बंगलादेशमा सेप्टेम्बर १२ देखि विद्यालय पुनः सञ्चालन गरिने

ढाका । बंगलादेशमा लामो समयदेखि बन्द रहेको विद्यालय तथा क्याम्पस आगामी सेप्टेम्बर १२ देखि पूनःसञ्चालन गरिने भएको छ ।

बंगलादेश सरकारले विद्यालय तथा क्याम्पस पूनःसञ्चालन गर्ने घोषणा गर्दै त्यसका लागि तयारीसमेत गर्न सरोकारवाला सबैलाई आह्वान गरेको छ ।

कोरोनाभाइरसको महामारीका कारण बन्द भएका विद्यालय तथा क्याम्पस झण्डै १८ महिनापछि पुनः सञ्चालन हुने भएको अधिकारीले जनाएका छन् ।

बंगलादेशका शिक्षा मन्त्री दिपु मोनीले विद्यालय खुल्ला गरिएपनि सबै विद्यार्थीको पठनपाठन भने अहिले नै नहुने स्पष्ट पारे । उनले शुक्रबार दिएको जानकारीअनुसार सुरुमा परिक्षा आउन लागेका विद्यार्थीको मात्रै पठन पाठन सुचारु गरिने भएको हो ।

अन्य विद्यार्थीलाई भने भीडभाड नहुनेगरी हप्तामा एक÷दुई दिन पढाउनेगरी व्यवस्था गर्न लागिएको पनि शिक्षा मन्त्री मोनीले जानकरी दिए ।

उनले पढाइ हुने दिनको सङ्ख्या भने कोरोनाभाइरसको महामारीको अवस्था हेरेर बढाउदै लैजान सकिने पनि बताए । बंगलादेश सरकारले विश्वविद्यालय भने यसअघि अक्टोबर १५ देखि नै सञ्चलन गर्ने निर्णय गरेको थियो ।

बंगलादेशमा अघिल्लो वर्षको मार्चदेखि महामारी धेरै फैलिएको भन्दै विद्यालय बन्द गरिएको थियो । बन्द गर्ने म्याद थप्दै थप्दै यही सेप्टेम्बर ११ सम्म पुगेको छ । अव भने बन्द गर्ने म्याद नथपिने भएकले सेप्टेम्बर १२ देखि विद्यालय खुल्ला हुने भएक हुन् ।

बंगलादेशमा कोरोनाभाइरसका कारण अहिलेसम्म १५ लाख १० हजार २८३ जना संक्रमित भएका छन् भने
तीमध्ये २६ हजार ४३२ जनाको मृत्यु भएको छ । रासस/सिन्ह्वा

You might also like

Comments are closed.