काठमाडौं । नेपाल र भारतबीच पारवहन, रेलमार्ग, समुद्री बन्दरगाह तथा हवाई कनेक्टिभिटी विस्तारका विषयमा भएका महत्वपूर्ण सहमतिको नेपाल फ्रेट फरवार्डर्स एसोसिएसनले स्वागत गरेको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहको नोभेम्बर २२ र २३ मा भारतको नयाँ दिल्लीमा सम्पन्न राजकीय भ्रमणका क्रममा भएका द्विपक्षीय छलफल तथा सहमतिले नेपालको वैदेशिक व्यापार र आर्थिक विकासमा नयाँ अवसर सिर्जना गर्ने एसोसिएसनको विश्वास छ ।
एसोसिएसनले विशेषगरी भारतको गुजरातस्थित दीनदयाल -कान्डला_ बन्दरगाह तथा आवश्यक पूर्वाधार तयार भएपछि ओडिशास्थित पारादीप बन्दरगाहसमेत प्रयोग गर्न सकिने सहमतिलाई महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ । यसबाट तेस्रो मुलुकसँगको नेपालको अन्तर्राष्ट्रिय व्यापारका लागि समुद्री बन्दरगाहका विकल्प विस्तार हुने र ढुवानी समय तथा लागत घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
त्यसैगरी, प्रस्तावित रक्सौल–काठमाडौं विद्युतीय ब्रोडगेज रेलमार्गको अन्तिम स्थान सर्वेक्षण सम्पन्न भएको घोषणा र नेपालको पूर्व–पश्चिम रेलमार्ग विकासमा सहकार्य गर्ने सहमतिलाई पनि एसोसिएसनले सकारात्मक रूपमा लिएको छ । रेलमार्ग विस्तारले ठूलो परिमाणमा मालसामान ढुवानी गर्न सहज बनाउनुका साथै सडक यातायातमाथिको निर्भरता र ढुवानी लागत घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
काठमाडौं–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउने सहमतिले पनि नेपालको हवाई कनेक्टिभिटी विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने एसोसिएसनको भनाइ छ । यसबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उपयोग विस्तार हुनुका साथै भविष्यमा हवाई कार्गो तथा व्यापारिक गतिविधि प्रवर्द्धन गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।
एसोसिएसनका अनुसार यी सहमतिको प्रभावकारी कार्यान्वयनले नेपालको अन्तर्राष्ट्रिय व्यापारलाई थप सहज र प्रतिस्पर्धी बनाउनुका साथै लजिस्टिक्स लागत न्यूनीकरण, निर्यात प्रवर्द्धन, औद्योगिक उत्पादनको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि र वैदेशिक लगानी आकर्षित गर्न सहयोग पुग्नेछ ।
सहमति कार्यान्वयनका लागि नेपाल सरकार तथा सम्बन्धित निकायले आवश्यक नीतिगत, कानुनी र प्राविधिक प्रक्रिया समयमै अगाडि बढाउनुपर्ने एसोसिएसनले जनाएको छ । साथै, पारवहनसम्बन्धी विद्यमान प्रक्रियालाई सरल, पारदर्शी र व्यवसायमैत्री बनाउन तथा निजी क्षेत्रसँग आवश्यक समन्वय र परामर्श गरी कार्यान्वयनका क्रममा देखिन सक्ने व्यावहारिक समस्या समाधान गर्न पनि एसोसिएसनले सरकारसँग आग्रह गरेको छ ।






Comments are closed.