फेवाताल र हिमाल हेर्दै केबलकारमा सररर… यस्तो बन्दैछ पोखरामा केबलकार (भिडियोसहित)

काठमाडौं ।पोखराको फेवाताल किनारदेखि सराङकोटसम्म अन्नपूर्ण केबलकार प्रा.लि.को लगानीमा केबलकार सञ्चालनमा आउने भएको छ । केवलकार निर्माणको काम अन्तिम चरणमा पुगेको छ । कोरोनाको महामारी नबढेको भए अहिलेसम्म केबलकार सञ्चालनमा आइसक्ने थियो । कोभिडको कारण जारी लकडाउनले निर्माणमा केही ढिला भएपछि सन् २०२१ को जनवरीबाट केबलकार सञ्चालनमा आउने कम्पनीको विश्वास छ ।

तारको लठ्ठा झुण्डाउने र मान्छे बस्ने गण्डोला जडान गर्ने बाहेक प्राय काम सकिएको कम्पनीका अध्यक्ष कालु गुरुङले जानकारी दिए । निर्माणको जिम्मेवारी पाएको चितवन कोइ कम्पनीले निर्माणको कामलाई अन्तिम चरणमा पु¥याएको हो । प्राविधिक परीक्षणका लागि जापानीज टोली आउनुपर्ने भएकाले केबलकार सञ्चालनमा केही महिना लाग्ने बताइएको छ । लगभग निर्माणको ९५ प्रतिशत काम सम्पन्न भइसकेको परामर्श दाता रोपवे नेपालका अध्यक्ष तथा इन्जिनियर गुणराज ढकालले जानकारी दिए ।

सेदीमा तल्लो स्टेसन र सराङकोट भुमरीगैरामा माथिल्लो स्टेसन निर्माण भएको छ । २ हजार ३ सय मिटर लम्बाइ रहने केबलकारमा १३ वटा टावर राखिएका छन् । पहिलो चरणमा २१ वटा गण्डोला जडान गरिनेछ । आवश्यकता अनुसार ३६ वटा डिब्बासम्म सञ्चालन गर्न सकिनेछ । एक घन्टामा ६ सय जनासम्मको क्षमतामा केबलकार सञ्चालनमा ल्याउन लागिएको हो । आवश्यकता अनुसार १ हजार जनासम्मलाई एक घन्टामा सुविधा प्रदान गर्न सकिने केबलकारको क्षमता रहनेछ । उक्त दुरी पार गर्न ७ देखि ९ मिनेट लाग्नेछ ।

जापानी कम्पनी निप्पोनले केबलकारको प्राविधिक पक्षमा सहयोग गरेको छ । अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुरक्षा प्रणाली अपनाएर केबलकार निर्माण भएको सञ्चालक तीर्थराज त्रिपाठीले बताए । ‘नविनतम प्रविधि अनुसारको डिजाइन तयार पारी केबलकार निर्माण भएको छ,’ उनले भने, ‘पोखरामा निर्माण भएको केबलकारले यहाँको पर्यटनमा नयाँ आयाम थप्ने हाम्रो विश्वास छ ।’

पोखराको पर्यटन प्रवद्र्धनको लक्ष्यसहित निर्माण भएको केबलकारका लागि पोखराका पर्यटन व्यवसायी, संघसंस्था तथा स्थानीयबासीबाट साथ मिलेको अध्यक्ष गुरुङ बताउँछन् । केबलकार निर्माण पछि नयाँ पर्यटकीय गन्तव्यको विकास हुने उनको विश्वास छ । सूर्योदय, सूर्यास्त, हिमालय, वरपरको हरियाली दृश्य, पोखरा, फेवाताल लगायतका दृश्यावलोकनका लागि सराङकोट प्रशिद्ध छ । प्याराग्लाइडिङ सञ्चालन समेत यहीँबाट हुने भएकाले सराङकोट संसारमै चिनिने स्थानमा पर्छ । पोखरा र सराङकोटलाई चिनाउन केबलकारले अझ बढी योगदान पु¥याउने विश्वास गरिएको छ ।

You might also like

Comments are closed.