काठमाडौं । नेपालको पर्यटकीय केन्द्र पोखरालाई भारतको राजधानी नयाँ दिल्लीसँग सार्वजनिक यातायातको साधनबाट सिधा जोडिएको १४ वर्ष पुरा भएको छ । दुई देशलाई जोड्ने गरी मोर्डन इरा टुर्स एण्ड ट्राभल्सले १४ वर्ष अगाडि असोज १५ गतेबाट बस सेवा सुरु गरेको थियो ।
१४ वर्ष अगाडि सातामा ३ दिन पोखराबाट दिल्लीका लागि र दिल्लीबाट पोखराका लागि बस छुट्थ्यो । सेवा शुभारम्भको २ वर्ष पछि दैनिक एक एक बस छुट्ने गरी सेवा विस्तार गरेको थियो । त्यसको केही वर्षमै प्रालिले सेवा विस्तार गरी दैनिक २ वटा बस सेवा सञ्चालन गरेको अध्यक्ष केशवप्रसाद अधिकारी बताउँछन् । मोर्डन इराकै पहलमा ५ वर्ष अगाडिबाट पोखरा र दिल्ली जोड्ने गरी नेपाल भारत मैत्री बससमेत सञ्चालन भएको थियो । कोभिडका कारण ७ महिना अगाडिदेखि नेपाल भारत सीमा बन्द भयो । सार्वजनिक यातायातसमेत बन्द भएपछि प्रा.लि.को सेवा रोकिएको थियो ।
प्रालिले वार्षिकोत्सवकै अवसर पारेर बिहीबारबाट दिल्लीका लागि बस सेवा पुनः सञ्चालनमा ल्याएको छ । सीमा नाका बन्द रहेकाले सीमा क्षेत्रसम्म पोखराको बस जाने गरी सेवा सञ्चालनमा ल्याइएको अधिकारीले जानकारी दिए । ‘सीमासम्म पुगेका यात्रुलाई भारतीय सीमाबाट सीमा पारीकै बस प्रयोग गरी दिल्लीसम्म पु¥याउनेछौं,’ उनले भने, ‘सीमा खुल्ला भएपछि पोखराबाट दिल्लीसम्म नै बस सेवा चल्नेछ ।’
प्रालिले बिहीबार शुभकामना आदानप्रदान गरी वार्षिकोत्सव मनाएको छ । प्रालिका सञ्चालकहरु र पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसी तथा पदाधिकारीहरुको उपस्थितिमा कार्यक्रम गरिएको अधिकारीले जानकारी दिए ।
यातायातको क्षेत्रबाट नेपाल र भारतको सम्बन्ध सुमधुर पार्दै पर्यटन प्रवद्र्धनमा उल्लेखनीय योगदान पु¥याउन मोर्डन इरा सफल भएको अध्यक्ष अधिकारी बताउँछन् । पोखरा दिल्ली बस सेवा सञ्चालनमा आएपछि दुवै पोखराबाट दिल्ली जाने यात्रु र उताबाट पोखरासम्म आउने यात्रुहरुलाई निकै सहज भएको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र केसी बताउँछन् ।
Comments are closed.