कर्णाली । चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था जुम्लाका कार्यकारी व्यवस्थापक ऋषिराम पाण्डेले दैनिक रु एक लाखको स्थानीय उत्पादन बिक्री गर्दै आएको बताएका छन् । । चन्दननाथ सहकारीद्वारा जुम्ला सदरमुकाममा सञ्चालित मिनि मार्केटबारे जानकारी दिँदै कार्यकारी व्यवस्थापक पाण्डेले संस्थाले कर्णालीमा उत्पादित तथा सङ्कलित स्थानीय खाद्य वस्तु दैनिकरुपमा रु एक लाखको बिक्री गर्दै आएको बताए ।
“सिमी, चामल, फापर, चिनो कागुनो, कोदो, जौँ, भट्टमास, गहत, गुराउँस, कलालगायतका रैथाने खाद्यबाली बिक्री गर्दै आएका छौँ”, उनले भने । जडिबुटीमा चियापत्ती, टिमुर, जिम्बो, फलफूलमा ओखर, स्याउ र स्थानीय पहिरनमा खरायो र ऊनको टोपी बिक्री वितरण हुने गरेको उनले बताए । अहिले संस्थाले प्रति केजी क्रमशः कालो सिमी रु १८०, रातो र मिश्रित सिमी रु १६०, मार्सी चामल रु १६०, चिनो, कागुनो र भट्टमास कालो रु २००, फापरको पिठो, गुराउँस र गहत रु २५० बिक्री गरिँदै आएको उनको भनाइ छ ।
उक्त संस्थामार्फत स्थानीय उत्पादन, राडीपाखी, लिउ, खरायो तथा उनको टोपी, कोट, झोलालगायत सामान पनि बिक्री हुने गरेका छन् । स्थानीयस्तरमा उत्पादित ती सामानको प्रति थान रु एक हजार ३०० देखि आठ हजार ५०० मूल्य पर्ने जनाइएको छ । संस्थाले यस वर्ष सबै गरेर रु ५० लाखको रैथाने खाद्यबाली सङ्कलन गरी बिक्री वितरण गर्ने लक्ष्य राखेको व्यवस्थापक पाण्डेले बताए ।
कात्तिक लागेसँगै मार्सी चामल र सिमीको खरिद बिक्रीले बजार लिन थालेको छ । सुपथ पसलका व्यापारीका साथै भित्री मधेश तथा तराई झर्नेहरुले मार्सी चामल र सिमी किसानबाट किन्ने क्रम बढेको छ ।
मुगुको राराताल हेर्ने पर्यटक जुम्ला भएर जाँदै गर्दा मार्सी चामल र सिमी लिने गरेको उक्त सहकारीले जनाएको छ । “अन्तर जिल्लाबाट आउने पर्यटकमा सबैभन्दा बुटवल, चितवनका पर्यटकले मार्सी चामल र सिमी लिँदै आएका छन्,” व्यवस्थापक पाण्डेले भने ।
मार्सी चामल र सिमीको माग बढ्दो भएकाले पूर्ति गर्न धौ–धौ भएको उनले बताए । उनले भने, “यसपालिको प्राकृतिक विपत्तिले मार्सी चामल र सिमीलगायत बालीमा क्षति पु¥याएको कारण उत्पादन निकै घट्दो अवस्थामा गएको छ । यसले गर्दा पनि माग अनुसारको पूर्ति गर्न समस्या भइरहेको छ ।” कार्यकारी व्यवस्थापक पाण्डेका अनुसार चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाका २० हजार शेयर सदस्यमध्ये १२ हजार गाउँकै छन् । ती १२ हजार शेयर सदस्यबाट उत्पादित रैथानेबाली सङ्कलन कार्यलाई तीव्रता दिइएको र त्यसले बजारको माग पूर्ति तथा शेयर सदस्यको आम्दानीमा सहयोग र बिक्री वितरण सहज भएको उनले बताए ।
Comments are closed.