पोखरा । कोभिड–१९ का कारण व्यवसाय बन्द भएको तथा मन्दी आएको मौका छोपी केही व्यवसायीले गैरकानुनी बाटोबाट फाइदा लिएको पाइएको छ । अनधिकृत रुपमा व्यवसाय गरेका केही व्यवसायीले राज्यलाई चुनौति दिदै व्यवसाय गरेको पाइएको हो ।
पोखरा स्टील फेब्रिकेटर्स एसोसिएसन कास्कीले बिहीबार गरेको अनुगमनका क्रममा यस्तो पाइएको अध्यक्ष ऋषि गिरीले आर्थिक आवाजलाई जानकारी दिए । ‘विश्वब्यापी रुपमा फैलिएको कोभिड –१९ संक्रमणका कारण उद्योग धन्दा, व्यापार व्यवसायमा असर परिरहेको अवस्था छ,’ उनले भने, ‘दर्ता नगरी सञ्चालन गरिएका व्यवसायी संक्रमणकालीन अवस्थाको फाइदा उठाउँदै घर घरमा पुगेर व्यवसाय गरेको पाइएको छ । यसको जिम्मेवारी कसले लिने ?’

यसरी गैरकानुनी रुपमा सञ्चालित व्यवसायको तत्काल अनुगमन गरी कारबाही गर्नुपर्ने उनले बताए । ‘राज्यको निकायमा दर्ता नगरी सञ्चालित व्यवसायका कारण धेरै राजश्व समेत गुमेको छ,’ उनले भने, ‘यस विषयमा राज्य जिम्मेवार बन्न जरुरी छ ।’ अनुगमनका क्रममा पोखराका विभिन्न ठाउँमा यसरी व्यवसाय गरेको पाइएको एसोसिएसनले जनाएको छ ।
केही थान हाते मेसिनहरु लिएर घरघरमा काम गर्दै हिँड्नेहरुको बिगबिगी बढेकाले काममा गुणस्तर खस्कँदै गएको एसोसिएसनको भनाइ छ । ‘दुर्घटनाको जोखिम बढेको, राज्यलाई बुझाउनु पर्ने राजश्व गुमेकोछ,’ एक व्यवसायीले भने, ‘कानुनी प्रक्रिया पुरा गरेका उद्योगी व्यवसायीलाई समेत संकटको अवस्था सृजना भएको छ ।’
दर्ता प्रक्रिया पुरा गरेर मात्र व्यवसाय संचालन गरी बजार अनुगमनको अवस्थामा हुने दण्ड, सजाय, जरिवानाबाट सुरक्षित रहन सम्वन्धित व्यवसायीमा एसोसिएसनले अपिल गरेको छ । घरेलु तथा साना उद्योग कार्यालय कास्कीले पनि उद्योग व्यवसाय दर्ता गरेर मात्रै संचालन गर्न सूचना प्रकाशन गरेको छ ।




Comments are closed.