कास्कीका पोखरीबाट वार्षिक १ लाख ७२ हजार के.जी. माछा उत्पादन

पोखरा । कास्कीमा माछापोखरीबाट एक वर्षमा १ लाख ७२ हजार के.जी. माछा उत्पादन भएको छ । यो तथ्यांक सन् २०१९ को हो । जिल्लामा ३ सय ६० वटा माछापोखरी रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीका वरिष्ठ पशु विकास अधिकृत एवं कार्यालय प्रमुख डा. शोभा शर्माले जानकारी दिइन् । २०२० मा माछा उत्पादन अझै बढ्ने शर्माले बताइन् ।

‘कास्कीमा व्यावसायिक माछापालन गर्ने क्रम बढेको छ,’ उनले भनिन्, ‘जिल्लालाई माछामा आत्मनिर्भर बनाउने उद्देश्यका साथ हामी अगाडि बढिरहेका छौं ।’ माछा उत्पादन बढाउन तथा किसानलाई आकर्षित गर्न कार्यालयले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको शर्माले जानकारी दिइन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियाजना अन्तर्गत रेन्बो ट्राउट ब्लकलाई कार्यालयले अनुदान दिएको छ । नयाँ रेस वे निर्माण, भुरा वितरण तथा उत्पादन, कोल्ड स्टोर सञ्चालन तथा जेनेरेटर खरिदका लागि २३ लाख ५० हजार रुपैयाँ अनुदान दिने प्रक्रियामा रहेको पशु विकास अधिकृत डा. सपना लक्ष्मी घिमिरेले जानकारी दिइन् ।

कार्यालय अन्तर्गत माछा पकेट कार्यक्रम ३ वटा सञ्चालनमा छन् । खास्टेताल, रुपाताल र लेखनाथ मत्स्य पकेट कार्यक्रम सञ्चालन भइरहेको घिमिरेले बताइन् । ३ वटा पकेट कार्यक्रमका लागि ३ लाख रुपैयाँका दरले ९ लाख रुपैयाँ अनुदान दिइएको छ । अनुदानबाट प्राप्त रकमबाट किसानले नयाँ पोखरी निर्माण, फ्रिज, भुरा र जाल खरिद गरेका छन् ।

कास्कीका सबै माछापोखरीलाई पुग्ने गरी चुन वितरण गरिएको नायव प्राविधिक सहायक (मत्स्य) प्रेम शाहीले जानकारी दिए । ‘प्रति रोपनी १० के.जी.का दरले चुन वितरण गरिएको छ,’ उनले भने ।

मोडल फार्म अन्तर्गत रुपा र मादी गाउँपालिका तथा पोखरा महानगरपालिकामा काम भइरहेको कार्यालय प्रमुख शर्माले जानकारी दिइन् । मोडल फार्ममा छनोट भएका ३ वटा फार्मले १० लाख रुपैयाँ बराबरको कार्य सम्पन्न गरिसकेको उनले बताइन् । ‘सरकारबाट प्राप्त अनुदानको किसानहरुले सदुपयोग गर्दै उदाहरणीय कार्य गरेका छन्,’ उनले भनिन्, ‘किसानहरुको मनोबल बढाएर काममा उत्साही बनाउन हामी लागिरहेका छौं ।’ पोखरी बाहेक तालबाट मात्र कास्की जिल्लामा वर्षमा २ लाख केजी भन्दा बढी उत्पादन हुने अनुमान छ ।

lcci
You might also like

Comments are closed.