गृहलक्ष्मीका धर्मराज पोउवा संघका ‘हेभी वेट’ उम्मेदवार ! (अन्तर्वार्तासहित)

पोखरा । पोखराको लेखनाथमा गृहलक्ष्मी ग्यास उद्योग सञ्चालन गरिरहेका धर्मराज बर्तौलाले पर्यटन क्षेत्रमा पनि लगानी विस्तार गरिसकेका छन् । हेली एयर नेपालमार्फत अल्ट्रालाइट सञ्चालन गरी आन्तरिक तथा बाह्य पर्यटकलाई पर्यटकीय नगरी पोखराको आकाशमा उडाउँदै पोखरा साइडसिन गराइरहेका छन् उनले ।

लामो समयदेखि व्यावसायिक यात्रामा निरन्तर सक्रिय रहेका बर्तौलालाई सामाजिक क्षेत्रमा पनि त्यतिकै रुची छ । व्यावसायिक हकहितका क्षेत्रमा काम गर्ने तिब्र इच्छाकै कारण उनी पोखरा उद्योग वाणिज्य संघमा प्रवेशका लागि चुनावी अभियानमा होमिएका छन् । पुस २४ र २५ गते हुने संघको ३३औं महाधिवेशनमा उनले उपमहासचिव पदमा उम्मेदवारी दिएका छन् । कतिपयले उनलाई ‘हेभी वेट’ उम्मेदवार र भविष्यको अध्यक्षका रुपमा समेत व्याख्या गर्ने गरेका छन् ।

यसैक्रममा उपमहासचिवमा उम्मेदवारी दिनुका कारणबारे बर्तौलासँग आर्थिक आवाजले गरेको संक्षिप्त कुराकानी यहाँ प्रस्तुत गरेका छौंः

पोखरा उद्योग वाणिज्य संघको उपमहासचिवमा तपाईंको उम्मेदवारी किन ?
२ दशकदेखि पोखरालाई निहालेर हेरिरहेको छु । क्रमिक रुपमा व्यवसाय बिस्तार भइरहेको छ । धेरै सामाजिक संघसंस्थामा आवद्ध छु । यससँगै व्यावसायिक संस्थालाई पनि समय दिनुपर्छ भनेर उम्मेदवारी दिएको हुँ । पोखरा उद्योग वाणिज्य संघको बिगत २० वर्षको जुन अस्तित्व थियो अहिले त्यस्तो छैन । पहिलेको अस्तित्व कायम गर्न सक्छु भनेर नै निस्वार्थ भावनाले काम गर्नुपर्छ भनेर उम्मेदवारी दिएको हुँ ।

चुनाव चित्नेमा विश्वस्त हुनुहुन्छ ?

म कर्ममा विश्वास गर्ने मान्छे हुँ । कर्ममा विश्वास गर्ने र निरन्तराता दिने मानिस पक्कै पनि सफल हुन्छ भन्ने मलाई लाग्छ । कर्म गर्ने मानिसले फलको आशा पनि गर्दैन । स्वच्छ र सबल तरिकाले र व्यवसायीको हकहितको लागि काम गर्न नै मलाई पोखरा उद्योग वाणिज्य संघमा जाने इच्छा लागेको हो ।

व्यवसायीहरुसँग कत्तिको परिचित छु भन्ने लाग्छ यहाँलाई ?

म ग्यास कम्पनीको अध्यक्ष पनि हो । बिगतदेखि नै म सबैसँग नजिक छु । २०७२ सालको नाकाबन्दीमा होस् या लकडाउनको समय जस्तोसुकै अप्ठ्यारो परिस्थितिमा पनि मैले आफूले सक्दो सहयोग गरेको छु । सबैको चुलो बाल्न सहयोग गरेको छु । समस्यामा पर्दा सबैलाई सहयोग गर्नुपर्छ भन्ने मेरो मन्यता हो । म पोखराका सम्पूर्ण उद्योगी व्यवसायीसँग गृहलक्ष्मी ग्यासबाट परिचित छु । पछिल्लो समय हेलि एयर नेपालमार्फत पर्यटन क्षेत्रमा पनि जोडिएको छु ।

पोखराको निजी क्षेत्रले भोग्नुपरेका समस्यालाई कसरी हेर्नुभएको छ ?

पोखरामा धेरै समस्या छन् । बजार क्षेत्रमा पार्किङको समस्या व्यापक छ । सडक साँधुरा छन् । दमकल तथा एम्बुलेन्स पनि जान नसक्ने ठाउँ छन् । यस विषयमा उद्योग वाणिज्य संघले पहल गरेको जस्तो मलाई लाग्दैन । यसलाई कसरी व्यवस्थित बनाउन सकिन्छ भन्ने तिर सोच्नु आवश्यक छ । सडकको छेउमा पसल हुन्छ पार्किङ हुँदैन । गाडी पार्किङ गर्नै नपाएपछि ग्राहक पनि आउँदैनन् । ट्राफिक व्यवस्थापन तथा समस्या समाधान गर्नेतर्फ उद्योग वाणिज्य संघ लाग्नुपर्छ ।

पर्यटनका सन्दर्भमा के भन्नुहुन्छ ?

पोखरामा पर्यटनको प्रशस्त सम्भावना छन् । टुरिजम हवका रुपमा पोखरालाई हेरिन्छ । संसारभरका मानिसको रोजाईमा पोखरा पर्छ । एकपटक आएका पर्यटक अर्कोपटक आउदा उनीहरुलाई नयाँपन दिन सक्नुपर्छ । यस्ता कुराको खोजी गर्नसक्छु भन्ने लाग्छ । त्यसकारण उम्मेदवारी दिएको हुँ । पोखरमा गर्नुपर्ने काम धेरै छन् ।

कोरोनाका कारण निजी क्षेत्रले भोग्नुपरेका समस्याप्रति यहाँको भनाई के छ ?

कोरोना महामारीले विश्व नै भयभित भएको र अर्थतन्त्र खस्किएको अवस्था छ । यस्तो परिस्थितिमा व्यवसायी पनि मारमा छौं । भाडा तिर्न धेरै गाह्रो छ । व्यवसाय नचलेसँगै परिवार पाल्न पनि गाह्रो भएको अवस्था छ । सम्वन्धित क्षेत्रबाट आवाज आउनुपर्छ सरकारलाई घच्घच्याउनको लागि । सरकारले पनि केही गरेको अवस्था छैन । सरकारले व्यवसायीको हितमा काम गर्नु आवश्यक छ ।

अन्त्यमा के भन्नुहुन्छ ?

निर्वाचनमा जानु प्रजातान्त्रिक प्रक्रिया मात्र हो । नतिजा आएपछि जित्ने मात्तिनु हुँदैन र हार्ने पनि आत्तिनु हुँदैन । एक आपसमा सौहाद्रताका साथ सबै मिलेर काम गर्नुपर्छ । खुट्टा तान्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ । पोखरा उद्योग वाणिज्य संघमा आबद्ध आम उद्योगी व्यवसायीले आफ्नो विवेक प्रयोग गरी दिएको मतलाई स्वीकार गरी यहाँहरुकै हकहितमा निरन्तर खटिने प्रतिबद्धता व्यक्त गर्दछु ।

You might also like

Comments are closed.