काठमाडौं । दसैंलाई लक्षित गर्दै रूपन्देहीको भैरहवामा ‘सिद्धार्थ सडक खाना महोत्सव तथा म्युजिकल नाइट-२०८३’ आयोजना हुने भएको छ। चेम्बर अफ कमर्स, रुपन्देही तथा उद्योग व्यापार संघ, रुपन्देहीको संयुक्त आयोजनामा घटस्थापनाको पूर्वसन्ध्यामा आउँदो असोज २४ र २५ गते भैरहवाको बसपार्कदेखि देवकोटा चोकसम्म यो महोत्सव सञ्चालन हुनेछ।
आयोजकका अनुसार महोत्सवमा करिब १ सय वटा स्टलहरू रहनेछन् भने ५० हजारभन्दा बढी दर्शक तथा उपभोक्ताहरूले अवलोकन गर्ने अपेक्षा गरिएको छ। भारतसँग जोडिएको बेलहिया नाका, भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको कारण सिद्धार्थनगरलाई पर्यटनको महत्त्वपूर्ण प्रवेशद्वारका रूपमा विकास गर्ने र स्थानीय होटल तथा पर्यटन व्यवसायलाई चलायमान बनाउने मुख्य उद्देश्य महोत्सवको रहेको छ।महोत्सवमा तारे होटलका परिकारदेखि विभिन्न जातजातिका मौलिक तथा परम्परागत खाद्यान्न परिकारहरू उपलब्ध हुनेछन्।
त्यसैगरी, चर्चित गायक दुर्गेश थापा, भोजपुरी कलाकार प्रीति पासवान, इन्दु डनुवार तथा ‘बासन एण्ड द क्रुज’ लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरूको आकर्षक सांस्कृतिक एवं सांगीतिक प्रस्तुति महोत्सवको प्रमुख आकर्षण रहनेछ। स्थानीय किसान, खाद्य व्यवसायी, महिला तथा युवा उद्यमीलाई प्रत्यक्ष बजारसँग जोड्ने र बेलहिया नाका हुँदै आउने पर्यटकहरूको बसाइ अवधि तथा स्थानीय खर्च बढाउने लक्ष्य आयोजकले लिएको छ।




Comments are closed.