‘सरकारकै आसेपासेले क्रसर चलाउँदा मापदण्ड कार्यान्वयन भएन’

सन्देश श्रेष्ठ
पोखरा ।
गण्डकी प्रदेशका सांसदहरुले सरकारकै आसेपासेले क्रसर उद्योग चलाउँदा क्रसरहरुमा मापदण्ड लागु नभएको आरोप लगाएका छन् । अर्थ तथा विकास समितिले बुधबार आयोजना गरेको भर्चुअल मिटिङमा सहभागि प्रदेश सांसदहरुले आफैले बनाएको मापदण्ड कार्यान्वयन नगरेकोमा सरकारप्रति आक्रोस पोख्दै यस्तो आरोप लगाएका हुन् । उनीहरुले क्रसरहरुमा मापदण्ड कार्यान्वयन गराउन माग गरे ।

सांसद ईन्द्रलाल सापकोटाले सरकारकै आसेपासले क्रसर उद्योग चलाएकाले आफैले बनाएको मापदण्ड सरकारले कार्यान्वयन गर्न नसकेको बताए । सांसद सापकोटाले भने,‘सरकार आफैले मापदण्ड बनाउँछ, तर कार्यान्वयन नै गर्दैन ।’ सरकारकै अकर्मन्यताका कारण क्रसर उद्योगका मापदण्ड कार्यान्वयन नभएको आरोप लगाउँदै उनले थपे,‘स्थानिय तह र सरकारकै नजिकका आसेपासेहरुले क्रसर उद्योग सञ्चालन गरेका छन्, त्यहि भएर मापदण्ड कार्यान्वयनमा नआएको हो ।’

सांसदहरुले मापदण्ड बिपरित क्रसरहरु सञ्चालन हुनु दुःखद भएको बताउँदै मापदण्ड कार्यान्वयन गर्न दवाबसमेत दिए । उनीहरुले मापदण्ड कार्यान्वयन गर्न नसक्ने हो भने मापदण्ड संसोधन गर्नपनि चुनौति दिएका छन् ।

बैठकमा विषय प्रवेश गराउँदै संसदको अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले गण्डकी प्रदेशका शतप्रतिशत क्रसरहरु मापदण्डबिपरित सञ्चालन भइरहेको बताए । क्रसरहरु मापदण्ड बिपरित सञ्चालन भइरहँदा सरकार भने मौन बसेको उनको आरोप थियो । मापदण्ड बिपरित क्रसरहरु चलिरहँदा सरकार किन मापदण्ड कार्यान्वयन गर्न अगाडि सर्दैन ? प्रश्न गर्दै उनले भने,‘यदि मापदण्ड कार्यान्वयन गर्न सरकारले सक्दैन भने मापदण्ड संसोधन गर्नुप¥यो ।’

तर जिल्ला समन्वय समिति तनहुँका प्रतिनिधिहरुले भने कार्वाहीको अधिकार नहुँदा मापदण्ड कार्यान्वयन गराउन नसकिएको जवाफ दिएका छन् । जिल्ला समन्वय समिति (जिसस) तनहुँका प्रमुख शान्तिरमण वाग्लेले भने,‘ जिससलार्ई मात्र देखाएर मात्र हुँदैन, जिससलाई कार्वाही गर्ने अधिकार नै छैन, कित कार्वाही गर्ने अधिकार दिनुप¥यो, होइन भने कार्यान्वयन गर्ने साझा दायित्व सबैले लिनुप¥यो ।’

बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले क्रसरका मापदण्ड दृढतापूर्वक कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए । असोज १ गतेपछि क्रसरहरुको तालिका बनाएर नियमित अनुगमन गर्ने बताउँदै उनले भने,‘क्रसरका मापदण्ड हेरफेर हुँदैन, अहिले भएकै मापदण्ड दृढतापूर्वक कार्यान्वयन हुन्छ ।’ उनले मापदण्ड लागु नगर्ने क्रसर उद्योगहरुलाई कार्वाही गर्ने चेतावनी समेत दिए ।

You might also like

Comments are closed.