बिगत १५ वर्षदेखि जीवन बिमाका क्षेत्रमा निरन्तर काम गर्दै आएका प्रशान्तराज धमाला यतिबेला महालक्ष्मी लाइफ इन्स्योरेन्सको मार्केटिङ चिफ भएर काम गरिरहेका छन् । सहायक पदबाट जीवन बिमा क्षेत्रमा प्रवेश गरेका धमला शाखा प्रमुख, प्रदेश प्रमुख हुँदै अहिले महालक्ष्मीको उच्च व्यवस्थापन टिममा रहेर आफ्नो जिम्मेवारी बहन गरिरहेका छन् । धमलासँग जीवन बिमा व्यवसाय तथा महालक्ष्मी लाइफ इन्स्योरेन्सका बिमा पोलिसी, बजार अवस्था लगायत विविध विषयमा केन्द्रित रहेर आर्थिक आवाजले गरेको कुराकानी यहाँ प्रस्तुत गरेका छौं ।
यतिबेला कोभिड महामारीको प्रकोप छ । यो विषम परिस्थितिमा महालक्ष्मीले कसरी काम गरिरहेको छ ?
कोभिड महामारीले संसारभर प्रभाव पारिरहेको सन्दर्भमा नेपाललाई पनि अछुतो राख्न सकेन । सम्पूर्ण व्यापार व्यवसाय लगायत सबै क्षेत्र प्रभावित भएजस्तै हामीलाई पनि असर पर्ने नै भयो । कोभिड महामारीसँगै लकडाउन भएपछि केही समय कार्यालयहरु बन्द नै रहे । यद्यपि हामीले घरघरबाटै पनि हाम्रो गतिविधिलाई जारी नै राख्यौं । समय र परिस्थितिलाई ख्याल गर्दै भर्चुअल माध्यमबाट अभिकर्ता तालिमहरु सञ्चालन गर्यौं । क्रमशः कोभिडसँग जुध्दै अगाडि बढ्नुपर्छ भन्ने मान्यताका साथ सुरक्षा मापदण्ड पालना गरेर कार्यालयहरु खुल्न थाले । गत वैशाखबाटै हामीले कार्यालयहरु खोलेर नियमित सेवाहरु प्रदान गरिरहेका छौं । अहिले पनि हामीले सबै कार्यालयमा सामाजिक दुरी कायम गर्दै सुरक्षा सतर्कताका साथ सेवा प्रदान गरिरहेका छौं ।
देशभर कति वटा शाखाबाट सेवा प्रदान गरिरहनुभएको छ ? अभिकर्ताहरु कति छन् ? बिमित संख्या कति पुग्यो ?
बिमा क्षेत्रमा हामीले छोटो समयमा धेरै राम्रो सफलता प्राप्त गरेका छौं । स्थापनाको २ वर्ष पनि पुरा नहुँदै हामीले बिमितहरुको विश्वास जित्न सफल भएका छौं । हामीसँग अहिले देशभर ६० वटा शाखा पुगिसकेका छन् । हरेक प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गरी हामीले सेवा प्रदान गरिरहेका छौं । हामीले हालसम्म करिब १७ हजार बिमा पोलिसी बिक्री गरिसकेका छौं । अभिकर्ता १४ हजार हुनुहुन्छ ।
महालक्ष्मीले बिमा क्षेत्रमा के–कस्ता प्रडक्टहरु ल्याएको छ ?
हामीले अन्य कम्पनीका भन्दा फरक खालका योजना ल्याएका छौं । जुन योजनाले बिमितले पाउने सेवा सुविधाहरु उत्कृष्ट छन् । हाम्रा योजनाप्रति बिमितहरुको आकर्षण बढेको छ । अझ नयाँ योजनाहरु ल्याउने हाम्रो तयारी पनि छ । नेपालको बजारमा सुहाउने खालका योजना ल्याउने छौं र जुन योजना बिमितहरुका लागि झन् लाभदायिक रहनेछ । हामीले ल्याएका योजना मध्ये डबल सावधिक बिमा योजना धेरैको रुचीमा परेको छ । जीवन हेरचाह बिमा योजना, सावधिक आजीवन योजना, सरल बिमा योजना, वार्षिक धनफिर्ता बिमा योजना, लगानी फिर्ता योजना लगायतका प्रडक्ट उत्कृष्ट छन् ।
महालक्ष्मीका बिमा योजनाहरु लोकप्रिय हुनुको कारण के हो ?
बिमा कम्पनी भनेको सेवा प्रदायक संस्था हो । प्रत्यक्ष तथा बिमितको सुरक्षा सँगसँगै आर्थिक लाभको पाटो पनि जोडिन्छ । जुन कुराहरु हाम्रा प्रडक्टले यथेष्ट मात्रामा समेटेका छन् । थप सेवा सुविधाहरु बिमितलाई प्रदान गरेका छौं । बिमाङकको चार गुणासम्मको दावी भुक्तानी गर्ने बिमा पोलिसी हामीसँग छ । न्युन आय भएका व्यक्तिहरुलाई बिमाको दायरामा ल्याउन र आर्थिक सुरक्षाको प्रत्याभूति दिलाउन न्युन रकममा ठूलो राशीको बिमा गर्न सक्ने पोलिसी पनि हामीसँग छ । हाम्रा अन्य बिमा पोलिसीहरु पनि निकै लोकप्रिय छन् । त्यही कारण हाम्रा बिमा योजनाहरु बिमितको रोजाईमा पर्न सफल छन् ।
महालक्ष्मीको अबको व्यावसायिक योजना कस्तो छ ?
