिकल्पना र महानगरसँगको सहकार्यमा व्यवसाय प्रवद्र्धन केन्द्रको रूपमा विकास गर्न योगदान पुर्याएवापत संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी)का सुदीप अर्याल तथा स्वयम् संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी)लाई संस्थागत सम्मान प्रदान गरिएको छ । गण्डकी तथा लुम्बिनी प्रदेशका फिल्ड कार्यालयसँगको सहकार्यमा बीपीसी स्थापनामा महत्वपूर्ण सहयोग तथा सहजीकरणको कदरस्वरूप गोनेसालाई समेत सम्मान गरिएको छ । यस प्रकारको सहयोगले पोखरामा स्थानीय आर्थिक विकास, उद्यमशीलता प्रवद्र्धन र निजी क्षेत्रको सहभागिता अभिवृद्धिमा सहयोग पुगेको महानगरको विश्वास छ ।

सीपदेखि बजारसम्मको यात्रा र विशिष्टीकृत सेवाहरू

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहयोगमा सञ्चालित परियोजनाको अनुभवलाई संस्थागत गर्दै २०७९ साल भाद्र १८ गतेबाट औपचारिक रूपमा शुभारम्भ भएको केन्द्रले पोखराको स्थानीय अर्थतन्त्रलाई गतिशील बनाउँदै आएको छ । युवाहरूको विदेश पलायनलाई रोक्दै स्थानीय स्रोत, सीप र सम्भावनालाई उत्पादनशील आर्थिक गतिविधिमा रूपान्तरण गर्ने प्रमुख उद्देश्यसहित स्थापित केन्द्रले स्थानीय उद्यमी, व्यवसायी, युवा, महिला र स्टार्टअपहरूलाई लक्षित गर्दै विभिन्न आठवटा विशिष्टीकृत डेस्क तथा सेवाहरू सञ्चालन गर्दै आएको छ । केन्द्रले उद्यमशीलता डेस्क, व्यवसाय प्रवद्र्धन डेस्क, नवप्रवर्तन डेस्क, रोजगार सेवा डेस्क, परामर्श सेवा, अनुसन्धान डेस्क, प्रविधि हस्तान्तरण डेस्क र व्यवसाय सहजीकरण डेस्कमार्फत व्यावसायिक सम्भावना पहिचान, योजना निर्माण, ब्रान्डिङ, प्याकेजिङ, डिजिटल प्रवद्र्धन, आइडिया विकास, करियर परामर्श, नीति निर्माणमा सहयोग, ५० देखि ७५ प्रतिशतसम्म लागत साझेदारीमा मेसिनरी औजार वितरण तथा समन्वयका कार्यहरू गर्दै आएको छ ।

नेतृत्वको दृष्टिकोण र आगामी योजना

कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका नगर प्रमुख धनराज आचार्यले महानगरको दीर्घकालीन लक्ष्य हासिल गर्न केवल भौतिक विकासलाई मात्र नभई नागरिकको आयआर्जन, स्वरोजगार र उद्यमशीलता विकासलाई केन्द्रबिन्दुमा राखिएको बताएका छन् । विगत चार वर्षमा केन्द्रले बेरोजगार युवाहरूलाई सीपसँग र सीपलाई बजारसँग जोड्ने सेतुको रूपमा काम गरेको उल्लेख गर्दै नगर प्रमुख आचार्यले आगामी दिनमा ‘मेक इन पोखरा’ र ‘मेड इन पोखरा’ अभियानलाई अझै विस्तार गरी स्थानीय रैथाने उत्पादनको बजारीकरण र स्टार्टअप इकोसिस्टमलाई सुदृढ बनाउन महानगर प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् ।

त्यसैगरी, केन्द्रका प्रमुख कार्यकारी अधिकृत नवराज अधिकारीले तालिमप्राप्त व्यक्तिहरूलाई बजार, प्रविधि र वित्तीय पहुँचसँग जोड्न केन्द्र निरन्तर क्रियाशील रहेको र अन्तर्राष्ट्रिय विज्ञहरूको सहयोगमा सञ्चालित बुट क्याम्प तथा उद्यम क्लिनिकले युवा उद्यमीहरूको आत्मविश्वास बढाएको जानकारी दिएका छन् । आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरियाले वडागत व्यवसाय सम्भाव्यता अध्ययन, नीति संवाद र सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमार्फत स्थानीय आर्थिक वृद्धिले सही दिशा लिएको बताउँदै आगामी दिनमा हरित अर्थतन्त्र र प्रविधिमैत्री उद्योगहरूको विकास मुख्य प्राथमिकता रहने स्पष्ट पारेका छन् ।

केन्द्रका प्रमुख उपलब्धिहरू

स्थापनाकालदेखि हालसम्म केन्द्रले आफ्ना कार्यक्रमहरूमार्फत महत्वपूर्ण उपलब्धिहरू हासिल गरेको छ । पञ्चेबाजा, सिलाई–कटाइ, ब्युटीपार्लर, कुक, बारिस्टा, प्लम्बिङ, चप्पल तथा गुडिया निर्माण, डिजिटल मार्केटिङ र ग्राफिक्स डिजाइनजस्ता दर्जनौं सीपमूलक तालिमहरूबाट हजारौं नागरिकले व्यावहारिक सीप हासिल गरी स्वरोजगार तथा रोजगारी प्राप्त गरेका छन् । नवप्रवर्तन क्षेत्रमा ‘पोखरा आइडिया मार्ट’ तथा बुट क्याम्प सञ्चालन गरी उत्कृष्ट सोचहरूलाई वित्तीय लगानीकर्ता र मेन्टरहरूसँग जोडिएको छ । युवा स्वरोजगार कोष तथा बैंकहरूसँगको सहकार्यमा विना धितो सहुलियतपूर्ण कर्जा प्रवाह गर्नुका साथै हजारौं नागरिकलाई वित्तीय साक्षरता प्रदान गरिएको छ । यसका साथै, स्थानीय उद्योगहरूलाई लागत साझेदारीमा आधुनिक मेसिनरी औजार उपलब्ध गराउनुका साथै रोजगार मेला सञ्चालन गरी रोजगारी सुनिश्चितताका लागि केन्द्रले प्रभावकारी भूमिका निर्वाह गर्दै आएको छ ।

You might also like

Comments are closed.