काठमाडौं । वैज्ञानिक भाडादर कार्यान्वयन, सहुलियत कर्जा लगायतको माग गर्दै यातायात व्यवसायी आन्दोलित भएका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालको नेतृत्वमा यातायात व्यवसायीले बिहीबार काठमाडौंको रिङरोडमा सार्वजनिक सवारीको र्याली निकालेका छन् । र्यालीमा हजारौं सवारी साधन सहभागी भएको महासंघका वरिष्ठ उपाध्यक्ष भरत तिमिल्सिनाले जानकारी दिए ।
२०६५ को भाडा वैज्ञानिक नीति सवै क्षेत्रमा कार्यान्वयन गर्नुपर्ने, सहुलियतपूर्ण ब्याजदरमा ऋण लगानी, लकडाउनको अवधिको नवीकरण शुल्क छुट, सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को नियमावली २०५४ लाई अहिलेको समय सापेक्ष परिमार्जन गर्दै ऐन संशोधन तथा सडक तथा यातायात कानुन परिमार्जित हुनुपर्ने, मोटर बिमा निर्देशिका २०७३ लाई पूर्ण पालना गर्नुपर्ने लगायतका माग महासंघले गरेको छ । पुराना सवारी साधन यान्त्रिक चेकजाँचको आधारमा चल्नपाउनुपर्ने आयु तोकेर चल्न नदिने व्यवस्था हटाइनुपर्ने माग महासंघले गरेको अध्यक्ष डोलनाथ खनालले जानकारी दिए ।
महासंघका मागहरु तत्काल पुरा गर्न महासंघले सरकारलाई आग्रह गरेको छ । व्यवसायीको मागलाई व्यवास्ता गरिए थप आन्दोलन गर्न आफूहरु बाध्य हुने महासंघले चेतावनी दिएको छ । आन्दोलनकै क्रममा आगामी कार्यक्रम ९ गते समीक्षा बैठक र माग कार्यान्वयन नभए १० गते सांकेतिक रुपमा सवारी साधनका चावीहरु सरकारलाई हस्तान्तरण गरिने कार्यक्रम महासंघले तय गरेको छ ।
त्यसैगरी सरकारले लामो दुरीको भाडा बृद्धि गरेपनि कार्यान्वयन नभएको, स्थानीय स्तर र प्रदेशस्तरमा माडा समायोजन नभएको भन्दै महासंघले विरोध जनाएको छ । ‘समय सापेक्षा रुपमा सम्पूर्ण सार्वजनिक सवारीको वैज्ञानिक भाडादर लागु गर्न सरकारसँग माग गरेको छौं,’ अध्यक्ष खनालले भने ।
Comments are closed.