फेवाताल पुरिनबाट जोगाउने सिल्टेसन ड्याम तयार

 

पोखरा ।

विश्वकै सुन्दर ताल मध्येको एक फेवातालमा सिल्टेसन ड्याम तयार भएको छ । तालको सिरान क्षेत्रबाट बगेर आउने ढुंगा, गिटी, माटो, बालुवालगायतका ग्रेगर रोक्नका लागि गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको २८ करोड ९६ लाखको संयुक्त लगानीमा सिल्ट पोखरी र ड्याम तयार भएको हो ।

२०७५ साल भदौ २९ गते सम्झौता भई २०७६ साल असार १४ गते शिलान्यास गरिएको ‘सिल्टेसन ड्याम’को निर्माण लगभग पूरा भएको पोखरा महानगरपालिकाले जनाएको छ । वेत्यानी खोला, अँधेरीखोला र हर्पनखोलामा सिल्टेसन ड्याम निर्माणको काम ९९ प्रतिशत सकिएको तथा लौरुक खोलामा निर्माणाधीन सिल्टेसन ड्यामको काम ७० प्रतिशत सकिएको पोखरा महानगरपालिकाका ईञ्जिनियर लक्ष्मी गौतमले जानकारी दिए । उनका अनुसार ९९ प्रतिशत काम सकिएका सिल्ट पोखरीमा सिल्ट जम्मा हुने क्रम शुरु भएको छ ।

तालको सिरान क्षेत्रमा रहेका ४ वटा खोलामा सिल्ट पोखरी र ड्याम निर्माण गर्न कुल ३४ करोड ४९ लाख अनुमान गरिएपनि २८ करोड ९६ लाखमा निर्माण कम्पनीसँग सम्झौता भएको थियो । सिल्ट पोखरी र ड्याम निर्माण गर्न प्रदेश सरकार र पोखरा महानगरपालिकाको आधा आधा अर्थात जनहि १४ करोड ४८ लाखका दरले लगानी भएको छ । महानगरपालिकाका अनुसार वेतयानी र लौरुकखोलामा ५० मिटर लम्बाई, ५० मिटर चौडाइ र ४ मिटर उचाइको तथा अँधेरीखोला र घाँटीछिनास्थित हर्पनखोलामा १ सय मिटर लम्बाई, १ सय मिटर चौंडाई र ४ मिटर उचाईको ‘सिल्टेसन ड्याम’ बनाइएको छ ।

फेवाताल जलाधार संरक्षण अभियान अन्तर्गत पोखरा २४ स्थित वेतयानी खोलामा निर्माण गरिएको ‘सिल्टेसन ड्याम’ श्री गीता÷जयनेपाल इश्वर जेभी, स्याङ्जाले निर्माण गरेको हो । यसको लागत ५ करोड ४६ लाख ५८ हजार ९ सय ७५ रुपैयाँ छ ।

पोखरा २४ लौरुकखोलामा निर्मित ‘सिल्टेसन ड्याम’ खड्का कृष्ण÷पि.के जेभी दाङले निर्माण गरेको हो । यसको लागत ५ करोड ७४ लाख ८४ हजार ९ सय ९८ रुपैयाँ छ ।

पोखरा २३ र २४ मा पर्ने अँधेरीखोलामा निर्मित ‘सिल्टेसन ड्याम’पनि खड्का कृष्ण÷पि.के जेभी दाङले नै निर्माण गरेको हो । यसको लागत ९ करोड ६ लाख ४ हजार ५ सय ५८ रुपैयाँ छ । फेवातालको सबैभन्दा माथिल्लो सिरान क्षेत्र पोखरा २३ घाँटीछिनास्थित हर्पनखोलामा निर्मित ‘सिल्टेसन ड्याम’ पनि खड्का कृष्ण÷पि.के जेभी दाङले नै निर्माण गरेको हो । यसको लागत ७ करोड ८८ लाख ६२ हजार ५ सय ४१ रुपैयाँ छ ।

तालको सिरान क्षेत्रमा सिल्ट पोखरी र ड्याम निर्माण भएसँगै फेवाताल पुरिनबाट जोगिने विश्वास गरिएको छ । फेवातालको सिरान क्षेत्रका खोलाहरुबाट बगेर आउने ढुंगा, गिटी, माटो, बालुवालगायतका ग्रेगर बगेर फेवातालमा मिसिदा वर्षेनी फेवातालको गहिराई घट्दै गएको थियो भने फेवाताल पुरिदा त्यसको आकारपनि घट्दै गएको तथ्यहरुले देखाउँदै आएको थियो । तर तालको सिरान क्षेत्रका खोलाहरुबाट बगेर आउने ढुंगा, गिटी, माटो, बालुवालगायतका ग्रेगर सिल्ट पोखरीमा जम्मा भएर पानीमात्र तालमा मिसिने हुँदा ताल पुरिनबाट जोगिने पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले बताए ।

सिल्ट पोखरी र ड्याम निर्माणले फेवाताल पुरिनबाट जोगाउने मात्र होइन, यसले आम्दानीपनि दिने भएको छ । सिल्ट पोखरीमा जम्मा भएको सिल्ट निकालेर बेच्दा वार्षिक सवा ३ करोड आम्दानी हुने महानगरपालिकाका ईञ्जिनियर लक्ष्मी गौतमले बताए । वार्षिक २ करोड ७६ हजार घनमिटर सिल्ट निस्कन्छ भन्ने हाम्रो अनुमान हो,‘उनले भने,‘यसलाई अहिलेको बजार मूल्य १ घनमिटरको १४२ का दरले गर्दा करीब सवा ३ करोड आम्दानी हुन्छ ।’

तर प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्साल भने वार्षिक २८ करोड भन्दा बढी आम्दानी गर्न सकिने दाबी गरेका छन् । केहि दिनअघी फेवातालमा निर्माण गरिएको सिल्ट पोखरीबारे गण्डकी प्रदेश सभालाई जानकारी गराउँदै उनले यस्तो दाबी गरेका हुन् ।

ईञ्जिनियर गौतम बजार मूल्य अनुसार आम्दानी घटबढ हुने बताउँछन् । उनले भने,‘प्रति घनमिटर १४२ बाट बढाएर ३ सय पु¥याउनेबारे महानगरमा छलफल भइरहेको छ, यदि त्यस्तो भयोभने आम्दानी बढ्न सक्छ, तर मन्त्रालयले भनेजति पुग्न मुश्किल छ ।’ उनका अनुसार सिल्ट थुप्रिएपछि टेण्डर गरेर त्यहाँबाट ढुंगा, गिटी, बालुवा निकालिनेछ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.