अहिले बिश्वभरी नै डिजिटलाईजेशनले फड्को मारिरहेको छ भने यसले बैंकिङको परिभाषा नै परिवर्तन गरिरहेको छ । १० बर्ष पहिलासम्म बैंकिङ भन्नाले शाखामा जाने अनि भौतिक उपस्तिथिद्धारा आफूलाई चाहिने नगद कारोवार अथवा अन्य बिभिन्न कारावोर गर्ने भन्ने बुझिन्थ्यो तर, अहिले यसको परिभाषा नै बदलिएको छ । अहिले यस्ता धेरै कामको लागि ग्राहकहरुले बैंक धाउनुुपर्दैन भने साना साना कर्जाहरु पनि डिजिटल माध्यमबाट नै प्राप्त गर्न सकिने भईसकेको छ । नेपाली बैंकिङमा मोवाईल बैंकिङ, क्यूूआर कोड, कनेक्ट आईपिएस्, डिजिटल वालेट, शाखारहित बैंकिङ्ग, अनलाईन केवाईसी, बास्तविक समयमा भुक्तानी जस्ता बिभिन्न डिजिटल बैंकिङ माध्ययमहरुले बैंकिङ प्रणालीको स्वरुप नै परिवर्तन गरिदिएको छ ।
नेपाल राष्ट्र बैंकको २०८३ जेठ मसान्तसम्मको तथ्याङ्क अनुसार नेपालमा ३ करोड १ लाख ६० हजार मोवाईल बैकिङ प्रयोगकर्ता रहेका छन् भने २४ लाख ५५ हजार ईन्टरनेट बैंकिङ प्रयोगकर्ता, १ करोड ९८ लाख एटिएम प्रयोगकर्ता, ३ लाख ३४ हजार क्रेडिट कार्ड प्रयोगकर्ता रहेको देखाउंछ । त्यस्तै गरि २ करोड ७३ लाख डिजिटल वालेटको प्रयोगकर्ता रहेको नेपालमा डिजिटल कारोवारको संख्या र रकम ठुलो मात्रामा बढ्दै गईरहेको छ जसमा क्यूआर भुक्तानी, कनेक्ट आईपिएस् एवं डिजिटल वालेटले महत्वपूर्ण भूभिमा खेल्दै आईरहेको छ ।
ब्राजिलको डिजिटल बैंक नुब्याङ्कले १३१ मिलियन ग्राहकहरुलाई पूर्ण डिजिटल माध्यमबाट सेवा दिईरहेको छ । यो बैंकले डिजिटाईजेशन एवं एआईको लागि ८.२ बिलियन अमेरिकन डलर खर्च गरेको छ र अहिले देशको ६२ प्रतिशत बयस्क जनसंख्यालाई डिजिटल बैंकिङ सेवा प्रदान गर्न सफल भई ल्याटिन अमेरिकाको सबैभन्दा ठुलो डिजिटल बैंक बन्न सफल भएको छ ।
वि ब्याङ्क चाईनाको ४२० मिलियन भन्दा बढि ग्राहकहरु रहेका छन् । यो बैंकले डिजिटलाईजेशनमा ठुलो लगानी गरेर एसएमई, अटो लोनमा लाखौं ग्राहकहरुलाई डिजिटल माध्यमबाट कर्जा लगानी गरिरहेको छ भने । यो बैंकको वेभसाईटले जनाए अनुसार बैंकले दैनिक १.४ बिलियन डिजिटल कारोवार गर्दछ ।
डिजिटल बैंकमा अग्रगी बैंकहरुमा माई ब्याङ्क चाईना, अमेरिकाको चाईम, अमेरिकाको सोफी, दक्षिण अफ्रिकाको काकाओ, बेलायतको मोन्जो आदि पर्दछन् । सामान्यतय, यि बैंकहरुले डिजिटल माध्ययमबाट निक्षेप जम्मा गर्ने, खाताहरु खोल्ने, डिजिटल माध्ययमबाट भुक्तानी गर्ने, क्रेडिट कार्ड, डेबिट कार्ड प्रदान गर्ने, एसएमई कर्जा प्रदान गर्ने, अन्तराष्ट्रिय भुक्तानी प्रदान गर्ने र लिने, एआईमा आधारित वित्तीय सल्लाह प्रदान गर्ने तथा लगानी र सम्पत्ती ब्यवस्थापन सेवाहरु प्रदान गर्दछन् ।
