​जग्गा प्रशासन, नाप नक्सा तथा व्यावसायिक विकास सम्बन्धी तालिम सम्पन्न

​काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघको व्यवस्थापनमा भूमि व्यवस्थापन तालिम केन्द्र, धुलिखेलद्वारा सञ्चालित ूजग्गा प्रशासन, नाप नक्सा तथा व्यावसायिक विकास सम्बन्धी तालिमू सम्पन्न भएको छ। गत असोज ६ गतेदेखि सुरु भएको उक्त तालिमको समापन कार्यक्रम भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

​समारोहमा स्वागत मन्तव्य व्यक्त गर्दै तालिम संयोजक तथा महासंघका सचिव घनश्याम पोखरेलले उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथि तथा सहभागीलाई स्वागत गरे।

​​कार्यक्रमका प्रमुख अतिथि भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलले तालिम आयोजना र व्यवस्थापनका लागि आयोजक तथा महासङ्घलाई धन्यवाद दिँदै रियल इस्टेट क्षेत्रका लागि यो तालिम अत्यन्तै महत्त्वपूर्ण रहेको बताए। उनले भने, ‘जग्गा प्रशासन आफैँमा जटिल विषय हो, जसलाई निरन्तर सिकाइ र तालिमको आवश्यकता पर्छ। रियल इस्टेट व्यवसायमा हदबन्दीका कारण जग्गा तथा घर बिक्रीमा देखिएको जटिलता समाधान गर्न प्रयास भइरहेको छ। साथै, कित्ताकाटको समस्या र गुठी जग्गाबाट उत्पन्न अप्ठ्याराहरू शीघ्र हल गरी यस व्यवसायलाई थप व्यवस्थित र सम्मानित बनाउन मन्त्रालय लागिपरेको छ।’ उनले यस्ता तालिमहरूलाई निरन्तरता दिनु आवश्यक रहेको धारणा समेत राखे।

​नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले घरजग्गा व्यवसायमा ८(१० वर्ष अघिदेखि देखिएको हदबन्दीको समस्या र कित्ताकाटको जटिलताका कारण व्यवसायी मारमा परेको तर्फ मन्त्रालयको ध्यानाकर्षण गराए। देशका ७५३ स्थानीय तहमध्ये हालसम्म ४२१ वटाले मात्र जग्गा वर्गीकरण सम्पन्न गरेकाले बाँकी क्षेत्रमा कित्ताकाटको समस्या बल्झिरहेको उनको भनाइ थियो। उनले घरजग्गा कारोबारको लाइसेन्स प्राप्तिका लागि यस किसिमको तालिमलाई अनिवार्य बनाइनुपर्नेमा जोड दिँदै रियल इस्टेट सम्बन्धी सबै कम्पनीहरूलाई महासंघको सदस्यता लिन आग्रह गरे।

​​भूमि व्यवस्थापन तालिम केन्द्रका कार्यकारी निर्देशक जनकराज जोशीले मन्त्रालयले मालपोत नियमावली संशोधन गरेदेखि नै यस्तो तालिमको आवश्यकता खड्किएको बताए। ६ हप्ताको तालिमलाई परिमार्जन गरी १५ दिनमा सम्पन्न गरिएको र आवश्यकता अनुसार यसलाई अझ परिमार्जन गर्न केन्द्र तयार रहेको बताउँदै उनले भने, ‘मन्त्रालयले रियल इस्टेट सम्बन्धी छुट्टै कार्यविधि तथा नीति निर्माणका लागि गृहकार्य गरिरहेको छ।’

​सो मन्त्रालयका सहसचिव तथा विशिष्ट अतिथि गणेशप्रसाद भट्टले रियल इस्टेट सम्बन्धी कानूनहरूको संशोधन प्रक्रिया अघि बढिरहेको जानकारी गराउँदै प्रशिक्षार्थीले भूमि प्रशासन सम्बन्धी उपयोगी ज्ञान हासिल गर्न पाएकोमा खुसी व्यक्त गरे।

​यस्तै, तालिम निर्देशक रामकुमार सापकोटाले एक वर्ष अघिको परिकल्पनाले मूर्तरूप लिएको र प्रशिक्षार्थीको नियमित उपस्थिति, प्रस्तुतीकरण र उत्साहजनक पृष्ठपोषणले तालिम सोचेभन्दा बढी प्रभावकारी भएको बताए ।

​प्रशिक्षार्थीको तर्फबाट मन्तव्य राख्दै इन्जिनियर सुरक्षा काफ्लेले १५ दिनको अवधिमा विज्ञ प्रशिक्षकहरूबाट व्यावहारिक र उपयोगी ज्ञान हासिल गर्ने अवसर मिलेको बताए। अर्का प्रशिक्षार्थी बाबुराम अधिकारीले ५(६ वर्ष अघि नै हुनुपर्ने यस्ता तालिम ढिलै भए पनि सम्पन्न हुनु सराहनीय रहेको बताउँदै सैद्धान्तिक र व्यावहारिक ज्ञान प्रदान गरेकोमा महासङ्घ र तालिम केन्द्रप्रति आभार व्यक्त गरे। कार्यक्रमको अन्त्यमा तालिम केन्द्रका कार्यकारी निर्देशक तथा समापन कार्यक्रमका सभापति जनकराज जोशीले यो तालिमलाई सम्पन्न गर्न सहयोग गर्ने मन्त्रालयका सचिव र महासंघका पदाधिकारी, तालिम केन्द्रका निर्देशक लगायत सबै कर्मचारी तथा सबै प्रशिक्षार्थीलाई धन्यवाद दिंदै आभार व्यक्त गरेका थिए ।

You might also like

Comments are closed.

Secret Link