म राजनीतिमा लाग्न चाहन्छु … !

कविन्द्र बुर्लाकोटी

गत १५, १६ दिनमा गण्डकी र लुम्बिनी प्रदेशसहित संघीय राजधानी काठमाडौंमा भएको गतिविधि हेर्दा मलाई पनि राजनीतिमा लागुँ की जस्तो लाग्न थालेको छ । त्यो पनि नेकपा एमाले, जो केपी ओलीले अध्यक्षता गर्नुभएको छ त्यो पार्टीमा । यहाँहरुकै वरिपरी रहेर राजनीति गर्न पाए केही अर्थ रहन्थ्यो कि, केहीले राजनीति गर्छ भनेर चिन्दथे की ?

अरुको राजनीति त के राजनीति ! न खेल्न जान्ने, न अथ्र्याउन जान्ने र फुटवलका पेलेले जस्तो छल्ने, कताबाट बल घुमाउने, कसलाई कहाँ राख्ने, अर्को पक्षको खेलाडीलाई कसरी लछार्ने, कुन खेलाडी कुदायो भने गोल हुन्छ भन्ने पनि नजान्ने । फुटवल र राजनीतिमा चाँही अलिक फरक हुने रहेछ, फुटबलको नियम सबैलाई उस्तै, जहिले उस्तै । राजनीतिमा ओहोदामा हुँदा राति एक्लै गोल गर्न मिल्ने, विहान अरुलाई १० मिनेट दिने, बल खोज्दैमा १० मिनेट चैट । ओहोदामा हुँदा अध्यादेश ल्याएर नियम परिवर्तन गर्न मिल्ने, परिवर्तन भएको नियमानुसार खेलाडी ११ लाई बढाएर ११० गर्न मिल्ने । ओहोदामा हुँदा हेलिकप्टर चढ्न मिल्ने, विल खोज्नेलाई ब्यापारीको भन्न मिल्ने, त्यहि व्यापारीलाई राजश्व अनुसन्धान लगाइदिन मिल्ने ।

jutta mela

अझै रेफ्रिमा आफ्नै मान्छे हुँदा जहिले भन्यो, त्यही समयमा सिठी बजाइदिने, रातो, पँहेलो कार्ड देखाइदिने । जे जसो गरे पनि लगभग हुने । भए गरेको कामा अदालत गएर बदर भइ हाल्यो भने अदालतको कुरा मान्छौं भन्दा भै गो । सरकारी जग्गा नै नामसारी गर्न भ्याएको भए पनि फिर्ता गर्दिए भै गो । लोकतन्त्रमा मान्छेको टाउको गन्ने मात्र होइन ६०, ७० प्रतिशत पैसा, पावरको पनि मतभार राख्ने व्यवस्था गर्नुपर्छ अब । मलाई राजनीतिमा छिराउनु भयो भने, त्यसको वकालत गर्ने छु । विपक्षीहरु जति राम्रा सिद्धान्त र निष्ठाको राजनीति गर्ने भए पनि मेरो कलम उनै विपक्षीहरु विरुद्ध चलाउने छु ।

बहुमत पाएर एक पटक सत्तामा टेके पछि, त्यहाँ बसिरहने र नफुत्कने अनेक उपाय हुने रछन्, विपक्षीले नसोचेको समयमा राजीनामा दिने, विपक्षीले नसोचेको समयमा विश्वासको मत लिने, संसद हराएका बेला मतदान गर्ने आदि–आदि । त्यसरी गर्न मेरो पनि जुक्ति बुद्धि लगाउने छु, म छिर्न पाए । अहिलेसम्म त निष्ठाको राजनीति गरेर परिवार पाल्न गाह्रो होला भनेर अघि नबढेको हो । १२, १५ दिनमा सिक्दै छु राजनीति कसरी गर्ने, सेटिङ के हो, कहाँ हान्दा के खुस्किन्छ, कसरी दौडा दौड गराउने भनि ।

अहिलेसम्म कुनै अभियोग, मुद्धा मामिला लागेको चाँहि छैन । १, २ दिन भयो लेख्न थालेको । यहि लेखेको कारणले कसैले खुस्कायो भने भन्न सक्दिन । त्यसैले अहिले मन्त्री नै हुने योग्यता त पुग्दैन जस्तो लाग्छ, सदस्यलाई त पुग्ला ! लौन, उपयुक्त समय मिलाएर रातो खादाको साथ पार्टी प्रवेश व्यवस्था मिलाइदिनुस् । मिलेर राजनीति गरौं । धन्यवाद ।

You might also like

Comments are closed.