लक्ष्मीप्रसाद उप्रेती
राष्ट्रिय सहकारी बैंक लेखा सुपरीवेक्षण समिति संयोजक
प्रमुख कार्यकारी अधिकृत, नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.
झापाको नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. नेपालका उत्कृष्ट सहकारी संस्थाहरु मध्येमा पर्न सफल छ । सहकारीले ५ किसिमका व्यवसायमा लगानी गरेको छ । सबै व्यवसायमा सहकारी सफल मात्रै होइन उत्कृष्ट छ । राष्ट्रिय सहकारी बैंक लेखा सुपरीवेक्षण समिति संयोजक समेत रहेका लक्ष्मीप्रसाद उप्रेती सहकारीको प्रमुख कार्यकारी अधिकृत भएर काम गरिरहेका छन् । यसैक्रममा सहकारीका विशेषता, लगानी, व्यवसायको अवस्था लगायत विविध विषयमा केन्द्रित रहेर प्रमुख कार्यकारी अधिकृत उप्रेतीसँग आर्थिक आवाजले गरेको कुराकानी यहाँ प्रस्तुत गरेका छौं ।
सहकारीको स्थापना कहिले भयो ?
२०५० साल फागुन २४ गते सहकारीको स्थापना भएको हो । स्थापनाकालमा झापाको एउटा गा.वि.सको एउटा वडामात्र कार्य क्षेत्र बनाएर सहकारी स्थापना भएको थियो । २६ जना सदस्यबाट सहकारी स्थापना भएको हो । स्थापनाको समयमा सहकारीको शेयर पँुजी २ लाख ५३ हजार थियो ।
सहकारीको वर्तमान वित्तीय अवस्था कस्तो छ ?
अहिले सहकारीको शेयर सदस्य ९२ हजार पुगेको अवस्था छ । सहकारीको कुल ब्यालेन्स सिट १० अर्ब रुपैयाँ भन्दा धेरै छ । ८ अर्ब २५ करोड रुपैयाँ कर्जा लगानी सहकारीले गरेको छ । निक्षेप रकम ८ अर्ब २ करोड रुपैयाँ छ । शेयर रकम ९४ करोड रुपैयाँ छ । विभिन्न कोषमा ५० करोड रुपैयाँ भन्दा धेरै रकम छ । अहिले सहकारीको कार्य क्षेत्र झापा जिल्लाभरी छ ।
बहुउद्देश्यीय सहकारी संस्था भएकाले के कस्ता व्यवसाय गरिरहेको छ ?
सहकारीले विभिन्न ५ किसिमका व्यवसाय संचालन गरिरहेको छ । बैंकिङ व्यवसायका जिल्लाभरी ४० शाखा छन् । एनएमसी डेरी उद्योग पनि सहकारीले संचालन गरेको छ । डेरीमा करिव १५ करोड रुपैयाँ लगानी छ । डेरीले करिव ४ हजार किसानको दुध लिन्छ । दैनिक करिव १५ हजार लिटर दुध प्रशोधन गर्न सक्ने क्षमता छ ।
१६ विघा जमिन खरिद गरि एनएमसी नमुना कृषि फर्म पनि सहकारीले संचालन गरिरहेको छ । यस अन्तर्गत कृिष तथा पशुपालनका परियोजना संचालन भएका छन् । नमुनाको रुपमा संचालन गरिएको हुनाले अरुले पनि यहाँबाट सिक्ने अवसर पाउनुहुन्छ । उदाहरणका लागि गाई फर्म र कृषि फर्मलाई लिन सकिन्छ । फलफुल तथा तरकारीका बेर्ना उत्पादन गर्ने कृषकलाई तालिम दिएर व्यवसायमा लाग्न प्रेरित गर्छौं । व्यवसायमा लाग्न प्रेरित गर्ने भएकाले नमुना कृषि फर्म भनेका हौं ।
सहकारी पसल पनि हामीले संचालन गरेका छौं । झापामा ८ वटा पसल संचालन गरिरहेका छौं । अति आवश्यक सामान बिक्री गर्ने गरी पसल संचालन गरेका छौं । यस आर्थिक वर्षभरीमा १५ वटा सहकारी पसल पुर्याउने लक्ष्य छ । चिया कारखाना पनि संचालनमा ल्याएका छौं । आगामी चैत÷वैशाखसम्ममा अर्थोडक्स र ग्रिन टी उत्पादन गरी आप्mनै ब्राण्डमा बजारमा ल्याउने गरी तयारी गरिरहेका छौं । ५ वटै व्यवसायमा गरेर करिव ७ सय ७५ जनाले प्रत्यक्ष रोजगारी पाएको अवस्था छ ।
कोरोना महामारीको समय छ, कसरी सेवा प्रवाह गरिरहनु भएको छ ?