भारतमा युनिफाईड पेमेन्ट ईन्टरफेसले डिजिटल भुक्तानीमा क्रान्ति ल्याईदिएको छ । यसले २०२५ मा २५० बिलियन कारोवार गर्दै बिश्वको डिजिटल कारोवारमा ५० प्रतिशत हिस्सा ओगटेको थियो । यसले अहिले भारतको डिजिटल कारोवारको करिब ८५ प्रतिशत हिस्सा ओगटेको छ भने यस मार्फत साना पसले देखि ठुला ब्यवसायसम्म, शहरदेखि गांउसम्म डिजिटल भुक्तानीलाई सहज बनाउनुको साथै सम्पूर्ण बर्गहरुको लागि यो एउटा जिवनको दैनिकी बन्न सफल भएकोले यसले वित्तीय समावेशीकरणमा ठुलो योगदान दिन सफल भएको छ ।
नेपालमा पनि फोन पे, नेपाल पे, कनेक्ट आईपिएस्, नेशनल पेमेन्ट स्विच, डिजिटल वालेटहरु, क्यूआर भुक्तानी जस्ता सेवाहरुको बिस्तारले डिजिटाईजशनमा फड्को मारेको मानिन्छ । बिशेष गरी क्यूआर भुक्तानी सेवामा नेपाललाई दक्षिण एशियामा नै उदाहरणिय फड्को मारेको भएतापनि डिजिटल कर्जाहरुमा भने धेरै नै कार्यहरु गर्न भने बांकी नै रहेको छ । अहिले नेपाल राष्ट्र बैंकले साना, घरेलु तथा मझौला उद्यमहरुलाई १० लाखसम्म डिजिटल कर्जा गर्नसक्ने ब्यवस्था गरेको भएतापनि बिगतमा बैंक तथा वित्तीय संस्थाहरुले लगानी गरेको बिनाधितो कर्जाको असुली प्रभावकारी हुन नसक्दा यो कर्जाको बृद्धि आशा गरेको जस्तो हुनसकेको छैन ।
डिजिटल कारोवार बढ्नु देशको लागि राम्रो कुरा भएतापि यसको बृद्धिसंगै साईबर अपराध पनि बढिराखेकोले यसले चुनौति पनि बढाईराखेको छ र यस्ता अपराधहरु नियन्त्रण गर्नको लागि सम्बन्धित सरोकारवालाले ध्यान दिनुु अपरिहार्य छ । हाल नेपालमा देखिएको डिजिटल ठगिहरु निम्न माध्यमहरुबाट भएको देखिन्छ ।
– फिसिङ्ग– बैंक तथा वित्तीय संस्थाहरुको नाममा नक्कली एस्एमएस्, ईमेल वा लिंक पठाई आईडी, पासवर्ड, ओटिपि वा अन्य विवरण चोरी गर्ने ।
– ओटिपी चोरी – बैंक तथा वित्तीय संस्था, वालेटको कर्मचारी बनेर फोन गरी ओटिपी माग्ने अनि खाताबाट रकम निकाल्ने ।
– नक्कली वेभसाईट– बैंक तथा वित्तीय संस्थाको वेभसाईट तथा एप जस्तै देखिने नक्कली वेभसाईट तथा एप बनाएर ग्राहकको विवरण प्राप्त गर्ने ।
– सामाजिक सञ्जाल ह्याक–फेसबुुक, ईस्टाग्राम, ह्वाटस्एप जस्ता सामाजिक सञ्जाल ह्याक गरी साथीभाई तथा आफन्तसंग पैसा माग्ने ।
