काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष (उद्योग) दिनेश श्रेष्ठले उद्योगी व्यवसायीलाई खोपमा प्राथमिकता नदिइनु दुःखद भएको बताएका छन् । खोप नपाए व्यवसाय सञ्चालन गर्न नसक्ने उद्योगी व्यवसायीहरुको गुनासो जिल्ला जिल्लाबाट आइरहेको बताउँदै श्रेष्ठले उद्योगी व्यवसायीलाई पनि खोपमा प्राथमितामा राख्नुपर्ने माग गरे ।
आर्थिक आवाजसँग कुरा गर्दै श्रेष्ठले हड्ताल तथा आन्दोलन गर्नेहरुले खोप पाउने तर विषम परिस्थितिमा पनि व्यवसाय सञ्चालन गरेर बसेका उद्योगी व्यवसायीले खोप नपाइरहेको बताए ।
‘डाक्टर, नर्स, स्वास्थ्यकर्मी, कुटनीतिक नियोगका प्रतिनिधि तथा कर्मचारी, बृद्धबृद्धा, सरकारी कर्मचारीले खोप पाइसके । ‘आपूर्ति सहज गरि अग्रस्थानमा रहेर काम गर्ने, कर तिर्ने, रोजगारी दिने, चन्दा दिने, आपत्तबिपदमा सहयोग गर्ने, तर कराउन हुन्न भन्ने सोझा व्यवसायीले खोप पाएनन्,’ उनले भने ।
रिस देखाउने, तर्साउन सक्नेले खोप पाएको तर कराउन नसक्नेले खोप नपाएको उनको गुनासो छ । अघिल्लो सरकारले जस्तै नयाँ सरकारले पनि उद्योगी व्यवसायीलाई खोपमा प्राथमिकता नदिएको भन्दै उनले दुखेसो पोखे । ‘कति कराउने ? अब कति पर्खने ?,’ उनको प्रश्न छ, ‘कि बिरोधको भाषा मात्र बुझ्ने हुन् ?’
Comments are closed.