कोरोना महामारीले सदस्य र संस्था दुवै पक्षलाई संकट सृजना गर्यो । संस्था बचाउन र सदस्यलाई प्रदान गर्ने सेवा सुविधा तथा राहतका लागि विभिन्न उपाय अवलम्वन गर्यौं । स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गरि नियमित रुपमा कार्यालय संचालन गरिरहेका छौं । सेवालाई निरन्तरता दिइरहेका छौं । चुनौतिका विच पनि सहकारी पसल, डेरी व्यवसाय, कृषी फार्म, बैकिङ व्यवसाय जस्ता व्यवसाय सदस्यको आवश्यकतालाई ध्यान दिदै संचालन ग¥यौं र गरिरहेका छौं ।
कोरोना महामारीले असहज परिस्थिति सृजना गरेसँगै अप्ठ्यारोमा परेका सदस्यका लागि के कस्ता कार्यक्रम ल्याउनुभयो ?
संस्थामा सदस्य भएका र विहान बेलुकाको गर्जो टार्न अप्ठ्यारो परेका सदस्यलाई तत्कालको अप्ठ्यारो टार्नको लागि विना ब्याज बिना धितो प्रति सदस्य ५ हजार रुपैयाँका दरले सापटी रकम उपलब्ध गरायौं । यस अन्तर्गत करिव ४६ लाख रुपैयाँ सापटी वितरण गर्यौं । कतिपयले तिर्न पनि शुरु गरिसक्नुभएको छ । सदस्यहरुले लिएको कर्जामा व्याज बुझाउन समस्या भएको कुरालाई ध्यान दिनै असार महिनाको कर्जामा पाकेको ब्याजमा १० प्रतिशत छुट दिने निर्णय गर्यौं । लकडाउनको अविधमा पैसा तिर्न नसक्ने सदस्यको भाका स्वतह बढ्ने गरी समयमा बुझाउन नसकेमा हर्जना नलाग्ने गरि समय एक्स्टेन्सन गरेका छौं । कोरोना अवधिभरी हर्जना नलाग्ने निर्णय गरेका छौं ।
सहकारीले सामाजिक उत्तरदायित्व कसरी बहन गरिरहेको छ ?
सामाजिक उत्तरदायित्व अन्तर्गत झापा जिल्लामा भएका १५ वटा पालिकालाई प्रति पालिका करिव ३४ लाख रुपैयाँ बराबरको चामल उपलब्ध गरायौं । पालिका मार्फत स्थानीयलाई वितरण भयो । राष्ट्रिय सहकारी महासंघ मार्फत प्रधानमन्त्री राहत कोषमा २ लाख रुपैयाँ जम्मा गर्यौं ।
सामाजिक उत्तरदायित्वको क्षेत्रमा निरन्तर लागिरहेका छौं । संस्थामा आवद्ध ७० वर्ष उमेर पुरा गर्नुभएका ज्येष्ठ नागरिकलाई प्रत्येक वर्ष ५ हजार रुपैयाँ नगद सहित सम्मान गर्छौं । सदस्यको परिवारमा बच्चा जन्मिएमा सुत्केरी भेटघाट कार्यक्रम, कसैको मृत्यु भएमा राहत सुविधा लिएर जान्छौं । यस अन्तर्गत ७५ हजार रुपैयाँसम्म राहत दिन सकिने व्यवस्था छ । विद्यालयस्तरमा गएर बाल बालिकालाई बचत गर्न सिकाउने उद्देश्यले विद्यालयस्तरमा क्लब गठन गरेका छौं । झापा जिल्लामा ५० भन्दा धेरै विद्यालयमा क्लब गठन भएका छन् । यसलाई पनि निरन्तरता दिने योजना बनाएका छौं ।
सहकारीका भावी योजना के छन् ?