– नक्कली अनलाईन सपिङ्ग– फेसबुक, टिकटक तथा अन्य सामाजिक सञ्जालमा सामानको बिज्ञापन गर्ने, अर्डर लिने तर सामान नपठाउने ।
– क्यूआर कोड मार्फत ठगी– ग्राहकलाई चिठ्ठा वा अन्य कुनै रकम प्राप्त हुने लोभमा फंसाई नक्कली क्यूआर कोडमा पैसा पठाउन लगाउने ।
– नक्कली डिजिटल वालेटबाट ठगी–ईसेवा, खल्ति, आईएमई पे लगायतका वालेटको नाम प्रयोग गरी नक्कली फोन, एसएमएस् वा लिंक
प्रयोग गर्ने ।
– सिम परिवर्तन गरेर ठगी–ग्राहकको ब्यक्तिगत बिवरण प्राप्त गरेपछि, सिम परिवर्तन गरेर मोवाईल बैंकिङमा पहुंच बनाउने ।
– समस्या समाधानको वहानामा ठगी– ग्राहकको समस्या समाधान गर्ने वहानामा निजको कम्प्यूटर, ल्यापटपमा पहुंच बनाई बिभिन्न सफ्टवयर मार्फत ठगी गर्ने ।
– नक्कली लगानीको स्किम देखाई ठगी – अत्याधिक प्रतिफल दिने लोभ देखाई अनलाईन मार्फन लगानी गर्न लोभ्याउने ।
– कर्जाको लोभ देखाई ठगी –तुरुन्तै कर्जा प्रदान गरिने भन्ने लोभ देखाई सर्भिस चार्ज, ईन्सुरेन्स फि लगायत अन्य शुल्क माग्ने ।
-रोजगारीको लोभ देखाई ठगी– बिदेशमा रोजगारीको लागि पठाउने भनेर वा अन्य रोजगारीको लागि शुल्क जम्मा गर्न लगाउने ।
– चिठ्ठा वा पुरस्कार जितेको भनेर ठगी–ग्राहकले चिठ्ठा वा पुरस्कार जितेको भनेर कर वा अन्य शुल्क जम्मा गर्न पैसा माग्ने ।
– भावनात्मक सम्बन्ध बनाएर ठगी– सामाजिक सञ्जालमा वा डेटिङ्ग प्ल्याटफर्म मार्फत सम्बन्ध बनाएर भावनात्मक बिश्वास बनाएर रकम माग्ने ।
-नक्कली उच्च अधिकारी बनेर ठगी– कुनै संस्थाको नक्कली उच्च अधिकारी बनेर कर्मचारीहरुलाई बिभिन्न माध्यमबाट रकम पठाउन लगाउने ।
– नक्कली ईमेलबाट ठगी– संस्थाका ने ईमेल ह्याक गरेर वा नक्कली ईमेल मार्फत उक्त संस्थाको ग्राहकहरुलाई नक्कली खातामा पैसा पठाउन लगाउने ।
– म्यालवेर वा स्पाईवेयर आक्रमणबाट ठगी– म्यालवेर वा स्पाईवेयर आक्रमणबाट नक्कली एप, नक्कली फाईल वा नक्कली सफ्टवयर राखेर बिवरणहरु चोरी गर्ने ।
– कार्डबाट ठगी– क्रेडिट कार्ड तथा डेबिट कार्डको कार्ड नम्बर, सिभिभि नम्बर, म्याद सकिने मिति लगायत अन्य बिवरण चोरी गर्ने ।
– स्क्रिन शेयर गर्न लगाई ठगी –बैंक तथा वित्तीय संस्था वा अन्य बिभिन्न सेवाप्रदायको ग्राहक सेवा कर्मचारी बनेर मोवाईलको स्क्रिन शेयर गर्न लगाई बिवरण एवं ओटिपि चोर्ने ।
