काठमाडौं । नेपालमा मुटु तथा फोक्सो प्रत्यारोपण सेवा सुरु गर्ने सम्भावना, आवश्यक पूर्वाधार, दक्ष जनशक्ति, कानुनी प्रक्रिया तथा उपचारका क्रममा आउन सक्ने चुनौतीबारे विस्तृत छलफल गर्दै ‘Nepal Heart and Lung Transplant Conference 2026’ सम्पन्न भएको छ।
त्रिवि मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको आयोजनामा अक्टोबर २ र ३ मा काठमाडौंमा आयोजित दुईदिने सम्मेलनमा नेपाल तथा विदेशका प्रत्यारोपण विशेषज्ञ, चिकित्सक तथा स्वास्थ्यकर्मी सहभागी भएका थिए। सम्मेलनमा इटालीबाट आएका सात जना विशेषज्ञले मुटु तथा फोक्सो प्रत्यारोपणसँग सम्बन्धित १२ वटा वैज्ञानिक प्रस्तुति दिएका थिए। कार्यक्रममा मुटु, फोक्सो तथा एनेस्थेसिया क्षेत्रका करिब १५० जना चिकित्सक तथा स्वास्थ्यकर्मी सहभागी थिए।
सम्मेलनमा मुटु तथा फोक्सो प्रत्यारोपणका लागि अंग छनोट, प्रत्यारोपणका लागि उपयुक्त बिरामीको पहिचान, दाताबाट प्राप्त अंगलाई सुरक्षित रूपमा अर्को व्यक्तिमा प्रत्यारोपण गर्न सकिने समय, शल्यक्रियाका क्रममा आउन सक्ने जटिलता तथा प्रत्यारोपणपछिको बिरामीको हेरचाह लगायतका विषयमा अन्तर्राष्ट्रिय विज्ञहरूसँग अनुभव आदान–प्रदान गरिएको थियो।
कार्यक्रममा इन्स्टिच्युट अफ मेडिसिन ९क्ष्इः० का डीन प्रा। डा। मोहनराज शर्मा, मानव अङ्ग प्रत्यारोपण समन्वय समितिका अध्यक्ष डा। सम्पूर्णमान तुलाधर, मनमोहन सेन्टरका निर्देशक प्रा. डा. रत्नमणि गजुरेल, त्रिवि शिक्षण अस्पतालका निर्देशक प्रा। डा। सुवास आचार्य लगायतको उपस्थिति रहेको थियो।
सम्मेलनको उद्घाटन गर्दै प्रा.डा. मोहनराज शर्माले नेपालमा मुटु तथा फोक्सो प्रत्यारोपण सेवा सुरु गर्न क्ष्इः का तर्फबाट आवश्यक सहयोग र पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले नेपालमा सफलतापूर्वक मुटु तथा फोक्सो प्रत्यारोपण सुरु गर्न सकिए चिकित्सा क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि हुने बताए ।
‘नेपालमै मुटु र फोक्सो प्रत्यारोपण सम्भव बनाउनु हाम्रो लक्ष्य हो’
मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका कार्डियोथोरासिक भास्कुलर सर्जरी विभागीय प्रमुख प्रा. डा. अनिल भट्टराईले नेपालमा मुटु तथा फोक्सो प्रत्यारोपणका लागि आवश्यक चिकित्सकीय जनशक्ति र पूर्वाधारको अवस्था सकारात्मक रहेको बताए।
तर अस्पतालको प्रत्यारोपणसम्बन्धी लाइसेन्सका कारण सेवा सुरु गर्न नसकिएको उनको भनाइ छ। “मुटु र फोक्सो प्रत्यारोपण गर्न चिकित्सकको लाइसेन्ससँगै अस्पतालको लाइसेन्स पनि चाहिन्छ। चिकित्सकको लाइसेन्स हामीले पाइसकेका छौँ, तर अस्पतालको लाइसेन्स नभएका कारण सेवा सुरु गर्न सकिरहेका छैनौँ,” प्रा. डा. भट्टराईले भने।
नेपालमा मिर्गौला तथा कलेजो प्रत्यारोपण सेवाबाट धेरै बिरामी लाभान्वित भइरहेका अवस्थामा मुटु तथा फोक्सो प्रत्यारोपणका लागि भने अझै विदेश जानुपर्ने बाध्यता रहेको उनले बताए। यही अवस्थाको अन्त्य गर्दै नेपालमै मुटु तथा फोक्सो प्रत्यारोपण सेवा सुरु गर्नु आफ्नो लक्ष्य रहेको उनको भनाइ छ।
“नेपालमा किड्नी र लिभर ट्रान्सप्लान्टले धेरैको ज्यान बचाउन सकेको छ। तर हृदय र फोक्सो प्रत्यारोपणका लागि अझै पनि विदेश जानुपर्ने अवस्था छ। यो अवस्थाको अन्त्य गरी नेपालमै मुटु तथा फोक्सो प्रत्यारोपण सुरु गर्नु हाम्रो लक्ष्य हो,” उनले भने।
सम्मेलनमा नेपाल तथा विदेशबाट आएका विज्ञहरूको प्रस्तुति र अनुभवले नेपालमा मुटु तथा फोक्सो प्रत्यारोपणको सम्भावनाबारे थप स्पष्टता दिएको डा. भट्टराईले बताए।
