मोरङको कटहरिमा प्रधान कार्यालय रहेको जीवन विकास लघुवित्त वित्तीय संस्था लि.ले यही असार ११ गतेबाट सर्वसाधरणका लागि आइपिओ निश्कासन गर्दैछ । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत प्राप्त राष्ट्रियस्तरको संस्थाले प्रदेश १, २ र बागमती प्रदेशका १९ जिल्लामा १ सय ३८ वटा शाखाबाट वित्तीय सेवा प्रदान गरिरहेको छ । यसैक्रममा संस्थाको वित्तीय अवस्था लगायत विविध विषयमा केन्द्रित रहेर संस्थाका प्रमुख कार्यकारी अधिकृत संजय कुमार मण्डलसँग आर्थिक आवाजले गरेको कुराकानी :
जीवन विकास लघुवित्त वित्तीय संस्था लि.ले कहिलेदेखि वित्तीय सेवा प्रदान गरिरहेको छ ?
गैर सरकारी संस्था जीवन विकास समाजद्वारा प्रबर्धित जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत प्राप्त गरेको छ । संस्थाले राष्ट्रियस्तरको वित्तीय संस्थाको रुपमा इजाजत प्राप्त गरी २०७५ फागुन १६ गते देखि वित्तीय सेवा प्रदान गरिरहेको छ । यस वित्तीय संस्था र सल्भ लघुवित्त वित्तीय संस्था लि. धनकुटा तथा गरिबी न्युनीकरण लघुवित्त वित्तीय संस्था लि. राजविराज बीचमा मर्जर भई २०७७ भदौ २२ गतेदेखि एकीकृत कारोवार प्रारम्भ भएको हो ।
संस्थाको वित्तीय अवस्था कस्तो छ ?
अब संस्थाको जारी पुँजी ६० करोड ८४ लाख रुपैयाँ पुग्दैछ । जारी पुँजीको ३२.५० प्रतिशतले हुन आउने १९ करोड ७७ लाख ३० हजार रकम बराबरको प्रतिशेयर १०० अंकित दरको १९ लाख ७७ हजार ३ सय कित्ता साधारण सेयर यही असार ११ गतेबाट निस्कासन हुँदैछ । संस्थामा आबद्ध कुल सदस्य संख्या २ लाख ९३ हजार ४ सय ६९ छ भने ऋणि सदस्य संख्या १ लाख ९९ हजार १ सय ७६ छ । २० अर्ब १७ करोड भन्दा बढी लगानीमा रहेको ऋण छ । बचत ७ अर्ब ७२ करोड भन्दा बढी छ । प्रदेश १, २ र बागमती प्रदेशका १९ जिल्लामा १ सय ३८ वटा शाखाबाट हामीले वित्तीय सेवा प्रदान गरिरहेका छौं ।
संस्थाले के–कस्ता सेवाहरु प्रदान गरिरहेको छ ?
गरीबी रहित नेपाल निर्माणको मूल ध्येयका साथ हामी अगाडि बढेका छौं । यस वित्तीय संस्थाले ग्रामीण क्षेत्रका विपन्न परिवारको जीवनस्तरलाई माथि उठाउन विभिन्न किसिमका सेवाहरु प्रदान गर्दै आइरहेको छ । आर्थिक असमानतालाई न्युनीकरण गर्दै शहरमा उपलब्ध हुने सुविधाहरु ग्रामीण क्षेत्रसम्म विस्तार गर्ने अभिप्रायले यस वित्तीय संस्थाले विभिन्न प्रकारका वित्तीय सेवाहरु जस्तै वचत, ऋण, वीमा तथा रेमिटान्स लगायतका प्रदान गरिरहेका छौं । वित्तीय संस्थाले आफ्नो वार्षिक योजना बमोजिम सम्बन्धित निकायहरुको सहयोग तथा सहकार्यमा शिक्षा, स्वास्थ्य, कृषि, उर्जा, रोजगारी विकास लगायतका क्षेत्रमा समेत कार्य गरिरहेको छ ।
संस्थाको मुख्य लक्ष्य के छ ?
गरिब तथा विपन्न बर्गको जीवनस्तर उकास्नका लागि विशेष योगदान पुर्याउने हाम्रो लक्ष्य तथा उद्देश्य हो । हामी त्यसैमा केन्द्रित भएर लगानी गरिरहेका छौं । संस्थामा ऋण लिएर सफल व्यवसायी तथा उद्यमीहरु बनेको धेरै उदाहरण तथा सफलताका कथाहरु प्रशस्त छन् । आगामी दिनमा पनि हामी यही अभियानमा सक्रियताका साथ लाग्नेछौं । पैसा तथा ऋण लगानी गरेर मात्रै ऋणिको जीवनस्तर उकासिदैन । त्यसका लागि हामी अवारनेस कार्यक्रमलाई पनि जोड दिन्छौं । व्यवसाय आफ्नो ठाउँमा छ, त्यो भन्दा बढी हामी सामाजिक भएर काम गर्छौं ।
कोरोना महामारीको समयमा कसरी सेवा प्रदान गरिरहनुभएको छ ?
प्रविधिलाई प्रयोग गरेर कोरोना महामारीको समयमा पनि हामीले निरन्तर सेवा प्रदान गरेका छौं । नगद रहित बैंकिङ सेवाको विकास र प्रवद्र्धनका लागि वित्तीय संस्थाले सदस्यहरुलाई डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्दै ग्रामीण क्षेत्रमा सरल र सहज ढंगले वित्तीय सेवा विस्तार गरिरहेको छ । सदस्य तथा समुदायको हितलाई प्राथमिकतामा राखी समाज विकासमा सकारात्मक प्रभाव पार्ने किसिमका नविनतम सेवाहरु अध्ययन गरी समयसापेक्ष सेवा सुविधाहरु प्रदान गरिरहेको छ । यतिबेला प्रविधिको अधिकतम प्रयोग गरी हामीले सेवालाई सूचारु राखेका छौं ।
लगानीकर्तालाई कति प्रतिफल दिने उद्देश्य छ ?
अहिलेसम्म पनि हामीले बोनससमेत बाँडेका छौं । संस्थाका सबै सूचकहरु राम्रा छन् । विश्वस्त संस्थाको रुपमा काम गर्न सफल छौं । संस्था बलियो छ भन्ने प्रमाण हाम्रो ब्यालेन्ससिट नै हो । नियमानुअनुसार हामीले हाम्रा लगानीकर्तालाई आकर्षक प्रतिफलसमेत दिन सक्नेछौं ।
अन्त्यमा, के भन्न चाहुनुहुन्छ ?
यस वित्तिय संस्थामा आवद्ध भई अनुशासन, लगनशिलता र इमान्दारीपूर्वक निरन्तर रुपमा कारोवार गर्दै साथ र सहयोग प्रदान गर्ने सदस्य तथा परिवारजनप्रति हार्दिक कृतज्ञता व्यक्त गर्न चाहान्छु । नियमनकारी निकाय, सरकारी÷गैरसरकारी संस्था, सरोकारवाला निकाय, बैंक तथा वित्तीय संस्थाका पदाधिकारी, शेयरधनी, संचालक समितिका पदाधिकारी, कर्मचारी तथा शुभचिन्तक एवं आजसम्मको यात्रामा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा साथ र सहयोग गर्नुहुने सम्पूर्णप्रति हार्दिक आभार व्यक्त गर्दै विगतमा झै यस संस्थालाई सफलताका साथ अगाडि बढाउन आगामी दिनमा पनि यहाँहरुको सल्लाह, सुझाव सहित साथ र सहयोगको अपेक्षा गर्दछु ।
Comments are closed.