आईआईएफटीको ‘स्पेस एण्ड डिजाइन एक्स्पो’ आजबाट सुरू
काठमाडौं । आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनको आयोजनामा ‘स्पेस एण्ड डिजाइन एक्स्पो–भोल्युम ६ र ७’ शनिबारदेखि काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरमा सुरू भएको छ ।
इन्टेरियर डिजाइन, स्पेस प्लानिङ तथा डिजाइन क्षेत्रमा विद्यार्थीले तयार पारेका सिर्जनात्मक तथा व्यावसायिक डिजाइन प्रस्तुत गर्ने उद्देश्यले आयोजना गरिएको हो ।
एक्स्पोमा आईआईएफटीका इन्टेरियर डिजाइन अध्ययनरत १०१ जना विद्यार्थी सहभागी छन् । एक्स्पोको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रूपमा पूर्वरक्षामन्त्री तथा नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधान सहभागी थिए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका वरिष्ठ उपाध्यक्ष दुर्गा श्रेष्ठ, उपाध्यक्ष उज्ज्वल जङ्ग शाह, आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनका प्रबन्ध निर्देशक तेन्जिङ शेर्पा, काठमाडौं होटल सङ्घका अध्यक्ष सुरेश बराल, मिस नेपाल २०२६ दीपमाला ढकाललगायतको उपस्थिति थियो ।
एक्स्पोमा विद्यार्थीले अध्ययन तथा प्रशिक्षणका क्रममा तयार पारेका विभिन्न प्रकारका इन्टेरियर डिजाइन, सिर्जनात्मक अवधारणा तथा व्यावहारिक डिजाइनहरू प्रदर्शनीमा राखिएका छन् । प्रदर्शनीसँगै विद्यार्थीहरूबीच विभिन्न विधामा डिजाइन प्रतियोगितासमेत आयोजना गरिएको छ ।
प्रतियोगितामा उत्कृष्ट डिजाइन प्रस्तुत गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । विद्यार्थीहरूको सिर्जनशीलता, व्यावहारिक दक्षता तथा व्यावसायिक सम्भावनालाई प्रोत्साहन गर्ने उद्देश्यले एक्स्पो तथा प्रतियोगिता आयोजना गरिएको हो ।

शनिबार शुरु भएको एक्स्पो आइतबार पनि बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ । सोही अवसरमा आइतबार दिउँसो ४ बजे भव्य दीक्षान्त समारोहसमेत आयोजना गरिने आयोजकले जनाएको छ ।
एक्स्पोमा ल्यामिनार भिट्रिफाइड टाइल्स र शेर्पा समूह पावर्ड बाई प्रायोजक, बर्गर पेन्ट्स पेन्ट पार्टनर तथा प्यासन टिस्युर र जेरोना डर्मा एसोसिएट पार्टनरका रूपमा सहकार्य गरेका छन् ।
आयोजकका अनुसार एक्स्पो विद्यार्थीको शैक्षिक उपलब्धि र सिर्जनात्मक क्षमता प्रदर्शन गर्ने अवसर मात्र नभई इन्टेरियर डिजाइन, निर्माण, होटल तथा रेस्टुरेन्ट, क्याफे, रियल इस्टेट तथा उद्यमशीलतासँग सम्बन्धित व्यवसायी र पेशेवरहरूका लागि नयाँ प्रतिभा तथा सिर्जना अवलोकन गर्ने मञ्चसमेत हो ।
विशेषगरी नयाँ क्याफे, रेस्टुरेन्ट, होटल, कार्यालय तथा अन्य व्यावसायिक स्थल निर्माण वा पुनस्डिजाइन गर्ने योजना बनाइरहेका व्यवसायीका लागि एक्स्पो उपयोगी हुने आयोजकको भनाइ छ । एक्स्पो अवलोकनका लागि इन्टेरियर डिजाइन व्यवसायी, पेशेवर, निर्माण क्षेत्रसँग सम्बन्धित व्यक्ति तथा उद्यमीलाई आमन्त्रण गरिएको छ ।
आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनले विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक तथा सिर्जनात्मक सीप प्रदान गर्दै व्यावसायिक क्षेत्रमा प्रवेशका लागि तयार पार्ने उद्देश्यले विभिन्न प्रदर्शनी तथा प्रतियोगिता आयोजना गर्दै आएको छ ।




Comments are closed.