सार्वजनिक सवारी सञ्चालन कार्यतालिका तयार ! कहिले चल्छन् सार्वजनिक बस ?

काठमाडौं । लकडाउनसँगै लामो समयदेखि बन्द रहेका सार्वजनिक यातायात सञ्चालनको लागि छलफललाई तिब्र बनाइएको छ । सार्वजनिक सवारी साधन सञ्चालनका लागि यातायात व्यवस्था विभागको नेतृत्वमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको टोलीसहित अन्य सरोकारवालाहरुको सहभागितामा बुधबार छलफल भएको हो ।

छलफलमा सवारी सञ्चालन कार्यतालिका तयार भएको महासंघका महासचिव सरोज सिटौलाले आर्थिक आवाजलाई जानकारी दिए । ‘सार्वजनिक सवारी सञ्चालन गर्नै नसकिने गरी एकतर्फी रुपमा सरकारले जारी गरेको निर्देशिकालाई आवश्यकता अनुसार परिवर्तन गर्ने सहमति भएको छ,’ उनले भने ।

सवारी सञ्चालनको कार्यविधिबारे बैठकमा छलफल महासचिव सिटौलाले जानकारी दिए । ‘सार्वजनिक सवारी सञ्चालन गर्दा यातायात श्रमिक, यात्रुहरूको स्वास्थ्य मापदण्ड र सुरक्षाबारे छलफल भयो,’ उनले भने, ‘चाँडै सवारी सञ्चालनका लागि बाँकी कामहरू पूरा गरिनेछ ।’

सार्वजनिक यातायात सञ्चालनको लागि तयारीको काम तिब्र गतिमा भइरहेको उनले बताए । सात गतेसम्म लकडाउन नै भएकाले त्यसपछि सवारी सञ्चालन गर्ने वातावरण बनाउनुपर्ने उनको भनाइ छ । स्वास्थ्यसँग जोडिएकाले व्यवसायी, मजदुर, यात्रुहरु सबैलाई धैर्य रहने सिटौलाले आग्रह गरे ।

छलफलमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ, स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, काठमाडौं ललितपुर महानगरपालिका, भक्तपुर उपमहानगरपालिका र महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रतिनिधिहरुसमेत सहभागी थिए ।

You might also like

Comments are closed.