पोखरा । कोरोना महामारीको दोस्रो भेरियन्टका कारण जनजीवन निकै प्रभावित बनिरहेको जनाउँदै सरकारबाट यथाशिघ्र खोप व्यवस्थ गरेर नागरिक को जिऊ ज्यान बचाउन पोखरा पर्यटन परिषद्ले सरकारलाई ध्यानाकर्षण गराएको छ ।
परिषद् एक विज्ञप्ति जारी गर्दै अहिलेको अवस्थामा सरकारले नागरिकको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर कदम चाल्न आग्रह गरेको हो । विज्ञप्तिमा भनिएको छ “दिनप्रतिदिन बढ्दो सङ्क्रमीतको संख्या र सङक्रमणका कारण मृत्यु हुनेको ग्राफ उकालो लागिरहेको छ । यस अघि दुई चरणसम्म कोभिडबिरुद्धको राष्ट्रिय खोप कार्यक्रमले सर्वसाधरणमा आत्मबल बढाएको थियो तर अहिले खोप आयात र वितरणमा समस्या देखिँदा सर्वसाधारणमा निराशा छाउँदै गएको छ । ”
महामारीको यो संकटको अवस्थामा राज्यको पहिलो दायित्व नागरिकको जीऊ ज्यानको रक्षा भएको उल्लेख गर्दै सरकारले खोपको व्यवस्था गरेर नागरिकको बाँच्न पाउने अधिकारको ग्यारेन्टी गर्न परिषद्को माग छ ।
विज्ञप्तिमा नेतृत्व आफू खोप लगाएर सुरक्षित भएपछि नागरिकको स्वास्थ्य प्रति गम्भिर नभएको र जिम्मेवार नेतृत्व व्यक्तिगत आर्थिक लाभ तर्फमात्र सोचेर बस्दा खोप खरीद गर्ने प्रक्रियामा सरकारको मौनताले नागरिकमा उदासिनता छाएको उल्लेख गरिएको छ । “स्वास्थ्य जस्तो संवेदनशील कुरामा सरकार कसरी मौन बस्न सक्छ ? यसले हामीलाई निकै दुःख लागेको छ ।” परिषद् सरकारलाई खोप उत्पादक कम्पनी र मुलुकसँग कुटनीतिक पहल गरेर यथासक्य छिटो खोप उपलब्ध गराउन तर्फ सरकारको ध्यानकार्षण गराएको छ ।
त्यसैगरी परिषद्ले महामारीले पर्यटन क्षेत्रलाई प्रत्यक्ष प्रभाव पारेको जनाउँदै पर्यटन क्षेत्रलाई सुरक्षित राख्न यस क्षेत्रका पर्यटन व्यवसायी कर्मचारी र मजदुरलाई खोप अनिवार्य लगाउन आवश्यकता रहेको जनाएको छ । सरकारले पर्यटन क्षेत्रलाई छिटो भन्दा छिटो खोप व्यवस्था गर्न आग्रह गर्दै यदि सरकराले विलम्ब गरेमा विकल्पमा आफूहरुले नै खोप ल्याउन तयार रहेको पनि उल्लेख गरेको छ । “पर्यटन क्षेत्र सुरक्षित नभएसम्म देशको अर्थतन्त्र पनि कमजोर हुँदै जाने निश्चित छ । हामी चाहान्छौ सरकारबाटै यस कार्यलाई छिटो भन्दा छिटो सम्बोधन गरियोस् ।” विज्ञप्तिमा भनिएको छ “सरकारले यस कार्यमा विलम्ब गर्छ भने सरकारसँग पोखरा पर्यटन परिषद् आग्रह गर्दछ, ‘हामी हाम्रो पहलमा पर्यटन व्यवसायी, कर्मचारी र यस सम्बद्ध मजदुरहरुका लागि निजी प्रयास र खर्चबाट खोप आयात गरेर लगाउने व्यवस्था मिलाउँछौं । यसमा सरकारले समन्वय र सहयोग मात्र गरिदिओस् ।”
निजी क्षेत्रलाई विश्वासमा लिएर सरकारले खोप आयातमा कुटनीतिक पहल गर्ने हो भने मुलुकमा छिटो खोप आयात भै नागरिकलाई लगाउने वातावरण मिल्ने देखिएकाले यथाशिघ्र यसमा ध्यान दिन पनि परिषद्दे जोडदार माग गरेको छ ।
Comments are closed.