परोपकारी कामका लागि ५५ लाख, शिवराजले दिए १० लाख

लेखनाथ । परोपकार समन्वय संस्था कास्कीले शव बाहन खरिदका लागि करिब ५५ लाख रुपैयाँ संकलन गरेको छ । कोरोना महामारी सुरु भएसँगै राहत संकलन र वितरण गर्न संस्था स्थापना भएको थियो । कास्की जिल्लामा शवबाहनको आवश्यकता महसुस गरी संस्थाले यो अभियानसमेत अगाडि बढायो ।

२०७७ भदौ भदौ २२ गते स्थापना भएको परोपकार समन्वय समितिले विपत व्यवस्थापनमा सहयोग पुग्ने गरी अगाडि सारेको आर्थिक सहयोग संकलन अभियान अन्तर्गत १३ औं श्रृखलासम्म आइपुग्दा करिव ५५ लाख संकलन भएको हो ।

पहिलो चरणमा नागरिक परोपकार समन्वय संस्था कास्कीले शववाहन खरिदका लागि सञ्चालन गरेको अर्थ संकलन अभियानको आइतवार पोखरा ३० को शिसुवामा आयोजित कार्यक्रममा स्थानीय समाजसेवी शिवराज न्यौपानेले १० लाख ५२ हजार रुपियाँ सहयोग गरे । आइतबार मात्र करिव १५ लाख रुपैयाँ संकलन भएको अध्यक्ष राजेन्द्र ओझाले जानकारी दिए ।
कार्यक्रममा बोल्दै पूर्व स्वास्थ्यमन्त्री खगराज आधिकारीले मानिसलाई बाँचुञ्जेल जीवनका विभिन्न कालखण्डमा सम्मान गरेजस्तै मृत्यूपर्यन्त पनि सम्मानजनक अन्त्येष्टि गर्नु आवश्यकता, अधिकार र बाँच्नेहरुका लागि नैतिकता भएको बताए । रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले भौतिक विकासमात्र विकास नभई मानव संसाधनको विकास पनि विकासको अभिन्न अंग भएको बताए ।
लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकाल, सहयोगदाता शिवराज न्यौपाने, भरतराज न्यौपाने, नेपाली काँग्रेसका नेता राजेन्द्रमणि लामिछाने, पोखरा महानगरपालिका वडा नं ३० का वडाअध्यक्ष श्रीराम पोखरेल लगायतले उक्त अवसरमा बोलेका थिए ।
जिल्ला भित्र शव वाहनको अभावमा सर्वसाधारणहरुले दुःख पाउने गरेको र कोरोना महामारीका कारण उक्त समस्या झनै जटिल बन्दै गएकाले शववाहन खरिद गर्न अभियान थालिएको अध्यक्ष राजेन्द्र ओझाले जानकारी दिए । अभियान मार्फत १ करोड रुपैंया संकलन गर्ने संस्थाको लक्ष्य रहेको र उक्त रकम मध्ये ४० लाख शववाहन गरिद गर्न खर्च गरिने र ६० लाख शववाहन सञ्चालनका लागि कोषको स्थापना गरिने ओझाले जानकारी दिए ।
संस्थाका आर्थिक उप–समितिका संयोजक उपेन्द्रराज सुवेदी राजुले आर्थिक गतिविधिका बारेमा जानकारी दिएइका पतइ । कार्यक्रममा उपाध्यक्ष चिरञ्जिवी तिवारीले धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रमको सञ्चालन संस्थाका सचिव रामराज अधिकारीले गरेका थिए ।

You might also like

Comments are closed.