– केवाईसी अद्यावधिकको नाममा ठगी– बैंक तथा वित्तीय संस्था वा वालेटको केवाईसी अद्यावधिक गर्नु भनेर नक्कली लिंक पठाएर ग्राहकको सूचना चोर्ने ।
– नक्कली ग्राहक सेवाको नाममा ठगी– सामाजिक सञ्जालमा बिभिन्न संस्थाका नक्कली ग्राहक सेवाको नम्बर राखेर सम्पर्क गराई बिवरण लिने ।
– एआई प्रविद्यिद्धारा ठगी– एआई प्रविद्यिको दुरुपयोग गरेर सम्बन्धित आधिकारिक ब्यक्तिको जस्तै तस्बिर तथा आवाज बनाएर फोन तथा भिडियो कलद्धारा ठगी ।
यसरी बिश्वमा बढ्दै गईरहेको डिटिल ठगीलाई बैंक तथा वित्तीय संस्था, फिनटेक कम्पनीहरु तथा नियमन निकायहरु चनाखो भई यस्ता ठगीको रोकथामको लागि पहल गर्नुपर्ने देखिन्छ जसको लागि ग्राहकलाई सचेतना गराउनको लागि बिभिन्न खालका साक्षरता कार्यक्रमको साथै साईबर सुरक्षामा ध्यान दिनु जरुरी देखिन्छ ।
सामान्यतय, बिश्वमा हालसम्म भएका साईबर अपराधको अध्ययन गर्दा घटनाको शुरुवात मानविय त्रुटिबाट नै भएको देखिन्छ त्यसैले संस्थाले साईबर सुरक्षाको साथसाथै आफ्ना ग्राहकलाई आफ्नो सुरक्षा कसरी गर्न सकिन्छ भन्ने बिषयमा साक्षर बनाउनेतर्फ ध्यान दिन आवश्यक्ता देखिएको छ ।
प्रख्यात अमेरिकन सफ्ट्वयर कम्पनी म्याकएफीले सन् २०२३ मा ७ हजार जनामा गरेको अनुसन्धान अनुसार प्रत्येक ४ जनामध्ये १ जनाले एआई मार्फत आवाज नक्कल गरी गरिने ठगी आफूले वा आफ्नो चिनजानको कसैले भोगेको बताएका थिए । यो अनुसन्धानमा आवाज नक्कल गर्ने प्रविधीको प्रयोगबाट ठगी गर्ने ब्यक्तिले बिश्वका बिभिन्न आवाजहरुका लवज समेत सजिलै नक्कल गर्न सक्ने पत्ता लगाएको थियो ।
सन् २०२४ जनवरीमा हङ्गकङ्ग स्थित एनएमसी नामको बहुराष्ट्रिय कम्पनीका एक कर्मचारीलाई प्रमुख वित्त अधिकारी तथा अन्य सहकर्मीहरुको डिपफेक प्रयोग गरी झुक्याएपछि २५ मिलियन डलर ठगी गरेको थियो । सन् २०२३ मा युरोपमा डिजिटल ठगीहरुको अध्ययन गर्दा फ्रान्समा सबैभन्दा बढि ग्राहकहरु ह्याक भएको पाईएको थियो ।
नेपालले पछिल्लो दशकमा डिजिटल बैंकिङ्गको क्षेत्रमा उल्लेखिय प्रगति हांसिल गरेर मोवाईल बैंकिङ, क्यूूआर कोड, डिजिटल वालेट, कनेक्ट आईपिएस, अनलाईन केवाईसि, रियल टाईम पेमेन्ट सेवाले बैंकिङ्ग सेवा ग्राहकहरुको हात हातमा पुरयाउन सफल भएको भएतापनि यसबाट सृजित डिजिटल ठगिले ग्राहकहरुलाई सो भन्दा बढि पिडा दिएकोले अब यस्ता कारोवारको संख्या बढाउनुु संगै सुरक्षित, सरल, समावेशी, ग्राहक केन्द्रित र बिश्वासयोग्य डिजिटल सेवा प्रणालीको