आर्थिक आवाज
पोखरा । पोखरामा विशिष्टिकृत बाल अस्पताल बनाइने भएको छ । गण्डकी प्रदेश सरकारको समन्वयमा पोखरा महानगरपालिका र काठमाडौं इन्स्टिच्यूट अफ चाइल्ड हेल्थ (किओच) को सहकार्यमा लेखनाथमा विशिष्टिकृत बाल अस्पताल बनाउन लागिएको हो ।
विशिष्टिकृत बाल अस्पताल बनाउने विषयमा आइतबार पोखरा महानगरपालिका र काठमाडौं इन्स्टिच्यूट अफ चाइल्ड हेल्थ (किओच)बीच सम्झौता भएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको समुपस्थितिमा भएको सम्झौतामा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी र किओचका संस्थापक अध्यक्ष प्रा.डा.भगवान कोइरालाले हस्ताक्षर गरे ।
विशिष्टिकृत बाल अस्पताल पोखरा महानगरपालिका वडा नम्बर २७ को वडा कार्यालय रहेको स्थानमा बनाइने जनाइएको छ । पोखरा महानगरपालिकाले सिसुवा मातृ अस्पतालसँगै बाल अस्पताल बनाउन प्रस्ताव गरेको छ । बाल अस्पताल र मातृ अस्पतालसँगै भयो भने आमा र बच्चा दुबैको उपचारमा सजिलो हुने भएकाले यस्तो प्रस्ताव गरिएको पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले बताए ।

कुल ३७ रोपनी क्षेत्रफलमा निर्माण गरिने यो अस्पताल अत्याधुनिक हुनेछ । महानगरपालिकाको जग्गा अस्पताल निर्माणका लागि किओचलाई ३० वर्षका लागि निःशुल्क प्रदान गर्ने सम्झौतामा उल्लेख छ ।
वैशाखसम्ममा लागत स्टिमेट तयार गरेर निर्माण शुरु गरिने किओचका संस्थापक अध्यक्ष प्रा.डा.भगवान कोइरालाले बताए । शुरुमा यो अस्पताल ५० बेडको हुनेछ । पछि बिस्तार गरेर १ शैय्यासम्म पु¥याइने कोइरालाले बताए । अस्पताल बाल रोगमा समर्पित हुने किओचका संस्थापक अध्यक्ष प्रा.डा.कोइरालाले बताए ।
पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले छिट्टै सञ्चालनमा आउनेगरी अस्पताल निर्माण गर्नेगरी काम अघि बढाइएको बताए । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले अस्पताल निर्माणमा प्रदेश सरकारले अभिभावकीय भूमिका खेल्ने बताए ।




Comments are closed.