तनहुँ । व्यास नगरपालिका–व्यास ऋषिको तपोभूमि शिव पाञ्चायन मन्दिर परिसर क्षेत्रमा महर्षि वेदव्यास ऋषिको १०८ फिट अग्लो मूर्ति निर्माणको लागि आइतबार दुईपक्षीय सम्झौता भएको छ । व्यास नगरपालिकाका तर्फबाट नगर प्रमुख बैकुण्ठ न्यौपाने, कार्यकारी अधिकृत डिल्लीराम सिग्देल र गौरी पार्वती देव एण्ड सयर/ऋषि शक्ति जेभी काठमाडौँबीच सम्झौता भएको हो ।
कुल ७१ करोड २ लाख १० हजार ८ सय ८९ रुपैया लागतमा निर्माण सम्पन्न गरिने १०८ फिट अग्लो महर्षि वेदव्यासको मुर्ति निर्माणका लागि पहिलो चरणमा भएको टेण्डर अन्तरगत टेण्डर पार्न सफल गौरी पार्वती, देव एण्ड सयर/ऋषिशक्ति जे.भि संग सम्झौता गरिएको हो ।
बोलपत्रपश्चात पहिलो चरणमा रु पाँच करोड ५० लाख ५५ हजार ६४० (मूल्यअभिवृद्धि करसहित) मा दुई तलाको मूर्ति निर्माणको लागि सम्झौता भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिग्देलले जानकारी दिए । एक वर्षमा सम्पन्न गर्ने गरी ठेक्का लगाइएको हो । व्यास पराशर क्षेत्रलाई धार्मिक पर्यटकीय केन्द्रका रुपमा लैजानको लागि व्यास नगरपालिका कार्यालय लागिपरेको छ ।
उनले भने, ‘‘काठमाडौंबाट मुक्तिनाथसम्म जाने पर्यटकहरु दमौली झरेर एक रात बस्ने गरी गन्तव्यस्थलको रुपमा विकास गर्न लागिएको हो ।’’ शिव पाञ्चायन संरक्षण समितिले व्यास नगरपालिकालाई जिम्मेवारी दिएपछि बहुवर्षीय योजनाअनुरुप क्रमशः निर्माण गर्दै लैजाने लक्ष्य रहेको नगरपालिकाले जनाएको छ ।
व्यास नगरपालिका कार्यालय र उक्त फर्मबीच भएको सम्झौताबमोजिम कार्यदिशाको मितिमा कार्य प्रारम्भ गरी तोकिएको समयमा सम्पन्न गर्नका लागि यो कार्यदिशा प्रदान गरिएको नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए ।






Comments are closed.