पोखरा । पोखरा उद्योग वाणिज्य संघले प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणको क्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय सहरमा सिधा उडान तथा हवाइ रुट सुनिश्चितताको पहल गर्न माग गरेको छ ।
संघले शुक्रबार कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङमार्फत प्रधानमन्त्री बालेन्द्र शाहलाई ध्यानाकर्षण पत्र पेषित गर्दै हवाइ रुट प्राप्तिसँगै भारतीय सहरमा सिधा उडान भर्न तथा ती सहरबाट पोखरामा पर्यटक भित्र्याउनका निम्ति आवश्यक पैरवी गर्नका निम्ति नेपाल उद्योग वाणिज्य महासंघमार्फत् भारतको निजी क्षेत्रसँग पैरवी गर्ने प्रतिवद्धता पनि जनाएको छ ।
पोखरा उद्योग वाणिज्य संघकी अध्यक्ष शोभा गौतमको नेतृत्वमा वाणिज्य उपाध्यक्ष मनोजकुमार श्रेष्ठ,महासचिव सुदीप प्रधानाङ्ग तथा कोषाध्यक्ष देवेन्सन प्रजूसहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्री कार्याललाई प्रेषित गरेको ध्यानाकर्षण पत्रमा पोखरा उद्योग वाणिज्य संघले विमानस्थल निर्माण र संचालनको लागि गरेको लामो आन्दोलन र पैरवीको स्मरणसमेत गरिएको छ ।
‘भ्रमणको क्रममा देशको आर्थिक हित,द्विपक्षीय व्यापार,उर्जा,पारवहन तथा थप हवाइ रुटबारे विभिन्न सहमति हुने हाम्रो जानकारीमा आएको छ । सम्माननीय प्रधानमन्त्रीज्यूबाट देशको हित हुने गरी उचित निर्णय गर्नुहुनेमा पनि हामी विश्वस्त छौँ,’ध्यानाकर्षणपत्रम भनिएको छ,‘सम्माननीय प्रधानमन्त्रीज्यूको भ्रणको एजेण्डामा पोखरा–भैरहवा द्रूतमार्ग निर्माण र पोखरा विमानस्थलबाट भारतीय सहरहरुमा सिधा उडानका एजेण्डाहरु समावेश भएकोमा हामी हर्षित छौँ । यी एजेण्डाहरुमा मित्रराष्ट्र भारतले सदासयता प्रदर्शन गर्नेछ र नेपालको तर्फबाट प्रस्तुत हुने हवाइ रुट प्राप्ति र द्र्रूतमार्ग निर्माणको हाम्रो सपना पूरा हुनेछ भन्ने हामीलाई विश्वास छ ।’
ध्यानाकर्षण पत्रमा अगाडि भनिएको छ,‘छोटो र इन्धन कम खपत हुने हवाइ मार्ग उपलब्ध नहुँदा यहाँबाट भारतको वाराणसी,दिल्लीलगायतका सहरमा सिधा उडान हुन सकेको छैन । प्रधानमन्त्रीज्यूबाट हुन लागेको भारतको राजकीय भ्रमणको क्रममा ती अप्ठेरा फुकाउने जिम्मेवारी यहाँले संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री माननीय श्री खड्गराज पौडेलज्यूलाई प्रदान गर्नुभएको हाम्रो जानकारीमा रहेको छ । पोखरेली हुनुको नाताले माननीय मन्त्रीज्यूले यहाँको निर्देशनमा पोखराको पर्यटन उद्योगका निम्ति अपरिहार्य रहेको भारतका सहरमा सिधा उडानको अनुमति र हवाइ रुट प्राप्तिमा निम्ति अधिकतम् प्रयत्न गर्नुहुने हाम्रो विश्वास रहेको छ ।’






Comments are closed.