भरत तालमा विपद् प्रतिकार्य अभ्यास

शङ्खर पहाडी/सर्लाही । सर्लाहीको बाग्मती नगरपालिकास्थित देशकै सबैभन्दा ठूलो मानवनिर्मित भरत तालमा तिन वटै सुरक्षा निकायबाट प्रतिकार्य पूर्वतयारी अभ्यास गरिएको छ । कूल ४५ फिट गहिराई रहेको सो पोखरी एक सय २१ बिगाहा क्षेत्रफलमा निर्माण गरिएको छ ।

यस वर्ष जल तथा मौसम विभाग पूर्वानुमान महाशाखाले भारी वर्षा हुने पूर्वानुमान गरेकोले त्यसको प्रतिकार्यको अभ्यास भएको जिल्ला प्रहरी कार्यालय, सर्लाहीका प्रहरी प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिनुभयो । वर्षेनी बाढी र डुबानले व्योहोर्नुपर्ने मानवीय क्षतिलाई न्यूनीकरण गर्न अभ्यासले सहयोग गर्नेछ ।

हरेक वर्ष बाँके, फुलजोर, लखनदेही र बाग्मती खोलामा आउने बाढीका कारण जिल्लाका दक्षिणी भाग जलमग्न भई र मानवीय क्षति हुने गरेको छ । दक्षिणमा रहेको भारतीय बाँध र राष्ट्रिय गौरवको आयोजना पूर्व पश्चिम रेलमार्गको बाँधका कारण जिल्लाका दर्जनौँ गाउँ डुबानमा पर्ने गरेका छन् । अभ्यास कार्यक्रमको थालनीमा प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले बाढी आउने सम्भावित खतरालाई ध्यानमा राख्दै नदीको बाँध मर्मत सम्भारको कार्य तीब्र रुपमा भइरहेको जानकारी दिए ।

पानीको निकास छिमेकी भारततिर भएकोले भारतले निर्माण गरेको बाँधमा पनि निकासको लागि लगाइएको सुलिस गेट नखोल्दा अप्राकृतिक रुपमा जिल्लाका जनतालाई त्रास हुने गरेको छ । प्रमुख जिल्ला अधिकारी तामाङले भारतसँग पनि निकासको विषयमा छलफल गर्ने बताउँदै बाढीबाट हुने क्षतिबाट जोगाउन स्थानीय प्रशासनले सक्रियरुपमा भूमिका निर्वाह गर्ने जनाए ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका जवानद्वारा शुरु गरिएको अभ्यासमा बाढीमा डुबेका व्यक्तिलाई ज्यान जोगाउने, उद्धार गरेर ल्याएर प्राथमिक उपचार गर्ने, रबर बोट, मोटर बोट प्रयोगसम्बन्धी अभ्यास गर्ने तालीम गरिएको हो । बाढीका बेला आवश्यक पर्ने सामग्रीहरु प्रयोग गर्दै संयुक्त अभ्यास सुरु गरिएको सशस्त्र प्रहरी बल १०नं। हेक्वा सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक गङ्गाराम श्रेष्ठले बताए । प्राथमिक उपचारको लागि नेपाल रेडक्रस सोसाइटीको टोली उपस्थित भएका छन् भने अस्पताल लैजान लागि एम्बुलेन्सको समेत व्यवस्था गरिएको छ ।

कार्यक्रममा बाग्मती नगरपालिकाका प्रमुख भरतकुमार थापा, प्रजिअ तामाङ, प्रहरीका प्रदेश नं. २ का प्रहरी नायब महानिरीक्षक (डिआइजी) धिरजप्रताप सिंह, प्रदेशका आठै जिल्लाका प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी उपरीक्षक, नेपाली सेनाका गुल्म पति, नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधि, स्वास्थ्यकर्मीलगायतको उपस्थिति छ । रासस

You might also like

Comments are closed.