काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमै ग्यास र खाद्यान्नमा २० प्रतिशत छुट दिने नीति सुनाए । निशेधाज्ञा लागु भएका ठाउँमा निशेधाज्ञा अवधिभर सर्वसाधरणलाई राहत स्वरुप छुट दिने भनेर ल्याइएको यो नीतिको देशभरबाट स्वागत भयो । सरकारको यही नीति अुनसार साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले २० प्रतिशत छुटमा ग्यास तथा खाद्यान्न बिक्री सुरु गरेको सूचना नै सार्वजनिक गरेका छन् ।
यो निर्णय लागु भएसँगै साल्ट ट्रेडिङको एसटिसी ब्राण्डको ग्यास काठमाडौं उपत्यकामा ११२० रुपैयाँमा नै बिक्री सुरु भइसकेको छ । सरकारले बजेट वक्तव्यमा नै सार्वजनिक गरेको यो नीतिले काठमाडौं उपत्यका बासीलाई मात्रै न्याय गरेको र देशभरका अन्य नागरिकलाई अन्याय गरेको आरोप भने लागेको छ । त्यसो त साल्ट ट्रेडिङसँग सीमित संख्यामा मात्रै सिलिण्डर रहेकाले काठमाडौंका आम उपभोक्ताहरु पनि यो निर्णयबाट लाभान्वित हुन सक्दैनन् ।
सरकारले बजेट वक्तत्व मार्फत नै ल्याएको यो नीति कसैलाई काखा र कसैलाई पाखा गर्ने खालको रहेको बताउछन् नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष सञ्जीवबहादुर कोइराला । ‘केही हजार सिलिण्डर मात्रै छुटमा दिएर देशभरका उपभोक्ता लाभान्वित हुँदैनन्,’ उनले भने ।
खाद्यान्न र ग्यासमा छुट दिने भनेर सरकारले गरेको गलत प्रचारले अहिले देशभरका उपभोक्ताले खाद्यान्न र ग्यासमा व्यवसायीसँग २० प्रतिशत छुट माग्ने गरेको कोइराला बताउँछन् । ‘छुट दिने नै भए देशभरका उपभोक्ताले पाउनुपर्छ,’ उनले भने ।
सरकारले ग्यास र खाद्यान्नमा छुट दिने नीति लिएको हो भने काठमाडौं उपत्यकामा मात्रै नभइ देशभरको बजारमा उपलब्ध हुनुपर्ने नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष दिलसुन्दर श्रेष्ठले बताए । ‘एउटा शहरका उपभोक्ताले मात्रै छुट पाउने र अन्यत्र नपाउँदा अन्याय हुन्छ,’ उनले भने ।
साल्ट ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले कम्पनीको ग्यास काठमाडौंको बजारमा मात्रै उपलब्ध रहेकाले यहीँ मात्रै छुटमा उपलब्ध गराउन सक्ने बताउँछिन् । छुटमा बिक्री हुने पिठो, चिनी, नुन, भटकासको तेल भने निशेधाज्ञा लागु भएका सबै ठाउँबाट छुटमा किन्न सकिने उनले जानकारी दिइन् ।








Comments are closed.