पोखरा । पोखरा उद्योग वाणिज्य संघले बडादशैं,नेपाल संवत्,तिहार र छठलगायतका चाडपर्वको पूर्वसन्ध्यामा बुधबार शुभकामना आदान–प्रदान तथा जलपान कार्यक्रमको आयोजना गरेको छ ।
गण्डकी प्रदेश सरकारका उर्जा,जलस्रोत तथा सिंचाइमन्त्री फणीन्द्र देवकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कास्कीमा रहेका राजनीतिक दल, प्रशासनिक र सुरक्षा निकाय तथा विभिन्न संघ/संस्थाका प्रमुख तथा प्रतिनिधिहरुका साथै संघका पूर्वअध्यक्षहरु, बस्तुगत संघका अध्यक्ष र पदाधिकारी एवं संघमा आवद्ध रहेका उद्योगी/व्यवसायीहरुको उपस्थिति रहेको थियो ।
शुभकामना आदानप्रदान तथा जलपान कार्यक्रममा उपस्थित पाहुनाहरुलाई स्वागत गर्दै संघकी अध्यक्ष शोभा गौतमले आउँदै गरेका सवै चाडबाडको शुभकामना दिँदै उपभोक्ताको हितलाई ध्यानमा राखेर व्यवसाय गर्न उद्योगी÷व्यवसायीसँग आग्रह गरिन् ।
‘महान पर्वको बेला यथाशक्य छुटको व्यवस्था गर्न,भिडभाडको बेला आफ्नो पसल र दुकानको सुरक्षा प्रबन्ध मिलाउन म अनुरोध गर्दछु,’अध्यक्ष गौतमले भनिन्,‘दसैं खुसीको चाड हो । चाडबाड ढुक्कसँग मनाउने वातावरण निर्माणका लागि प्रहरी प्रशासनले आवश्यक प्रबन्ध मिलाएको जानकारी आएको छ । केही आइपरे सुरक्षा निकायसँग समन्वय गर्न म उद्योगी÷व्यवसायीहरुसँग हार्दिक अनुरोध गर्दछु ।’
गण्डकी प्रदेश सरकारका उर्जा,जलस्रोत तथा सिंचाइमन्त्री फणीन्द्र देवकोटाले प्राकृतिक विपत्तिबाट यो क्षेत्र पनि प्रभावित बनेको बताउँदै गण्डकी प्रदेश सरकारले निजी क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढ्ने बताए । उनले आर्थिक सूचकांकहरुमा गण्डकी प्रदेशको अवस्था सन्तोषजनक नै रहेको धारणा पनि राखे ।
नेपाल उद्योग वाणिज्य महासंघ तथा पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले पछिल्ला दिनमा गण्डकी प्रदेशका आर्थिक गतिविधिहरु संकुचनमा परेको दृष्टान्त दिँदै यो प्रदेशलाई अन्य प्रदेशभन्दा अझ समृद्ध बनाउनुपर्नेमा जोड दिएका थिए ।
सोही अवसरमा शुभकामना दिन उपस्थित वरिष्ठ उद्योगपति हरि पाण्डेले पोखरा उद्योग वाणिज्य संघका संस्थापकहरुको नामबाट छात्राहरुको लागि ५ लाख रुपैयाँको छात्रवृत्ति घोषणा गरे । ‘पोखरा उद्योग वाणिज्य संघका सस्थापकहरु बढीमा १० जनाको नाममा जम्मा ५ लाखको छात्रवृत्ति घोषणा गर्दछु । यो छात्रवृत्ति एसइईपछिको ३ वर्षे डिप्लोमा लेभलको भेटेनेरी र कृषिको लागि हुनेछ भने छात्रवृत्ति पाउने सवै छोरीहरु हुनेछन्,’उनले भने ।
पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले चाडबाडले नेपाललाई प्राकृतिक विपत्तिको पीडाबाट बाहिर निस्कने शक्ति प्रदान गरोस् भन्ने कामना व्यक्त गरे ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी रमेश घर्तीले स्थानीय प्रशासन निजी क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढ्ने र शान्ति सुरक्षाको प्रबन्धका निम्ति कुनै कसर बाँकी नराख्ने बताए ।
संघका वरिष्ठ उपाध्यक्ष दिनेशचन्द बास्तोलाको धन्यवाद ज्ञापन रहेको कार्यक्रमको संचालन महासचिव सुदीप प्रधानाङ्गले गरेका थिए ।





Comments are closed.