काठमाडौं । आग्रह अर्याल र सुनिम मैनाली दुवै उमेरले २५ पुगेका छन् । उनीहरुको मित्रताले १२ वर्षमा पाइला टेकेको छ । आग्रह पोखराको लेकसाइडमा होटल सञ्चालन गर्छन् । सुनिम नेपालको व्यावसायिक घराना लक्ष्मी समूहमा काम गर्थे । दुई साथी मिलेर संयुक्त व्यवसाय गर्ने उनीहरुको सोच पहिल्यैदेखि थियो । जुन सोचलाई उनीहरुले व्यवहारिक रुपमै सार्थक बनाइसकेका छन् । यसैको फलस्वरुप काठमाडौंको डिल्लीबजारमा जन्मिएको छ ‘१२ थरी मःम रेष्टुरेन्ट’ । रेष्टुरेन्टको शनिबार औपचारिक उद्घाटन भएको छ ।
मित्रताको १२ वर्षमा उनीहरु संयुक्त व्यवसायमा होमिए । रेष्टुरेन्टको नाम पनि उनीहरुले १२ःथरी नै राखेका छन् । जहाँ १२ प्रकारका मःमको स्वाद लिन सकिन्छ । कोदो, फापर, ग्रिन, स्टिम, झोल, चिल्ली, मसरुम, चिज मःमको स्वाद यहाँका विशेषता हुन् । मःमः बोलोनिज, स्पेसल झोल मःम, गुन्द्रुकको झोल मःम र तामाको झोल मःमको स्वाद पनि १२ थरी रेष्टुरेन्टमा लिन सकिन्छ ।
एक पटकमा २६ जनाले रेष्टुरेन्टमा बसेर खान मिल्ने व्यवस्था गरिएको छ । अर्डर गर्ने ग्राहकलाई होम डेलिभरीको सुविधा रहेको सञ्चालक अर्यालले बताए । ‘१२ थरी मःमलाई ब्राण्डका रुपमा स्थापित गर्ने हाम्रो सोच छ,’ उनले भने, ‘छिट्टै हामीले रेष्टुरेन्टको आउटलेट विस्तार गर्नेछौं ।’ रेष्टुरेन्टको आउटलेट पनि १२ ठाउँमा नै विस्तार गर्ने लक्ष्य रहेको सञ्चालक मैनालीले बताए । रेष्टुरेन्टको साइड डिसमा चिकेन विन्स, फ्रेन्च फ्राइ र सुप अफ द डे रहेको मैनालीले जानकारी दिए ।
रेष्टुरेन्टका सञ्चालकहरु मात्रै होइन काम गर्ने कर्मचारी पनि युवा नै छन् । प्राय कर्मचारी २५ वर्ष वरपरकै छन् । कर्मचारीहरु युवा भएपनि दक्ष तथा अनुभवी रहेको सञ्चालक अर्यालले बताए । ‘सफा तथा पारिवारिक वातावरणमा सेवाग्राहीलाई सेवा प्रदान गर्नेछौं,’ उनले भने ।







Comments are closed.