गरिखाने खेत बगर बन्दा…

शेरबहादुर सिंह/महेन्द्रनगर । गत महिना आएको बाढीले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकवर गाउँ पूरै डुबानमा प¥यो । महाकाली र जोगबुढा नदी उर्लिदा रातारात प्रहरी प्रशासनले स्थानीयको उद्धार गरे ।

सिङ्गो गाउँ बाढीका कारण विस्थापित बन्यो । अहिले अवस्था सामान्य बन्दै गए पनि कुतियाकवर गाउँ बगरमा परिणत हुँदा स्थानीयवासी चिन्तित छन् । “भारतसित सीमा जोडिएको कुतियाकवरमा ४२ परिवार छन् ।” दोधारा चाँदनी नगरपालिका–१० का वडाध्यक्ष नरबहादुर सुनारले भने, “ती सबै परिवारको कमाइखाने खेत बालुवाले पुरिएको छ ।”

बस्तीको खेतीयोग्य जमिन बालुवाले पुरिँदा किसान खेतबारी लगाउन नसक्ने अवस्थामा पुगेका वडाध्यक्ष सुनारको भनाइ छ । उनले बाढीका बेला महाकाली नदीले बगाएर ल्याएका रुख, दाउरा पनि गाउँमा थुपारिएको बताए । “महाकाली र जोगबुढाको दोसाध हुनाले कुतियाकवरमा बढी क्षति भयो ।” सुनारले भने, “बाढीका बेला मेरो वडामा मात्रै  ९०० परिवार प्रभावित बनेका थिए ।” उनले खेतमा थुपरिएको बालुवा हटाउन नगरपालिकाले समन्वय गर्ने बताए ।

बाढीपीडितलाई तत्कालको राहतस्वरुप नगरपालिका र दातृ निकायबाट खाद्य सामग्री वितरण गरिएको उनको भनाइ छ । दोधारा चाँदनीकै भौगोलिकरुपले विकट मानिने कुतियाकवरका स्थानीय खेतीपाती र भारतीय सीमावर्ती बजारमा ज्याला मजदूरी गरेर जिविका चलाउँदै आएका छन् । स्थानीयवासीले सरकारले उपलब्ध गराउने भनेको राहत अझै पाउन नसेकोप्रति दुखेसो पोखेका छन् ।

“राहत आउँदै गथ्र्यो, बरु डोजर पठाएर खेतको बालुवा हटाइ दिए हुन्थ्यो ।” स्थानीय टेकबहादुर सुनारले भने, “गरिखाने खेतमा बालुवा भरियो, अब कसरी जीविका चलाउने ? ।” बालुवा हटाउन स्थानीय पालिकालाई आग्रह गरे पनि सुनुवाइ नभएको उनले बताए । अन्नबाली बाढीले बगाउँदा स्थानीयलाई छाक टार्न समस्या भएको सुनारको भनाइ छ । त्यसैगरी अर्का स्थानीय सुष्मा सुनारले हरेक वर्ष जोगबुढा नदीले समस्या दिने गरेको दुखेसो पोखे । “बर्सातमा गाउँका झुपडी सुरक्षित रहँदैनन् ।” उनले भने, “गरिब त्यहीमाथि दलितको बस्तीलाई कसैले वास्ता गरेनन् ।” दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख वीरबहादुर सुनारले बाढीका बेला तत्काल खाद्यान्नलगायतका राहत वितरण गरिएको बताए । “विभिन्न सङ्घ÷संस्थाले पीडितलाई त्यो बेला सहयोग गरे ।” उनले भने, “पीडितको लगत सङ्कलन गरेर केन्द्रमा पठाएका छौँ, सरकारले सहयोग गर्ने आश्वासन दिएको छ ।”रासस

lcci
You might also like

Comments are closed.