काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा तथा निर्वाचन मंसिर दोस्रो साता हुने भएको छ । गत चैतमा हुनुपर्ने महासंघको साधारणसभा लकडाउन र निशेधाज्ञाका कारण पछाडि धकेलिएको हो ।
हालसम्म रोकिएको महासंघको साधारणसभा तथा निर्वाचन मंसिर ११ र १२ गते हुने एक केन्द्रीय सदस्यले आर्थिक आवाजलाई जानकारी दिए । मंसिरमा निर्वाचन गर्न गृहमन्त्रालयले समेत महासंघलाई स्वीकृति दिइसकेको छ ।
गत साता बसेको महासंघको पदाधिकारी बैठकले मंसिरमा निर्वाचन गर्ने निर्णय गरिसकेको छ । महासंघ केन्द्रीय समिति बैठक असोज १५ गते बस्ने तय भएको छ । पदाधिकारी बैठकको निर्णयलाई केन्द्रीय समिति बैठकले अनुमोदन गर्ने बताइएको छ ।
सरकारले जारी गरेको स्वास्थ्य निर्देशिका पूर्ण पालना गरी साधारणसभा तथा निर्वाचन गर्ने तयारीमा महासंघ अगाडि बढेको हो । विद्युतीय माध्यमबाट साधारणसभा गरी एक पटकमा २५ जना भन्दा कम सहभागी भइ मतदान हुने बताइएको छ ।
Comments are closed.