निर्माण गर्नको लागि नेपालले काम गर्नुपर्छ जसको लागि सबैभन्दा पहिला दिर्घकालिन राष्ट्रिय डिजिटल बैंकिङ रणनिति निर्माण गर्न आवश्यक देखिन्छ । बैंक तथा वित्तीय संस्था, फिनटेक कम्पनी, दूरसञ्चार क्षेत्र, सरकार र नियामक निकायबीच समन्वय गरी आगामी ५–१० वर्षको स्पष्ट डिजिटल रोडम्याप तयार पारेर डिजिटल भुक्तानी, डिजिटल कर्जा, डिजिटल पहिचान, साइबर सुरक्षा र वित्तीय समावेशीकरणका स्पष्ट लक्ष्य निर्धारण गर्नुपर्छ ।
अझै पनि नेपालले डिजिटल कर्जाको क्षेत्रमा धेरै काम गर्न बाँकी छ । साना व्यवसायी, किसान, स्वरोजगार व्यक्ति तथा न्यून आय भएका ग्राहकलाई डिजिटल माध्यमबाट छिटो र सहज कर्जा उपलब्ध गराउन बैंकहरूले कारोबार इतिहास, वैकल्पिक तथ्याङ्क , क्रेडिट स्कोरिङ तथा एआई आधारित कर्जा मूल्याङ्कन प्रणाली विकास गर्नुपर्छ जसले कर्जा प्रक्रियाको समय र लागत घटाउनुका साथै वित्तीय पहुँच विस्तार गर्न सहयोग गर्नेछ । तर, नेपालमा डिजिटल कर्जा विस्तारमा विश्वसनीय डिजिटल तथ्याङ्क तथा क्रेडिट इतिहासको अभाव, परम्परागत धितोमा निर्भरता, कमजोर क्रेडिट स्कोरिङ प्रणाली, ग्राहकको डिजिटल साक्षरताको कमी, साइबर सुरक्षा जोखिम, तथ्याङ्क गोपनीयताको चिन्ता, डिजिटल कर्जाको असुलीमा सहज कानूनको अभाव सरकारी कार्यालयहरुको समन्वयको अभाव, राजनितिक प्रभाव, बिना धितो कर्जाको हालको कर्जा असुली दर, बिभिन्न खालका दबाब समूहहरुले गर्दा ग्राहकहरुको बिनाधितो कर्जा प्रतिको बुुझाई जस्ता समस्या देखिन्छन् । यसको साथै धेरै एसएमई व्यवसाय अनौपचारिक रूपमा सञ्चालन हुने भएकाले वास्तविक आम्दानी तथा कारोबारको प्रमाण डिजिटल रूपमा उपलब्ध नहुुनाले पनि डिजिटल कर्जा बिस्तारमा समस्या देखिन्छ भने ग्रामीण क्षेत्रमा कमजोर इन्टरनेट तथा डिजिटल पूर्वाधार, ग्राहकको प्रविधिप्रतिको विश्वासको कमी र बैंकहरूको जोखिम व्यवस्थापनसम्बन्धी सावधानीले पनि डिजिटल कर्जाको विस्तारलाई चुनौती दिएको छ ।
बढ्दो साईबर अपराधलाई नियन्त्रण गर्नको लागि साईबर सुरक्षा र ग्राहक संरक्षणलाई सर्वाेच्च प्राथमिकता दिनु कुनै पनि देशको सरकार, नियमन निकाय तथा सम्बन्धित संस्थाको कर्तब्य भएकोले फिसिङ्ग, ओटिपी चोरी, नक्कली वेभसाईट तथा एपबाट हुने ठगी, सिम परिवर्तन गरेर हुने ठगी, म्यालवेयर, स्क्रिन शेयर, एआई तथा डिपफेकबाट हुने ठगी नियन्त्रण गर्नको लागि सबै सरोकारवाराहरुले बास्तविक समयमामा नै ठगी पहिचान हुने, सुरक्षाको लागि मल्टि फ्याक्टर अथेन्टिकेशन, डिजिटाईजेशत तथा एआईमा लगानी बढाउनुपर्छ ।
