दमौली । तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले दशैं भत्ता बापतको रकम जिल्लाका मिर्गौला पीडितलाई हस्तान्तरण गरेका छन् । आफ्नो पूर्व प्रतिवद्धता बमोजिम सांसद श्रेष्ठले व्यास नगरपालिकाका विभिन्न वडाका तीन मिर्गौला पीडितलाई बुधबार उक्त रकम हस्तान्तरण गरेका छन् ।
व्यास नगरपालिका–१ का अमृतबहादुर खत्री, व्यास नगरपालिका–४ का अब्दुल गफ्फार मियाँ र व्यास नगरपालिका–१४ का सन्तोष राना मगरलाई जनही रु १६ हजारका दरले रकम सहयोग गरिएको सांसद श्रेष्ठका स्वकीय सचिव जगतबहादुर खड्काले जानकारी दिए । व्यास नगरपालिका–१२ का अनुप क्षेत्रीलाई भने रकम हस्तान्तरण गर्न बाँकी छ ।
श्रेष्ठले सांसद भएदेखि अहिलेसम्मको सबै महिनाको पारिश्रामिक तनहुँ जिल्लाका विभिन्न संघसंस्था र समुदायलाई उपलब्ध गराउँदै आएका छन् ।
यसैगरी, व्यास नगरपालिका–५ बरबोटे निवासी मिर्गौला पीडित टेकबहादुर आलेलाई विदेशबाट सहयोग जुटेको छ । दुबई, संयुक्त राज्य अमेरिका र अष्ट्रेलियाबाट प्राप्त रु ७१ हजार पाँच सय ९३ आज पीडितलाई हस्तान्तरण गरिएको छ । नगरपालिकाको ५ नं. वडाध्यक्ष मोहनकुमार श्रेष्ठले पीडितलाई रकम हस्तान्तरण गर्दै विदेशमा रहेर जिल्लावासीलाई परेको मर्कामा सहयोग गर्नु मानवीय कार्य रहेको बताए ।
Comments are closed.