प्याराग्लाइडिङका पदकधारी खेलाडीलाई छोरेपाटनमा अभिनन्दन

आर्थिक आवाज

पोखरा । इण्डोनेसियामा हालै सम्पन्न भएको १८औं एसियाली खेलकुदमा रजत पदक जित्ने नेपाली प्याराग्लाइडिङ खेलाडीलाई पोखराको छोरेपाटनमा नागरिक अभिनन्दन गरिएको छ । स्थानीय डेभिजफल क्लबको संयोजनमा स्थानीय करिब ४० वटा संघ संस्थाहरुले बुधबार एक समारोहका बिच प्याराग्लाइडिङका पदकधारी खेलाडीहरुलाई नागरिक अभिनन्दन गरिएको क्लबका अध्यक्ष गोपाल बरालले बताए ।

पोखरा महानगरपालिका वडा नम्बर १७ का वडा अध्यक्ष तीर्थराज अधिकारी, क्लबका अध्यक्ष गोपाल बराल लगायतले पदकधारी खेलाडीको टोलीलाई सम्मान–पत्रको साथमा दोसल्ला, फुलमाला र अविर लगाएर सम्मान गरेका हुन् । एसियाली खेलकुदमा २० वर्षदेखि नेपालले कास्य पदक भन्दा माथिको पदक हात पार्न नसकेको अबस्थामा आफ्नो क्षेत्रका खेलाडीहरुले रजत पदक ल्याएको खुसियालीमा पदकधारि खेलाडीहरुको टोलीलाई सम्मान गरिएको अध्यक्ष बरालले बताए ।

सम्मानित हुने खेलाडीहरुमा कप्तान बिमल अधिकारी, विजय गौतम, युकेश गुरुङ, सुशील गुरुङ र विशाल थापा छन् । मुख्य प्रशिक्षक योगेश भट्टराई, सहायक प्रशिक्षक सानुबाबु सुनुवार र टिम व्यवस्थापक शैलेन्द्र राउत छन् । टिममा सहभागी महिला तीन जना खेलाडीलाई समेत सम्मान गरिएको छ । सम्मानित हुने महिला खेलाडीमा पाइलट त्रिषा श्रेष्ठ बमजन, प्रतिभा भुजेल र सविता तामाङ छन् ।

घटस्थापनाको अवसरमा पोखराको छोरेपाटनमा दुर्गा मन्दिर संरक्षण समितिले समेत फुलमालाले खेलाडीहरुलाई सम्मान गरेको छ । पोखराको छोरेपाटनमा बाजागाँजा सहितको ¥यालीमा खेलाडीहरुलाई सहभागी गराउदै सम्मान गरिएको थियो ।

You might also like

Comments are closed.