ललितपुर । ललितपुर उद्योग वाणिज्य संघको आसन्न निर्वाचनका लागि व्यवसायीहरूको हकहित, संरक्षण र संस्थाको दिगो विकासको मुख्य उद्देश्यसहित सुसन महर्जनको नेतृत्वमा सशक्त, समावेशी र अनुभवी प्यानल सार्वजनिक भएको छ । चुनावी मैदानमा होमिएको प्यानलले ललितपुरका उद्योगी तथा व्यापारीहरूको व्यावसायिक उन्नयन र संस्थागत सुदृढीकरणका लागि दूरदर्शी प्रतिबद्धता अगाडि सारेको छ ।
प्यानलबाट अध्यक्ष पदमा महालक्ष्मी इन्डस्ट्रिज प्रा.लि.का सुसन महर्जन उम्मेदवार छन् भने वरिष्ठ उपाध्यक्षमा हान्ताई मःमः फास्टफुडका सुनिल शाक्य, उपाध्यक्ष (उद्योग) मा ट्रेजर फ्रोम हिडन ल्याण्डका रमेश सिं महर्जन, उपाध्यक्ष (वाणिज्य) मा हारती माँ खाद्य भण्डारका महेश श्रेष्ठ, उपाध्यक्ष (संस्थागत) मा नेपाल कपडा तथा सिलाई व्यवसायी संघका पूर्ण बहादुर महर्जन, महासचिवमा अग्नि पार्टी प्यालेसका राजु महर्जन र कोषाध्यक्षमा नेरोमिल प्रा.लि.का प्रबिण ताम्राकार उम्मेदवार छन् ।
यसैगरी, कार्यसमिति सदस्य उद्योग क्षेत्रतर्फ फाईन ह्याण्डिक्राफ्टका अनिल महर्जन, अमृत टेलर्सका आशिष शाक्य, सत्य शक्ति इन्टरप्राईजेजका चन्द्र महर्जन, मेटल ह्याण्डिक्राफ्टका बाबु रत्न महर्जन, सम्झना ल्यावरेटोरी क्लिनिक प्रा.लि.की रजना श्रेष्ठ जोशी र रत्न उड कार्मिङ सेन्टरका रत्न मुनी ब्रम्हाचार्य उम्मेदवार छन् । वाणिज्य क्षेत्रको कार्यसमिति सदस्य पदका लागि इच्छा स्टोरका इच्छा मान महर्जन, सि.एन. कलेक्सनका चैत्यतारा बज्राचार्य, डि.एस. स्टोर्सका दिवश श्रेष्ठ, माईजुको अचारका महेश्वर लाल खोसी, लक्ष्मी रेडिमेडका लक्ष्मी कृष्ण श्रेष्ठ, श्री सानु नाईन ज्वेयलका विकम बज्राचार्य र एस. एस. कस्मेटिककी सानुमैया शाक्य मैदानमा छन् । साथै, संस्थागत क्षेत्रतर्फ ललितपुर फर्निचर तथा फर्निसिङ व्यवसायी संघका श्रवण कुमार सिंह माथेमा र एशोसियट क्षेत्रतर्फ यल दरबार भेन्यू प्रा. लि.का रबि महर्जन उम्मेदवार छन् ।
महर्जनको नेतृत्वमा रहेको प्यानलले ललितपुरको प्राचीन कला, संस्कृति र विश्व सम्पदा सूचीमा रहेका क्षेत्रहरूको प्रवद्र्धनमार्फत पर्यटकीय गन्तव्यको विकास गर्ने, भूकम्पबाट प्रभावित सांस्कृतिक धरोहरहरूको पुनर्निर्माणमा स्थानीय कालिगड तथा कलाकारहरूलाई परिचालन गर्ने, र कर, भ्याट, नापतौल लगायतका व्यावसायिक समस्याहरूको सहज निराकरणका लागि सचिवालयमा छुट्टै हेल्प डेस्क स्थापना गर्ने योजना अगाडि बढाएको छ ।

त्यस्तै, नेपालको कूल हस्तकला निर्यातको ठूलो हिस्सा ओगट्ने ललितपुरमा हस्तकला प्रवद्र्धनका लागि स्थानीयस्तरमै पुरातत्व जाँचपासको व्यवस्था मिलाउने, सीपमूलक तालिमद्वारा युवा पलायन रोकी रोजगारी सिर्जना गर्ने तथा अनलाइन इन्फरमेसन सिस्टममार्फत संघको प्रशासनिक प्रणालीलाई पूर्ण रूपमा डिजिटल र पारदर्शी बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।
संस्थाको मर्यादा, सदस्यहरूको अधिकार र ललितपुरको समग्र आर्थिक समृद्धिका लागि आफ्नो निष्ठा र अनवरत प्रयास जारी राख्ने प्रतिवद्धता जनाएको महर्जन प्यानलले आगामी निर्वाचनमा सम्पूर्ण उम्मेदवारहरूलाई अत्यधिक बहुमतले विजयी गराउन सम्पूर्ण मतदाताहरूमा हार्दिक अपिल गरेको छ ।




Comments are closed.