“समग्रमा नेपालमा आवश्यक तयारी र क्षमताका आधारमा धेरै कुरा गर्न सकिन्छ भन्ने देखिएको छ। अब बाँकी विषयलाई व्यवस्थित गर्दै मुटु प्रत्यारोपण कसरी सुरु गर्ने भन्ने चिकित्सकीय र संस्थागत पक्षमा काम गर्नुपर्छ,” उनले भने।
‘अग्रजले देखाएको सपना पूरा गर्ने जिम्मेवारी हाम्रो हो’
सम्मेलनका आयोजक प्रा. डा. रत्नमणि गजुरेलले नेपालमा मुटु तथा फोक्सो प्रत्यारोपण सेवा सुरु गर्ने सपना पूरा गर्ने जिम्मेवारी अहिलेको पुस्ताको काँधमा आएको बताए। उनले यस्तो कार्यक्रम आयोजना गर्न पाउँदा आफू अत्यन्त खुसी र भावुक भएको बताउँदै नेपालमै मुटु तथा फोक्सोको सम्पूर्ण उपचार सम्भव बनाउने दिशामा सम्मेलन महत्वपूर्ण कदम भएको उल्लेख गरे ।
“हाम्रा अग्रजहरूले यो सपना देखेर जानुभयो र प्रत्यारोपण गर्ने जिम्मेवारी हामीलाई छोडेर जानुभएको छ। आफ्नै भूमिमा मुटु तथा फोक्सोको सम्पूर्ण उपचार सम्भव बनाउने जिम्मेवारी पनि हामीलाई दिइएको छ। हामी अवश्य पनि यो सम्भव बनाउनेछौँ,” प्रा. डा. गजुरेलले भने।
उनले मुटु तथा फोक्सो प्रत्यारोपण सुरु गर्नु चिकित्सक तथा स्वास्थ्य क्षेत्रका लागि मात्र उपलब्धि नभई उपचारका लागि विदेश जानुपर्ने बिरामीका लागि ठूलो आशा र भरोसाको विषय हुने बताए।
प्रा.डा. गजुरेलले प्रत्यारोपण सेवा सुरु गर्न सरकार तथा सम्बन्धित निकायबाट आवश्यक नीतिगत तथा संस्थागत सहयोगको आवश्यकता रहेको बताए। केही चिकित्सकले प्रत्यारोपणका लागि आवश्यक लाइसेन्स प्राप्त गरिसकेको भए पनि अस्पतालको लाइसेन्सलगायतका विषयमा अझै सहजीकरण आवश्यक रहेको उनको भनाइ थियो। उनले मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरलाई मुटु तथा फोक्सो प्रत्यारोपण सेवा सञ्चालनका लागि आवश्यक अनुमति तथा लाइसेन्स प्रदान गर्न सम्बन्धित निकायसँग आग्रह गरे।
साथै, प्रत्यारोपणजस्तो जटिल सेवा कुनै एक व्यक्ति वा एउटा संस्थाको प्रयासबाट मात्र सम्भव नहुने भन्दै उनले सबै सम्बन्धित संस्था, चिकित्सक, सरकार र सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताए। “कसले पहिले सुरु गर्यो भन्नेभन्दा पनि यो सेवा नेपालमा कसरी सुरक्षित र प्रभावकारी रूपमा सुरु गर्न सकिन्छ भन्ने महत्वपूर्ण हो। एउटा संस्थाले मात्र गरेर हुँदैन, सबै संस्था र सम्बन्धित टिम मिलेर काम गर्नुपर्छ,” उनले भने।
अन्तर्राष्ट्रिय विज्ञबाट प्रत्यारोपणसम्बन्धी अनुभव आदान–प्रदान
सम्मेलनमा इटालीलगायत विदेशबाट आएका विशेषज्ञहरूले Heart Transplantation, Lung Transplantation, Pediatric Heart Transplantation, Donor and Recipient Management, Post-operative Care, Immunosuppressive Therapy तथा Ex Vivo Lung Perfusion (EVLP) लगायतका विषयमा प्रस्तुति दिएका थिए।
यसअघि अक्टोबर २ मा ECMO Workshop समेत आयोजना गरिएको थियो। कार्यशालामा ECMO का आधारभूत विषय, ECMO circuit तथा components, VA र VV ECMO, हृदय तथा फोक्सो प्रत्यारोपणमा ECMO को भूमिका तथा व्यावहारिक अभ्याससमेत गराइएको थियो।
सम्मेलनले नेपालमा मुटु तथा फोक्सो प्रत्यारोपण सेवा सुरु गर्न आवश्यक चिकित्सकीय क्षमता, पूर्वाधार, दक्ष जनशक्ति, नीतिगत व्यवस्था र अन्तर्राष्ट्रिय सहकार्यका विषयमा थप छलफलको आधार तयार गरेको आयोजकको विश्वास छ।
नेपालमै मुटु तथा फोक्सो प्रत्यारोपण सम्भव बनाउने दिशामा अब आवश्यक लाइसेन्स, नीतिगत सहजीकरण र संस्थागत समन्वयलाई अघि बढाउन सके विदेशमा उपचारका लागि जानुपर्ने नेपाली बिरामीको बाध्यता कम गर्न सकिने अपेक्षा गरिएको छ।




Comments are closed.