काठमाडौं । गत मंगलबार नेपाल धितोपत्र बोर्डले ५१ वटा कम्पनीको नाम नै प्रकाशन गरेर जोखिमयुक्त रहेको सार्वजनिक गर्यो । त्यसको प्रत्यक्ष असर सेयर बजारमा पर्यो । फलस्वरुप लगातार सेयर बजारमा गिरावट आयो । ५ दिनको अवधिमा २ सय अंकले नेप्सेमा गिरावट आएपछि धेरै लगानीकर्ता निराश बनेका थिए । विशेष गरी नयाँ र साना लगानीकर्ता अत्तालिएर ‘प्यानिक सेल’ गर्न थालेका थिए ।
लगातार घटेको बजारमा मंगलबार सुधार आएको छ । मंगलबार एकैदिन ९९.४४ अंकले नेप्से परिसूचक बढेसँगै लगानीकर्तामा पुनः उत्साह छाएको छ । मंगलबार २९१३.८५ विन्दुमा पुगेर नेप्सेपरिसूचक बन्द भएको छ । सेन्सेटिभ तर्फ पनि १६.१९ अंकले बढेर ५३६.३४ को बिन्दुमा पुगेको छ । मंगलबार सम्पूर्ण उपसूचकको सेयर मूल्य बढेको छ । नेप्से बढेपछि कारोबार रकममा भने उत्साहजनक सुधार हुन सकेको छैन । मंगलबार २ सय २५ वटा कम्पनीको १ करोड ९७ लाख ७० हजार ६ सय ३८ सेयर खरिद बिक्री हुँदा १० अर्ब २८ करोड ६२ लाख भन्दा बढीको कारोबार भएको छ ।
मंगलबार ३२ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । ङादी हाइड्रोपावर, पञ्चकन्या माइ हाइड्रोपावर, बरुण हाइड्रोपावर, अपि पावर, हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, जानकी फाइनान्स कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । गुराँस फाइनान्सको सेयर मूल्य भने ४.८३ प्रतिशतले घटेको छ ।
मंगलबार सबैभन्दा बढी कारोबार नेपाल पुनर्विमा कम्पनीको भएको छ । उक्त कम्पनीको सेयर कारोबार १ अर्ब ५० करोड भन्दा बढीको भएको छ ।
Comments are closed.