काठमाडौं । व्युटिपार्लटर व्यवसायहरु सञ्चालन गर्न पाउनुपर्ने माग सौन्दर्य व्यवसायीहरुले गरेका छन् । व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने मागसहित व्यवसायीहरुले माइतीघर मण्डलामा मंगलबार धर्ना दिएका छन् ।
सौन्दर्य कला व्यवसायी संघ नेपालको नेतृत्वमा व्यवसायीहरु सडकमा आएका हुन् । लामो समयसम्म व्यवसाय बन्द हुँदा व्यवसायी र व्यवसायसँग आबद्ध श्रमिकहरुलाई दैनिक गुजारा चलाउनसमेत मुस्किल पर्ने अवस्था आइसकेको संघका अध्यक्ष कमला श्रेष्ठले बताइन् ।
स्वास्थ्य संकटसँगै आर्थिक संकटसमेत बढ्दै गएकाले स्वास्थ्य निर्देशिकाको पूर्ण पालना गरी व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने व्यवसायीहरुको माग छ । ‘स्वरोजगारमुखी व्यवसायीहरु व्यवसायबाट नै पलायन हुनुपर्ने अवस्था आउन लागेको छ,’ श्रेष्ठले भनिन्, ‘यस विषयमा राज्य जिम्मेवार बन्न आवश्यक छ ।’
कोरोना भाइरसबाट जोगिदै, सतर्कता अपनाएर कसरी काम गर्न सकिन्छ भनेर सरकारलाई कार्यविधिसमेत हस्तान्तरण गरिसकिएको श्रेष्ठले जानकारी दिइन् । ‘अन्य व्यवसाय सञ्चालन हुँदासमेत अहिलेसम्म यो व्यवसायलाई चल्न दिइएको छैन,’ संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘लामो समय बन्द व्युटिपार्लर व्यवसायलाई तत्काल सुचारु गरी मार्ग प्रसस्त गर्न सरकारसमक्ष माग गर्दछौं ।’
लाखौं रोजगारी सिर्जना गर्ने व्यवसाय गरिरहेका व्युटिपार्लरहरुलाई खुला नगर्ने हो भने अधिकांश व्युटिसियन र उनीहरुको घर परिवारका सदस्यहरु भोकभोकै मर्ने अबस्था आउने हुँदा त्यसको जिम्मा राज्यले लिनुपर्ने संघको माग छ ।
कोभिडसँग जुध्दै सुरक्षित भएर व्यवसायसमेत सञ्चालन गर्नुपर्ने अवस्था आइसकेको सौन्दर्य व्यवसायी कमला अधिकारीले बताइन् । ६ महिनादेखि व्यवसाय बन्द हुँदा समस्या सिर्जना भएकाले राज्यले यसतर्फ ध्यान दिनुपर्ने उनको माग छ ।
Comments are closed.