साइबर सुरक्षाको अर्को महत्वपूर्ण पक्ष डिजिटल वित्तीय साक्षरता हो । धेरै डिजिटल ठगीमा मानवीय त्रुुटि प्रमुख कारण देखिएले ग्राहकलाई ओटिपी, पिन वा पासवर्ड कसैलाई नदिने, शंकास्पद लिंक नखोल्ने, स्क्रिन शेयर नगर्ने, नक्कली ग्राहक सेवा तथा आकर्षक लगानी योजनाबाट सावधान रहने विषयमा निरन्तर सचेतना दिनुपर्छ । साईबर सुरक्षालाई अझै राम्रो बनाउने हो भने विद्यालय तथा क्याम्पसकोे पाठ्यक्रममै डिजिटल वित्तीय तथा साइबर सुरक्षा शिक्षा समावेश गर्न सकेमा यसले नेपालको साईबर सुरक्षालाई महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्नेछ ।
त्यसैगरी, ग्रामीण तथा दुर्गम क्षेत्रमा डिजिटल बैंकिङ को पहुँच विस्तार गर्न सस्तो इन्टरनेट, शाखारहित बैंकिङ, क्यूूआर कोड तथा मोबाइल बैंकिङ लाई प्राथमिकता दिनुपर्छ । राष्ट्रिय परिचयपत्रसँग सुरक्षित रूपमा जोडिएको ईकेवाईसि तथा डिजिटल परिचयपत्र प्रणालीलाई प्रभावकारी बनाएर ग्राहकलाई घरबाटै खाता खोल्ने र वित्तीय सेवा प्राप्त गर्ने वातावरण बनाउनुपर्छ ।
नेपालमा बैंक तथा वित्तीय संस्था र फिनटेक कम्पनीबीचको सहकार्यले बैंकिङ क्षेत्रको डिजिटल रूपान्तरणलाई तीव्र बनाउँदै लाईफस्टाईल बैंकिङको अवधारणालाई थप प्रभावकारी बनाउन सक्छ । बैंकसँग रहेको ग्राहक आधार, वित्तीय स्रोत, नियमन तथा जोखिम व्यवस्थापन क्षमता र फिनटेक कम्पनीसँग रहेको प्रविधि, नवप्रवर्तन, तथ्याङ्क विश्लेषण तथा डिजिटल समाधानलाई एकीकृत गर्न सकेमा ग्राहकलाई सहज, छिटो र सुरक्षित सेवा प्रदान गर्न सहज हुन्छ । जुन सहकार्यमा मोबाइल बैंकिङ, डिजिटल वालेट, क्यूआर भुक्तानी, डिजिटल कर्जा, डिजिटल केवाईसी, ओपन एपिआई, तथा ब्यक्तिगत बित्त ब्यवस्थापन जस्ता सेवाहरू विकास गर्न सकिन्छ । ग्राहकले दैनिक जीवनका अधिकांश वित्तीय तथा गैह् वित्तीय आवश्यकता एउटै डिजिटल प्लेटफर्मबाट पूरा गर्न सक्ने वातावरण सिर्जना हुनसक्छ भने यसले बैंकिङ्गलाई केवल पैसा जम्मा गर्ने वा निकाल्ने सेवाबाट ग्राहकको दैनिक जीवनसँग जोडिएको लाईफस्टाईल बैंकिङमा रूपान्तरण गर्न सहयोग गर्न महत्वपूर्ण भूमिका खेल्नसक्छ ।
