बतास र अटोवेज समूहले साढे ३ अर्बमा किन्यो मणिपाल हस्पिटल

सुरेन्द्र पौडेल, काठमाडौं । पोखराको मणिपाल शिक्षण अस्पताल बिक्री भएको छ ।  भारतीय समूह मणिपाल एजुकेशन एन्ड मेडिकल ग्रुपको लगानीमा सन् १९९४ बाट सञ्चालनमा आएको हस्पिटललाई नेपालका प्रतिष्ठित व्यावसायिक घराना बतास अर्गनाइजेसन र अटोवेज ग्रुपले खरिद गरेको हो ।

बतास अर्गनाइजेसन र अटोवेजको साझेदारीमा यस अगाडि पनि अटो लगायत अन्य व्यवसायमा साझेदारी हुँदै आइरहेको थियो । एक महिना अगाडि नै हस्पिटल खरिद भएपनि अहिले सम्पूर्ण प्रक्रिया सकिएको अटोवेजका प्रवन्ध निर्देशक नारायण पौडेलले आर्थिक आवाजलाई जानकारी दिए ।

मेडिकल कलेजसहित हस्पिटलको सम्पूर्ण सम्पत्तीको स्वामित्व खरिद भएको छ । हस्पिटलको आफ्नै ४० रोपनी  जग्गा  र लिजमा लिइएको १ सय ६० रोपनीसहित २ सय रोपनी जग्गामा हस्पिटल तथा मेडिकल कलेज सञ्चालन भइरहेको छ । सम्पूर्ण दायित्वसहित ३ अर्ब ५० करोड रुपैयाँमा यो समूहले हस्पिटल खरिद गरेको हो ।

अब हस्पिटल नयाँ व्यवस्थापनबाट सञ्चालन हुनेछ । अध्यक्ष आनन्दराज बतास र उपाध्यक्ष नारायण पौडेल रहने गरी नयाँ व्यवस्थापन टिम हुने बताइएको छ । बतास समूहको ६० र अटोवेज समूहको ४० प्रतिशत शेयर स्वामित्व हुने गरी हस्पिटल खरिद गरिएको हो ।

नेपालकै उत्कृष्ट हस्पिटल तथा मेडिकल कलेज बनाउने लक्ष्यसहित आफूहरुले मणिपाल खदि गर्ने निर्णयमा पुगेको बतासले बताए । ‘पोखरालाई मेडिकल शिक्षा र स्वास्थ्यको केन्द्र बनाउन पनि यो निर्णयले योगदान पुर्याउने हामीले विश्वास लिएका छौं,’ उनले भने । नयाँ व्यवस्थापनबाट हस्पिटल सञ्चालनमा आएसँगै थप सेवा सुविधा विस्तार गरिने र गण्डकी प्रदेशका कुनै पनि बिरामी उपचारका लागि पोखरा बाहिर अर्थात राजधानी काठमाडौं तथा विदेश जानुपर्ने बाध्यता हट्ने उनले विश्वास व्यक्त गरे ।

मणिपाल निजी क्षेत्रको लगानीमा सञ्चालित नेपालकै पहिलो मेडिकल कलेज हो । हस्पिटलमा एक हजार भन्दा बढी कर्मचारीले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । समय समयमा युनियन आन्दोलनले समस्या झेल्दै आएको यो हस्पिटल नेपालकै प्रतिष्ठित व्यावसायिक घरानाले खरिद गरेसँगै अब थप व्यवस्थित हुने तथा बिरामी र विद्यार्थीको आकर्षक गन्तव्य बन्ने विश्वास गरिएको छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.