बिमा कम्पनीको मेरुदण्ड भनेकै अभिकर्ता हुन् । अभिकर्ताहरुकै क्षमता अभिबृद्धि गराउँदै यो पेशाप्रतिको आकर्षण बढाउन हामी सक्रिय छौं । अभिकर्तालाई नै व्यावसायिक बनाउने अभियानमा हामी छौं । अभिकर्ताहरुको क्षमता अभिबृद्धिका लागि समय समयमा विभिन्न किसिमका तालिमहरु दिने र अभिमुखीकरण कार्यक्रमहरु सहभागी गराउने काम गरिरहेका छौं ।
पछिल्लो समय नेपालमा जीवन बिमा कम्पनी १९ वटा पुगेका छन् । धेरै कम्पनी हुँदा प्रतिस्पर्धा कस्तो छ ?
सबै क्षेत्रमा काम गर्न अवश्य पनि चुनौतिहरु हुन्छन् नै । चुनौतिहरुका बीचमा पनि हामीले फरक शैलीबाट काम गर्दै कम्पनीलाई स्थापित गराउन र बिमितहरुको विश्वास जित्न सफल छौं । धेरै कम्पनी हुँदा एकआपसमा प्रतिश्पर्धा हुनु स्वभाविक नै हो । पहिलाको तुलनामा अहिले मानिस धेरै सचेत भएका छन् । बिमाका सम्वन्धमा धेरै कुरा जानेका छन् । स्वेच्छिक बिमा हुने अवस्था भने अहिले पनि कम छ । बिमितहरुलाई बुझाएर कम्पनीमा आकर्षण गर्न अभिकर्ताहरु नै व्यावसायिक मानसिकता लिएर घरघरमा पुग्नुपर्ने देखिन्छ । यसतर्फ हामी सचेत छौं । बजारमा केही अस्वस्थ प्रतिस्पर्धा पनि देखिने गरेका छन् । अस्वस्थ प्रतिस्पर्धा भन्दा माथि उठेर व्यावसायिक प्रतिस्पर्धा गर्नुपर्नेतर्फ कम्पनीहरुको ध्यान जानु जरुरी छ ।
बजारमा बिमाको काम गर्न कत्तिको समस्या छ ?
बिमा कम्पनी जति लागेपनि राज्य र बिमा समितिले लिने नीतिगत परिवर्तन सकारात्मक नहुँदासम्म बिमा बजारको कुरा गर्न र काम गर्न गाह्रो नै छ । बिमा व्यवसाय अझै पनि परम्परागत शैलीमा अगाडि बढेको छ । बिमा आकर्षण बढाउन बिमा कम्पनीसँगै राज्य पनि लाग्नुपर्ने देखिएको छ । बिमा कम्पनी तथा बिमा समितिले पनि जनचेतना जगाउनुपर्छ । कम्पनीले ल्याउने प्रोडक्टमा पनि नयाँपन हुनुपर्छ ।
अन्य कम्पनी भन्दा महालक्ष्मी कसरी फरक छ ?
हामी अरु कम्पनी भन्दा फरक छौं । पहिलो कुरा मानिसले हेर्ने भनेको इन्भेष्टर को–को छन् भन्ने हो । महालक्ष्मीमा नेपालका ५ वटा स्थापित बैंकको लगानी छ । एनएमबि बैंक, मेगा बैंक, ज्योती विकास बैंक, महालक्ष्मी विकास बैंक र एक्सेल डेभलपमेन्ट बैंक छन् । यी बैंक स्थापित बैंक हुन् र महालक्ष्मीको प्रमोट गरेका छन् । वकिल, इञ्जिनियर, बैंकका पूर्व सिइओ, हालका सिइयो लगायतका प्रोफेसनल व्यक्तिहरुको पनि महालक्ष्मीमा लगानी छ । लगानीकर्ताको समूह बलियो र प्रोफेसनल छ । यसको व्यवस्थापन पनि बलियो छ । २४ वर्षदेखि बैंक, वित्तीय संस्था तथा बिमा क्षेत्रमा निरन्तर प्रमुख कार्यकारी अधिकृत भएर काम गर्नुभएका अनुभवी व्यक्ति हाम्रो कम्पनीको प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ । बिमा क्षेत्रमा स्थापित र अनुभवी म्यानेजमेन्ट टिम हामीसँग छ । जसको परिणाम स्वरुप स्थापनाको पहिलो वर्षमा नै बिमितहरुका लागि उत्कृष्ट बोनशदर घोषणा गर्न हामी सफल भएका छौं । आ.व. २०७५/७६ का लागि महालक्ष्मीले न्युनतम ५० रुपैयाँ प्रति हजारदेखि बोनशदर घोषणा गरेको छ ।
अन्त्यमा के भन्नुहुन्छ ?
हरेक व्यक्तिका लागि जीवन बिमा आवश्यक छ । करले होइन रहरले तथा आफ्नो र आफ्नो परिवारको लागि आवश्यकता महसुस गरेर बिमा गर्नुपर्छ । बचत, सुरक्षा र लगानीका दृष्टिकोणले पनि बिमा हरेक मानिसका लागि आवश्यक छ । साथसाथै स्वरोजगारको सिर्जना गरी आत्मनिर्भर बन्न यथेष्ट सम्भावना बोकेको क्षेत्र जीवन बिमा हो । धेरै कम्पनीहरु मध्ये महालक्ष्मीले अझैै धेरै व्यावसायिक अभिकर्ता उत्पादनमा जोड दिएको छ । त्यो व्यावसायिक रणनीतिलाई अभिकर्ताहरुले पनि मन पराउनुभएको छ । हाम्रो बिमित र अभिकर्ताहरुको विश्वासले कम्पनीले छोटो समयमा नै राम्रो सफलता हासिल गरेको छ । सबैलाई आफ्नो बिमा गराउन र अभिकर्तासमेत बनेर व्यवसायी बन्न आह्वान गर्दछु ।
Comments are closed.