रुकुमकोट । रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा साहसिक पर्यटन र स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ ‘बुकी गियर’ सञ्चालनमा आएको छ । युवा व्यवसायी तथा भ्लगर दिलचन पुनले बुकी गियर सञ्चालनमा ल्याएका हुन् । विशेष समारोहका बीच आइतबार प्रमुख जिल्ला अधिकारी कोपिला राईले बुकी गियरको उद्घाटन गरिन् ।
उद्घाटन कार्यक्रममा बोल्दै बुकी गियरका संस्थापक दिलचन पुनले बुकी गियर केवल एउटा व्यवसाय मात्र नभई रुकुम पूर्वको पर्यटन र स्थानीय पहिचानलाई प्रवद्र्धन गर्ने साझा प्रयास भएको बताए ।
‘बुकी गियर मेरो सपना, मेहनत र रुकुम पूर्वको पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पु¥याउने एउटा प्रयास हो । आजको भव्य उपस्थिति र यहाँहरूबाट प्राप्त माया, साथ, हौसला र आशीर्वादले आगामी दिनमा अझ मेहनतका साथ अगाडि बढ्ने प्रेरणा मिलेको छ,‘ उनले भने । उनले आगामी यात्रामा सबै पक्षको निरन्तर साथ र सहयोगको अपेक्षासमेत व्यक्त गरे ।
कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग, उद्योग वाणिज्य संघ, विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय समाजसेवी, शुभचिन्तक तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो । कार्यक्रममा उपस्थित अतिथिहरूले बुकी गियरको सफलताको कामना गर्दै यसले रुकुम पूर्वको पर्यटकीय तथा व्यावसायिक विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरेका छन् ।





Comments are closed.