बुटवलमा थ्रिस्टार स्तरीय ‘होटल दा फ्लेमिंगो’ खुल्दै

बुटवल । आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य बन्दै गइरहेको बुटवलमा थ्रि स्टार सरहको सेवा सुविधा प्रदान गर्ने गरी ‘होटल दा फ्लेमिंगो’ सञ्चालनमा आउने भएको छ । युवा व्यवसायी दिलीप गौचन र श्याम शेरचनले बुटवलको योगीकुटीमा होटल सञ्चालनमा ल्याउन लागेका हुन् ।

फागुन अन्तिम साताबाट होटल सञ्चालनमा आउने सञ्चालक दिलीप गौचनले जानकारी दिए । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी होटल सञ्चालनमा ल्याउन लागिएको उनले बताए । होटलमा स्विट, जुनियर स्विट, सुपर डिलक्स र डिलक्स गरी चार क्याटागोरीका ५१ वटा रुम छन् ।

करिब ६ रोपनी जग्गामा निर्माण भएको होटलमा ४ सय जना क्षमताको एउटा बैंक्युट हल छ भने २ वटा कन्फ्रेन्स हल छन् । कन्फ्रेन्स हल सय जना क्षमताको र ३० जना क्षमताको रहेको गौचनले जानकारी दिए । होटलमा स्विमिङ पुल, जिम, स्पा, साउना, स्टिम लगायतको सेवा उपलब्ध हुन्छ । होटलमा पर्याप्त पार्किङको सुविधा उपलब्ध हुनेछ ।

होटलमा लाफेवा रेष्टुरेन्टमा ७० जनाको क्षमता रहनेछ भने क्याफेट्वान्टी फोरमा कफी, बेकरी आइटमको सुविधा उपलब्ध हुनेछ । भर्टिगो रुफटप बारमा ४० जना क्षमता रहनेछ । फागुन २७ गते शिवरात्रीको दिनबाट होटलको प्रि ओपनिङ गर्ने तयारी भइरहेको गौचनले आर्थिक आवाजलाई जानकारी दिए । ‘प्रिओपनिङ भएको केही समयपछि ग्राण्ड ओपनिङ गर्नेछौं,’ उनले भने ।

सुरुमा ५० प्रतिशत कर्मचारीबाट होटल सञ्चालनमा ल्याउने तयारीमा रहेको उनले बताए । सुरुमा करिब ४० जनाले रोजगारी पाउनेछन् । सम्पूर्ण कर्मचारी स्थानीय राखिने उनले बताए । ‘होटलमा आन्तरिक तथा बाह्य पर्यटकलाई अन्तर्राष्ट्रियस्तरको सेवा सुविधा प्रदान गर्नेछौं,’ गौचनले भने, ‘थ्रि स्टार होटलमा पाउने सम्पूर्ण सुविधा हामीले प्रदान गर्नेछौं ।’

रुमको एक रातको ४ हजार रुपैयाँदेखि १२ हजार रुपैयाँसम्म लिने होटलको तयारी छ । पछिल्लो समय बुटवल टुरिजम हव बन्दै गइरहेको सन्दर्भमा पर्यटन क्षेत्रमा लगानी गर्नुपर्छ भन्ने सोचबाट होटलमा लगानी गरेको सञ्चालक गौचन बताउँछन् । अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणमा रहेको र पर्यटन वर्ष २०२० मनाउने तयारी भइरहँदा गौचनले होटल निर्माण सुरु गरेका थिए । गत साउन÷भदौमै होटल सञ्चालनमा ल्याउने तयारी भएपनि विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको कारण होटल ढिलो भएको उनले बताए ।

You might also like

Comments are closed.