काठमाडौं । प्याब्सन र एनप्याब्सनका प्रिन्सिपल, शिक्षक तथा कर्मचारीले मिदासले सुरु गरेको ‘मेरो डाक्टर’ एपमार्फत अनलाइन भिडियो परामर्श सेवा निःशुल्क पाउने भएका छन् । यो सेवा एक महिनासम्म उनीहरुले निःशुल्क पाउने समझदारी भएको छ ।
समझदारी पत्रमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का अध्यक्ष टीकाराम पुरी, राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन)का अध्यक्ष ऋतुराज सापकोटा र मिदास टेक्नोलोजिज प्रा.लि.का प्रवन्ध निर्देशक छत्रहरि कार्कीले हस्ताक्षर गरेका छन् ।
कोभिड–१९ महामारीसँगैको जारी बन्दाबन्दीले हिँडडुलमा कठिनाइ भइ धेरै बिरामीहरू आफ्नो नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल वा चिकित्सकको सम्पर्कमा आउन नसकेको अवस्थालाई मध्यनजर गर्दै मिदासले यो सेवा सुरु गरेको हो । निःशुल्क सेवा पाउने समझदारीसँगै घरमै बसेका प्रिन्सिपल, शिक्षक तथा कर्मचारीहरु लाभान्वित हुने मिदासका प्रवन्ध निर्देशक कार्कीले विश्वास व्यक्त गरे ।
‘समयमै उपचार वा परामर्शबाट बन्चित हुनुपर्दा बिरामीहरूको रोग बढी च्यापिसकेको अवस्थामा पुग्ने जोखिमलाई न्यूनीकरण गर्न र बिरामीहरूको चिकित्सक वा अस्पतालसँगको सम्पर्क स्थापित गर्न यो अनलाइन भिडियो परामर्श सेवा प्रभावकारी भइरहेको छ,’ कार्कीले भने ।
नेपालका सयौं कन्सल्टेन्ट डाक्टर र कैयन अस्पताल यस एपमा उपलब्ध हुनेहुँदा जुनसुकै रोगका बिरामीहरूले जुनसुकै स्थानबाट अनलाइन भिडियो परामर्श पाउन सक्ने गरी व्यवस्था मिलाइएको उनले बताए ।
जारी कोभिड–१९, को बन्दाबन्दीको अवस्थाका अतिरिक्त सामान्य समयमा समेत विशेषज्ञ चिकित्सकहरुले यस एप मार्फत स्वास्थ्य सेवा परामर्श दिन सकिने गरी व्यवस्था मिलाइएको छ । यसबाट स्वयम् विरामीहरुको समय र पैसा दुवैको बचत भइ अस्पतालहरुमा हुने अनावश्यक भीड कम गर्न मुख्य सहयोगी हुने विश्वास कम्पनीले लिएको छ ।
विगत दुई दशकदेखि अस्पतालका सेवालाई डिजिटलाइज्ड गर्ने कार्यमा मिदासले सहयोगी भूमिका खेल्दै आएको छ । मिदासले देशभरका १ सय २० भन्दाबढी अस्पतालहरूलाई अस्पतालको व्यवस्थापन पद्वतिमा सहयोग गर्दै आइरहेको छ ।





Comments are closed.