साइबर अपराध तथा डिजिटल ठगीको जोखिम नियन्त्रण गर्नको लागि बैंक र फिनटेकले रियल टाईम कारोवार मोनिटरिङ्ग, आईमा आधारित ठगी पहिचान, ग्राहकको ब्यवहार बिष्लेशण, मल्टि फ्याक्र अथेन्टिकेशन तथा जोखिममा आधारित कारोवारको नियन्त्रण जस्ता कुराहरुको लागि नीति बनाएर लागुु गर्नसकेमा शंकास्पद कारोबार तत्काल पहिचान गरी रोकी र ग्राहकलाई तुरुन्त सचेत गराउने प्रणाली बिकास गर्न सकेमा यसले साईबर अपराध र डिजिटल ठगी नियन्त्रणमा महत्वपूर्ण भूमिका निभाउन सक्नेछ ।
अन्तमा,
अबको डिजिटल बैंकिङको वास्तविक सफलता कारोबारको संख्या बढ्नुमा मात्र होइन, ग्राहकले आफ्नो पैसा र व्यक्तिगत बिवरण सुरक्षित छन् भन्ने विश्वास गर्नुुमा निर्भर हुन्छ त्यसैले, अब बैंक तथा वित्तीय संस्था र फिनटेक कम्पनीहरुले डिजिटल सेवाको विस्तारसँगै सुरक्षित डिजिटल कारोवारलाई प्राथमिकता बनाउनुपर्छ । प्रत्येक डिजिटल कारोबारमा जोखिमको पहिचान, बास्तविक समयमा निगरानी, असामान्य कारोबारको तत्काल विश्लेषण र शंकास्पद कारोबार रोक्ने स्वचालित प्रणाली विकास गर्न आवश्यक छ । विशेषगरी एआई, मेसिन लर्निङ, बायोमेट्रिक प्रमाणीकरण, मल्टिी फ्याक्टर अथेन्टिकेसन र व्यवहारमा आधारित ग्राहक पहिचान प्रणालीको प्रयोगले ठगी नियन्त्रणलाई थप प्रभावकारी बनाउन सक्छ । बैंक, फिनटेक, दूरसञ्चार कम्पनी, साइबर सुरक्षा विज्ञ र नियामक निकायबीच सूचना आदानप्रदान तथा संयुक्त जोखिम व्यवस्थापन प्रणाली विकास गर्न सके भविष्यमा आउनसक्ने डिजिटल ठगीका नयाँ स्वरूपलाई समेत समयमै नियन्त्रण गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ भने ग्राहकलाई सुरक्षित डिजिटल कारोवारको साथै व्यवहार पनि सिकाउनु उत्तिकै महत्वपूर्ण हुनसक्छ ।
नेपाल सरकारले यस आर्थिक बर्षको बजेटमा फिनटेक मार्केटप्लेस स्थापना गर्ने भनेर यसको लागि नीतिगत ब्यवस्थाहरु गर्न भने बांकी नै छ । बैंक तथा फिनटेक कम्पनीले एप वा सेवा उपलब्ध गराएर मात्र आफ्नो जिम्मेवारी पूरा हुँदैन उनिहरुले ग्राहक सचेतनाको लागि धेरै कामहरु गर्नुुपर्छ र प्रविधिको विकास, चुस्त नियमन र गुणस्तरिय वित्तीय साक्षरताको संयोजनबाट मात्र नेपालको डिजिटल बैंकिङ सुरक्षित, विश्वसनीय र दिगो बन्न सक्छ । डिजिटल बैंकिङ्ग यो क्षेत्रको लागि खास हो भने यसको भविष्य ग्राहकहरुको यसप्रतिको बिश्वास हो ।
(लेखक डा. बुद्धि मल्ल रिलायन्स फाईनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हुन् ।)




Comments are closed.