‘राहत प्याकेज नल्याइए उद्योगहरु लिलामीमा जान्छन्’

रामहिरा पाठक, अध्यक्ष, नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघ

कोरोना महामारीको पहिलो चरणसँगै अघिल्लो वर्ष लागु गरिएको लकडाउनले नेपालको उद्योग क्षेत्र धरासायी बने । लकडाउन खुलेसँगै क्रमशः लय समात्दै गरेका उद्योगहरु अहिले कोरोना महामारीको दोस्रो लहरसँगै लागु गरिएका निशेधाज्ञाको मारमा परेका छन् । खाद्यान्न र स्वास्थ्यसँग सम्बन्धित बाहेक प्राय सबै उद्योगहरु यतिबेला बन्द अवस्थामा छन् । यसैक्रममा कोरोना महामारी र निशेधाज्ञाका कारण नेपालका उद्योग क्षेत्रले व्यहोर्नुपरेको क्षति लगायत विविध विषयमा केन्द्रित रहेर नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघका अध्यक्ष रामहिरा पाठकसँग आर्थिक आवाजले गरेको कुराकानीः

कोरोना महामारीले औद्यागिक क्षेत्रमा कस्तो असर पारेको छ ?
कोरोना महामारीको पहिलो लहरमा थला परेको औद्योगिक क्षेत्र उठ्दै गरेको अवस्था थियो । बैंकको ब्याज तथा किस्ता तिर्ने लाइनमा उद्योग आइपुगेका थिए । मजदुर पनि काममा आउन थालेका थिए । काम सहज हुन लागेको अवस्था थियो । पुनः कोरोना महामारीको दोस्रो लहर शुरु भयो । यससँगै निशेधाज्ञा शुरु भयो । काम बन्द हुन थाले । पहिलो लकडाउनमा थोरै भएपनि काम चलाएका थियौं । हामीसँग कच्चापदार्थ बाँकी थियो । कच्चा पदार्थ हुँदासम्म काम गरेका थियौं । अहिले कच्चा पदार्थ पनि छैन । उत्पादन भएका सामान पनि बजारमा जान पाएनन् । यातायातको साधन नचल्दा समस्या भएको छ ।

उद्योगहरुमा काम गर्ने मजदुरहरुको अवस्था के छ ?
काम गर्ने मजदुर पनि २ किसिमका छन् । दैनिक हाजिरीमा काम गर्ने र कर्मचारी भएर बस्ने । दैनिक हाजिरी गर्ने मजदुर आउन पाएनन् । तिनको अवस्था नाजुक हुने नै भयो । उद्योग तथा कार्यालयको घरभाडा तिर्न पर्यो । कर्मचारीलाई तलब पनि दिनुपर्यो । बैंकको ब्याज पनि तिर्नुपर्यो । उद्योग धारासायी हुनुको त कुरा गर्नै परेन । उठ्नै नसक्ने अवस्था सिर्जना भइसकेको छ उद्योगहरुको ।

jutta mela

उद्योगहरु पुनः आत्मनिर्भर बन्न सक्छन् नि होइन ?

अघिल्लो लकडाउनसम्म केही उद्योग आत्मनिर्भर थिए । तर, अब खाद्यान्न र स्वास्थ्यसँग सम्बन्धित बाहेक सबै उद्योग धारासायी बनेका छन् । उद्योग धारासायी भएसँगै नेपाल कुनै पनि बस्तु तथा उत्पादनमा आत्मनिर्भर नहुने वातावरण सृजना हुने अवस्था छ । घर भाडा, कर्मचारीको तलब, बैंकको ब्याज सबै तिर्ने हो भने हामी टिक्नसक्ने अवस्था छैन । राज्यले राहत प्याकेज नल्याए कुन दिनदेखि बैंकले उद्योगहरुको लिलामी प्रक्रिया थाल्ने हो त्यो पनि थाहा छैन । अहिले भयावह अवस्था सृजना भएको छ । उद्योगहरुलाई पुनः आत्मनिर्भर हुन निकै समय लाग्न सक्छ ।

अहिले कति उद्योग प्रभावित भएका छन् ?

करिब ७० प्रतिशत भन्दा बढी उद्योग प्रभावित भएका छन् । खाद्यान्य, औषधी, ग्यास लगायत अत्यावस्यक वस्तुका उद्योगहरु अहिले पनि चलिरहेका छन् । उनीहरुले केही मजदुरहरु कटौति गरेर भएपनि सेवा दिइरहेका छन् । अन्य सबै उद्योग बन्द छन् । नेपालमा रहेका १० औद्योगिक क्षेत्रमा ८ सय उद्योग छन् । ८ सयमा करिव १ सय वटा जति उद्योग खाद्यान्य, औषधी, ग्यास, अक्सिजनसंग सम्वन्धित भएकाले ती उद्योगहरु चलेका छन् । ७ सय उद्योग बन्द छन् ।

उद्योगहरुलाई पुरानै अवस्थामा फर्काउन अब सरकारले के गर्नुपर्छ ?

सरकारले विभिन्न प्याकेज ल्याउनुपर्छ । घरभाडा छुट गराउनुपर्छ । बैंकको ब्याज नलाग्ने व्यवस्था गर्नुपर्छ । बैंकले हर्जाना, ब्याज मिनाहा गर्नुपर्यो अथवा न्युनतम प्रतिशत धान्नमात्रै ब्याज लिनुपर्यो । चल्न नसक्ने अवस्थामा पुगेका उद्योग संचालनका लागि थप कर्जा दिनुपर्छ । नेपालमा उपलब्ध हुने सामान विदेशबाट आउन रोक लगाउनुपर्छ ।

कोरोना नियन्त्रणको उपाय निशेधाज्ञा मात्रै हो ?

अहिलेको संक्रमणको दर हेर्दा अप्ठ्यारो अवस्था नै छ । कर्मचारी तथा मजदुर आउन पनि डराउनुपर्ने अवस्था छ । संक्रमणको जोखिम धेरै नै छ । संक्रमण नियन्त्रणका ५ उपाय मध्य लकडाउन जोखिम कम गर्न पाचौं उपाय हो । पहिलो खोप नै हो र राज्यले जसरी पनि ल्याउनुपर्छ । छिटो भन्दा छिटो खोप ल्याएर जनतालाई दिनुपर्छ । उद्योगधन्दा बन्द भएपछि प्रत्यक्ष तथा अप्रत्यक्ष दुवै तरिकाले ठुलो असर पर्छ । पहिलो विकल्प भनेको खोप नै हो । यससँगै सचेत तथा सजग भएर काम गर्न लगाउनुपर्छ ।

You might also like

Comments are closed.