कृषि यान्त्रीकरण प्रदर्शनीका लागि नेपाल कृषि मेशिनरी व्यवसायी संघ र राइजिङ नेपालबीच सम्झौता

काठमाडौं । अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०८३ (AgriMech International Expo 2026) लाई व्यवस्थित तथा प्रभावकारी रूपमा सञ्चालन गर्न नेपाल कृषि मेसिनरी व्यवसायी संघ (NAMEA) र राइजिङ नेपाल प्रा.लि. बीच सम्झौता भएको छ।

सम्झौतापत्रमा नेपाल कृषि मेसिनरी व्यवसायी संघका अध्यक्ष कृष्ण शर्मा र राइजिङ नेपाल प्रा.लि.का प्रबन्ध निर्देशक पशुपति केसीले हस्ताक्षर गरेका छन्। सम्झौतामा संघकी उपाध्यक्ष सुनिता नेमाफुकी, सचिब श्रीकृष्ण अधिकारी तथा राइजिङ नेपाल प्रा. लिकाका आइटी निर्देशक भुवन भट्टराई समेतको उपस्थिति रहेको थियो।

सम्झौताअनुसार नेपाल सरकार, कृषि, वन तथा वातावरण मन्त्रालयअन्तर्गत कृषि विभाग, कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्र, हरिहरभवन, ललितपुर र नेपाल कृषि मेसिनरी व्यवसायी संघको संयुक्त आयोजना तथा बागमती प्रदेश सरकार, कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयको सह–आयोजनामा र SKT नेपाल प्रा.लि.को मुख्य प्रायोजनमा ८ औं अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०८३ आयोजना हुँदैछ।

प्रदर्शनी २०८३ मंसिर ४ गतेदेखि ६ गतेसम्म तीन दिन काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हल, प्रदर्शनी मार्गमा सञ्चालन हुनेछ।
कृषि क्षेत्रमा आधुनिक प्रविधि, कृषि मेसिनरी तथा यान्त्रीकरणको प्रयोगलाई थप प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको यस प्रदर्शनीमा स्वदेशी तथा विदेशी कृषि मेसिनरी, उपकरण, प्रविधि तथा सेवासँग सम्बन्धित व्यवसायी तथा सरोकारवालाको सहभागिता रहने छ। २०० भन्दा बढी स्टल रहने यस प्रदर्शनीमा ५० हजार भन्दा बढी कृषक तथा सरोकारवालाहरुले अबलोकन गर्ने अपेक्षा गरिएको छ।

सम्झौताले AgriMech International Expo 2026 को तयारी र व्यवस्थापनलाई थप व्यवस्थित बनाउँदै नेपालको कृषि यान्त्रीकरण क्षेत्रमा प्रविधि हस्तान्तरण, व्यवसायिक सहकार्य र नयाँ प्रविधिको पहुँच विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने आयोजकको विश्वास छ।

You might also like

Comments are closed.

Secret Link