‘भिजन २०८०’ भनेर स्ट्रयाटिजी विजनेश प्लान २०८० सम्मको योजना बनाएका छौं । बहुव्यवसाय भएको नाताले व्यवसाय विस्तार गर्दै लैजानेछौं । अहिले ५ वटा व्यवसाय छन् । आगामी दिनमा शैक्षिक संस्था संचालन गर्ने गरी योजना बनाएका छौं । शिक्षा ऐनले नदिएका कारण अहिले रोकिएका छौं । स्वास्थ्यको क्षेत्रमा प्राथमिक तथा आधारभूत तहको सेवा उपलब्ध गराउने गरि कार्यक्रम संचालन गर्ने तथा अन्य विभिन्न प्रकारका व्यवसाय पनि संचालन गर्ने, ट्रेडिङ बिजनेश र इन्डष्ट्रीमा पनि लाग्ने योजना बनाएका छौं ।
राष्ट्रिय सहकारी बैंकको लेखा सुपरीवेक्षण समितिको संयोजक पनि हुनुहुन्छ, समग्र नेपालको सहकारी क्षेत्रलाई कसरी लिनुहुन्छ ?
नेपालको अर्थतन्त्रका ३ खम्वा मध्य सहकारीलाई एक खम्बाको रुपमा लिइन्छ । यो संवैधानिक रुपमा पनि स्वीकारोक्ति हो । विश्वको इतिहासमा हेर्ने हो भने यसरी स्वीकार गरेको अन्त पाइँदैन । नेपालको सहकारी आन्दोलनका लगि यो गर्व को विषय हो । तर जसरी ३ खम्बा मध्य एक खम्बाको रुपमा सहकारीलाई लिएका छौं व्यवहारमा यस्तो देखिदैन । कतिपय ऐन कानुन सहकारीमैत्री छैनन् । अहिले भइरहेका कानुन मध्य ४७ वटा कानुनले सहकारीलाई चिन्दैनन् । त्यस्ता कानुनलाई संशोधन र परिमार्जन गर्नुपर्छ । कानुनमा उल्लेख गरेर मात्र नभई व्यवहारमा पनि सहकारी क्षेत्रको प्रवद्र्धनमा सरकार लाग्नु आवश्यक छ ।
नेपालमा गरिवी निवारणमा सहकारीको उपस्थितिले कस्तो प्रभाव पारेको छ ?
नेपालको गरीबी निवारणको लागि सहकारी सशक्त माध्यम बन्न सक्छ । जुन क्षेत्रमा सहकारीको राम्रो उपस्थिति छ त्यहाँ गरीबी घटेको छ । सहकारीको उपस्थिति पातलो भएको ठाउँमा गरीबी बढेको छ । उदाहरणकोे लागि कर्णाली प्रदेश अथवा २ नम्वर प्रदेशमा सहकारीको उपस्थिति कम छ । गरीबी धेरै छ । १ नम्वर प्रदेश तथा बागमती प्रदेशमा सहकारीको उपस्थिति बाक्लो छ, त्यहाँ गरीबी घटेको छ । सहकारीलाई सशक्त रुपमा अगाडि बढाउने हो भने समृद्ध नेपाल सुखी नेपालीको परिकल्पनालाई साकार पार्न सक्छौं । यसमा सहकारीको महत्वपूर्ण योगदान हुन सक्छ ।
कतिपय सहकारी निजी स्वार्थको लागि खोलिएको पनि पाइन्छ, के भन्नुहुन्छ ?
सहकारी अभियन्ताले आफ्नो निजी स्वार्थको लागि सहकारी संचालन गर्नुहुदैंन । समुदायको आवश्यकता परिपूर्ति गर्ने र सदस्यको जीवनस्तर उकास्ने उद्देश्यका साथ सहकारी संचालन गर्नुपर्छ ।
Comments are closed.