चितवन । गत वर्ष दसैं अगाडिबाटै सौराहाका होटलहरु भरिभराउ हुन्थे । सौराहा घुम्न जाने आन्तरिक पर्यटकको भिड हुन्थ्यो यो समय । तर, यो वर्षको दसैंमा सौराहा सुनसान जस्तै रह्यो । यहाँका व्यवसायीले सोचेभन्दा निकै कम मात्र पर्यटक दसैंमा सौराहा पुगे ।
संसारभर फैलिएको कोभिड महामारीको प्रभाव सुरु भएसँगै नेपालमा लकडाउन भयो । लकडाउनसँगै बन्द रहेका सौराहाका होटलहरु दसैं नजिकिएसँगै क्रमशः सञ्चालनमा आएका छन् । होटल खुले पनि पर्यटकलाई स्वागत गर्न व्यवसायीले पाएका छैनन् ।
दसैं विदामा सौराहामा आन्तरिक पर्यटकको आगमन बढ्ने विश्वासमा यहाँका व्यवसायी थिए । आन्तरिक पर्यटकलाई आकर्षित गर्न यहाँका होटलहरुले विशेष छुटको प्याकेजसमेत घोषणा गरेका थिए । छुटको प्याकेजले पनि पर्यटकलाई आकर्षित गर्न नसकेको बताउँछन् क्षेत्रीय होटल संघ सौराहका अध्यक्ष दीपक भट्टराई । ‘दसैंमा यहाँ सधैं पर्यटकका भिड लाग्ने गर्दथ्यो,’ उनले भने, ‘यस पटक कोभिडका कारण पर्यटकहरु डराएर नै नहिडेको हुनुपर्छ ।’
पर्यटकलाई आकर्षित गर्न सौराहका होटलले २५ देखि ३० प्रतिशत छुटको व्यवस्था गरेको भट्टराईले जानकारी दिए । ‘होटलहरुले पनि आआफ्नो अनुकुल छुट्टाछुट्टै प्याकेज ल्याएका थिए,’ भट्टराईले भने, ‘छुटले अपेक्षा अनुसार पर्यटकलाई आकर्षित गरेन ।’ दसैंको २ दिनसम्म सौराह सुनसान रहेपनि दसैं पछि पर्यटकहरु बढ्ने विश्वासमा आफूहरु रहेको भट्टराईले आर्थिक आवाजलाई बताए । ‘पर्यटकलाई स्वागत गर्न यहाँका पर्यटन व्यवसायी तयारी अवस्थामा छन्,’ उनले भने, ‘दसैंपछि पर्यटकहरु बढ्ने विश्वासमा हामी छौं ।’
दसैंमा पर्यटकहरु खासै नआएको सौराहाका पर्यटन व्यवसायी रामकुमार अर्याल बताउँछन् । दसैं पछि पर्यटक आउँछन् कि भन्ने अपेक्षामा आफूहरु रहेको उनको भनाइ छ । ‘पर्यटक आएका छैनन्,’ उनले भने, ‘पर्यटक नआएपछि होटलहरु खुलेका छन् । सरसफाई गरेर बसेका छौं । अब आन्तरिक पर्यटक आउने विश्वासमा छौं ।’
सौराहामा पर्यटकका स्तरका १२० वटा होटल छन् । होटलहरुबाट करिब ६ जनाले प्रत्यक्ष रोजगारी पाएकोमा यतिबेला कामदार संख्या पनि घटेको छ । अहिले एउटा होटलले ४÷५ जना कर्मचारी राखेर काम सुरु गरेको व्यवसायी बताउँछन् । २५ प्रतिशत कर्मचारीबाट होटलहरु सञ्चालनमा आएका छन् ।
जंगल सफारी गर्नका लागि सौराह आकर्षक गन्तव्य हो । प्राकृतिक सुन्दरताको अवलोकनसँगै जंगली जनावरलाई प्रत्यक्ष अवलोकन गर्न सकिन्छ । हात्ती, गैंडा, मृग, बाग, भालु, चराचुरुङीको अध्ययन अवलोकनका लागि पनि यहाँ पर्यटक पुग्छन् ।
Comments are closed.